शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायात सञ्चालन गर्न यसरी तयार भए व्यवसायी

मङ्गलबार, ०६ साउन २०७७, १८ : २६
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । अन्ततः यातायात व्यवसायीहरु सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् । यातायात क्षेत्रका विभिन्न समस्या देखाउँदै छोटो दुरीमा गाडी संचालन नगरेका व्यवसायीहरुले सरकारले आफूहरुको माग सम्बोधन गर्ने भएपछि गाडी चलाउन तयार भएका हुन् । 

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले बिहीबारदेखि देशैभर सरकारी निर्णय बमोजिम सबैखाले सार्वजनिक यातायात संचालन गर्ने घोषणा गरेका छन् । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको गाडी चलाउने निर्णयमा यातायात मजदुर सम्वद्ध तीन श्रमिक संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले समेत सहमति जनाएका छन् । 



महासंघले लामो दूरीका सवारी साधन पनि संचालन गर्न पाउनु पर्ने माग राखेको छ।  महासंघले लामो दूरीमा सम्भव नभए प्रदेशस्तरमा भनेपनि सार्वजनिक सवारी साधन संचालन गर्न खुल्ला गर्न सरकारसँग माग गरेको छ । यद्यपी सरकारले भने हाललाई छोटो दुरीको सवारीसाधन मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।  

कसरी भए गाडी चलाउन तयार भए व्यवसायी ?
गत असार २६ गते नै सरकारले छोटो दूरीमा (जिल्ला भित्र)मात्र सार्वजनिक यातायात संचालन गर्न पाउने गरी निर्णय गरेको थियो । तर व्यवसायीहरुले कुनै तयारी विनै एक्कासी एकलौटी रुपमा आएको निर्णय मान्न नसकिने र सोही अवस्थामा सार्वजनिक यातायात संचालन गर्न नसकिने भन्दै सरकारको निर्णय अस्वीकार गर्दै आएका थिए ।

झण्डै ४ महिना लामो लकडाउनका कारण ठप्प भएको सवारी साधनमा खिया लागेर तत्काल संचालनको अवस्थामा नरहेको र बैंक किस्ता, ब्याज लगायतका समस्याले गर्दा संचालन गर्न नसकिने व्यवसायीहरुको भनाइ रहँदै आएको थियो । सो समस्या सम्बोधनका लागि बैंकिङ कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण र ब्याजको पुँजीकरणका लागि समय सीमा थप गर्न व्यवसायीहरुले सरकारसँग माग राख्दै आएका थिए । व्यवसायीहरुको उक्त समस्या मौद्रिक नीतिले सम्बोधन गरेको छ ।

त्यति मात्र नभएर व्यवसायीहरुले यातायात संचालनका लागि आवश्यक सुरक्षाका प्रवन्ध र कर्मचारीहरुको जीवनरक्षाको ग्यारेन्टी समेत गर्न माग गरेकोमा सरकारले उक्त माग समेत पूरा गर्ने भएपछि व्यवसायीहरु सार्वजनिक सवारी संचालन गर्न राजी भएका हुन् । 
सोमबार यातायात व्यवसायी र सरकारबीच ५ बुँदे सहमति समेत भएको थियो । 

सहमतिका ५ बुँदा यस्ता छन्ः
१.यातायात श्रमिकहरुको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत वीमांक रकम व्यहोर्ने गरी सम्पूर्ण श्रमिकहरुको बीमा गरिदिने,

२.यातायात श्रमिकहरुको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी सरकारको तर्फबाट कोषको स्थापना गर्न यातायात व्यवस्था विभागमार्फत भौतिक पूर्वाधार तथा मन्त्रालयमा पठाउने,

३.लकडाउन पछि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न सवारी तथा यातायात व्यवस्था ऐनमा व्यवस्था भएको छोटो, मध्यम र लामो दुरीमा सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागले पहल गर्ने,

४.सार्वजनिक सवारी साधनमा काम गर्ने यातायात श्रमिकहरुलाई आवश्यक पर्ने (मास्क,पन्जा,स्यानीटाइजर,पीपीई) लगायतका स्वास्थ्य सामग्रीहरु सम्बन्धित व्यवसायीहरुले व्यवस्था गर्ने,

५.नेपाल सरकारको निर्णय बमोजिम सार्वजनिक सवारी साधन संचालनका लागि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड र अन्य व्यवस्थापकीय तयारी गरी महासंघका सम्पूर्ण सदस्य कम्पनी,प्रालि,व्यवसायी तथा स्वरोजगार श्रमिकहरुलाई आगामी साउन ८ गतेदेखि सेवा संचालन गर्न अनुरोध गर्ने ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप