बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल खोजी र उद्धारमा हजार सैनिक परिचालन

मङ्गलबार, ०६ साउन २०७७, २२ : २९
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौँ । नेपाली सेनाले केही दिन देखिको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट बढी प्रभावित मुलुकका १६ जिल्लामा एक हजार जनशक्ति आवश्यक उपकरणसहित तत्काल खोजी र उद्धार कार्यमा जुटिरहेको जानकारी दिएको छ ।

उक्त जनशक्ति पहिरामा हराएका व्यक्तिको खोजी, डुबानमा परेका नागरिकको उद्धार, राजमार्गको पहिरो पन्छाउन तथा नदिले कटाउन क्षेत्रका बस्ती संरक्षणका लागि तटबन्ध निर्माणमा संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

सेनाले बाढी, पहिरो र डुबानमा परेका व्यक्तिको तत्काल उद्धारका लागि पोखरा, बर्दिवास, इटहरी, चितवन, भरतपुर, गजुरी र रौतहटलगायत स्थानबाट तालीम प्राप्त दक्ष जनशक्तिसहित रबर बोर्ट र उपकरण परिचालन गर्ने प्रबन्ध मिलाएको छ । त्यसका लागि चार सयको सङ्ख्यामा तालीम प्राप्त जनशक्तिको व्यवस्था गरिएको जानकारी दिइएको छ ।

अविरल वर्षाका कारण आकस्मिक रुपमा हुन सक्ने  जनधनको क्षति न्यूनीकरण गर्न सेनाले पूर्वतयारीको सिलसिलामा भरतपुर, सुर्खेत र इटहरीमा हेलिकोप्टर सहितको आवश्यक जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिएको छ । 

मुलुकभर केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण पहाडी जिल्लामा बाढीपहिरो तथा मध्य तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । बाढीपहिरोबाट ठूलो सङ्ख्यामा जनधनको क्षति भएको छ । निरन्तरको वर्षाका कारण मुलुकका नदी तथा खोलामा पानीको बहाव उच्च रहेको छ । 

बाढीपहिरो र डुबान प्रभावित परिवारको राहत र उद्धारका लागि तीन तहकै सरकार र सङ्घसंस्थाबाट विभिन्न सहयोग भइरहेको छ ।  मुलुकका विभिन्न भागमा गएको पहिरो र नदी कटानले मुख्य राजमार्गसमेत अवरुद्ध भएकामा सडक डिभिजन कार्यालय र सुरक्षाफौजनको प्रयासमा सञ्चालनको प्रयास भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप