शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले जेलमुक्त महिलाको अनुभवः ‘खुला आकाशमा हजारौं समस्या छन्’

मङ्गलबार, ०६ साउन २०७७, १६ : २३
मङ्गलबार, ०६ साउन २०७७

एजेन्सी । मे महिनाको एक बिहीबार बिहान, जेलबाट रिहा भएको तीन दिनपछि फोरोजानले बजार निस्कन आफ्नी आमाको घर छाडिन् । पश्चिम अफगानिस्तानको हेरात प्रान्तको राजधानी हेरातको सडकमा उनले पाइला राखेको ६ वर्षमा पहिलोपटक थियो ।  जब मास्क लगाइरहेका मानिसहरुको भीड हुँदै उनले आफ्नो बाटो अघि बढाइरहेकी थिइन्, तब एकैछिन उनलाई संसार नै आफ्नो टाउको वरपर घुमेजस्तो लाग्यो । उनले सोचेजस्तो त्यस्तो केही थिएन । 

‘जब म जेलमा थिए मैले सोच्थें कि बाहिरी दुनियाँ स्वर्ग हो र जो रिहा भइरहेका छन्, उनीहरु स्वर्गको बाटोमा छन्,’ उनले भनिन् । तर अहिले अन्ततः यो दुनियाँ आफैंले सामना गर्दा उनले यसलाई अमैत्रिपूर्ण र अझै डरलाग्दो देखिन् । ‘मलाई लाग्यो कि सबैजना मलाई नै आँखा तरिरहेका छन्,’ उनले भनिन्, ‘कानेखुसी गर्दा उनीहरुले मतर्फ नै आफ्ना औंला तेस्र्याइरहेका छन् र यदि उनीहरुलाई थाहा थियो कि म कैदी हुँ, तर यो सबै मेरो मतिस्कमा छ ।’
फिरोजान १० कक्षामा पढ्दै थिइन्, जब उनको परिवारले आफुभन्दा २५ वर्ष जेठा व्यक्तिसँग उनको विवाह तय गर्यो । उनका श्रीमान हिंसात्मक प्रवृत्तिका थिए र १५ वर्षसम्म उनले आफ्ना श्रीमान्को शारीरिक दुव्यवर्हार र गाली–गलौजको सामना गरिन् । 

एक बिहान उनले आफ्ना दुई छोरीमध्ये एकमाथि रिस पोखे । फोरोजानले साबेत उठाइन् र त्यसको धारले उनी नमरुन्जेल निरन्तर हिर्काइरहिन् । जब उनले आफैंलाई प्रहरीको हावाला गरिन्, तब उनका १२ वर्षे छोरो मकसुद आफ्नी आमालाई हत्याका लागि सहयोग गरेको भन्न अघि सरे । फोरोजानलाई हत्या आरोपमा मुद्दा अघि बढाइयो र दोषी भेटिएपछि १० वर्षको जेल सजाय तोकियो । मकसुदलाई साढें दुई वर्षका लागि सुधार गृहमा पठाइयो र उनका दुई बहिनी मोज्दाह र महतबलाई (जो तत्कालीन समय ९ र ७ वर्षका थिए) सुरक्षित घरमा पठाइयो । 

हेरात महिला कारागारमा आफ्ना पतिको हत्या आरोपमा बन्दी बनाइएका झन्डै २० महिलामध्ये फोरोजान एक थिइन् । धेरैले त्यतिबेलासम्म दुर्व्यवहार सहिरहेका थिए, जतिबेला आफु बाँच्ने वा छोराछोरी बचाउने उद्देश्यले उनीहरुलाई आफ्ना दुव्यवर्हारकर्ताको हत्या गर्न उन्मुख गरायो र उनीहरु लामो सजायसहित जेलमा पुगे, चाडैं रिहा हुनसक्ने थोरै सम्भावनासहित ।

पहिलोपटक २०१९ मा म यस जेल भ्रमणमा गएको थिएँ र अधिकांश महिलाका अनुसार घरमा आफ्नो परिवारसँग हुनभन्दा उनीहरुले जेलमा धेरै सुरक्षित र धेरै स्वतन्त्र महसुस गरेका थिए । राष्ट्रपति असरफ घानीले कोरोना भाइरसको रोकथाम गर्नका लागि हजारौं बन्दीहरु (विशेषगरी महिला, किशोर–किशोरी र बिरामी व्यक्तिलाई) रिहा गर्न आदेश दिएयता धेरै बन्दीहरु रिहा भएका छन् ।

कैदीहरुलाई आफ्ना सामान प्याक गर्न र पालो कुरेर बस्न भनिएको थियो । केहीको नाम बोलाउन थालियो, भाग्यमानी बन्दीहरु रिहा भए । तर, घण्टौं कुरेपछि एलिया अजिजी (जेलकी व्यवस्थापक) ले बाँकी महिलाहरुलाई दुःखद् खबर सुनाईन्– कोही पनि आज घर जानेछैन, यहाँ गल्ती भएको छ ।’ अजिजीलाई थाहा थिएन के गल्ती भएको थियो, केवल उनलाई कसैलाई रिहा नगर्न स्पष्ट निर्देशन दिइएको थियो । 

अर्को दिन जेलमा अस्थिरता र खैलाबैला मच्चियो । केही आक्रोशित बन्दीहरुले बुलेटप्रुफ इन्ट्रान्स गेट तोडेर भाग्ने तथा झ्याल तोड्ने प्रयास गरे ।  बालबालिकाहरुको खेल मैदान जलाइयो, दर्जनौं बन्दी अस्पताल भर्ना भए । केहीले विरोधस्वरुप फुटेको सिसा चपाए र गम्भीर घाइते भए । 

स्वतन्त्रता दिने वाचा गरिएको थियो र उनीहरु त्यो दिन अस्वीकार गरिरहेका थिए । हिंसात्मक प्रदर्शन निरन्तर भयो र जुन जेल तुलनात्मक रुपमा पहिले धेरै बन्दीहरुको घरभन्दा सुरक्षित र शान्तिपूर्ण थियो, त्यो अस्थिर बन्यो ।  केही बन्दीहरु भोक हड्तालमा लागे र केहीले आत्महत्याको प्रयास गरे, सबैले आफुलाई रिहाई गर्न माग गरिरहेका थिए । अन्तत सरकारले समाधान ल्यायो– यदि महिलाले जेल छाड्न चाहिन्छन् भने उनीहरुले आफ्नो बाँकी रहेको जेलसजाय सरकारी वकिलको कार्यालयबाट स्वीकृति लिएर किन्न सक्छन् । 

आफ्ना छोरीसँग भेट्नका लागि हतारोमा रहेकी फोरोजानले १ हजार अमेरिकी डलरभन्दा केही बढी रकम आफन्तसँग सापटी लिइन् र पैसा तिरेर जेलबाहिरको यात्रा गरिन् । उनी ११ मेइमा बाहिरिएकी भएकी थिइन् ।  ‘कोरोना भाइरसलाई धन्यवाद छ, मलाई बाँच्नका लागि दोस्रो मौका दिइयो,’ फोरोजनले भनिन्, ‘मेरो तर्फबाट हेर्दा जेलबाट चाडैं फर्कन र मेरा छोरीहरुसँग नयाँ जीवन सुरु गर्नका लागि ।’

मोज्दाह र महतब अहिले क्रमश १५ र १३ वर्षका भए, उनीहरुका अनुसार आफ्नी आमासँग छुट्टिएयता यी दुई महिना उनीहरुका लागि सबैभन्दा कठिन थिए । ‘क्वारेन्टाइनका क्रममा हामीलाई प्रति महिना एकपटक मात्रै फोन गर्न अनुमति थियो,’ महतबले भनिन्, ‘हामी स्कुल जान पाएनौं, हामी आफ्नी हजुरआमालाई भेट्न  घर आउन पाएनौं र आमालाई भेट्न जान पाएनौं । उनीहरुले हामीलाई पनि बन्दी बनाएका थिए,’ रुँदै उनले भनिन् । 

फोरोजान र उनकी छोरीहरु अहिले फेरि एकजुट भएका छन्, तर पूरुषवादी अफगानिस्तानमा महिला हुनुको तितो यर्थाथ उनीहरुको दैनिकीमा मडारिएको छ ।  जेलभित्र छँदा सूचिकारका रुपमा थोरै आम्दानी गर्न फोरोजान समक्ष थिइन्, सुरक्षाकर्मी र अन्य बन्दीका लागि कपडा सिलाउने र मर्मत गर्ने काम गर्थिन्, तर हेरातमा उनले चाडैं जागिर भेटाउन सक्ने अवस्था छैन । 

महामारीले अफगानिस्तानको अर्थतन्त्र अवरुद्ध गरेको छ र दशौं लाख मानिसलाई बेरोजगार बनाएको छ । फोरोजानले बचत गरेको बाँकी पैसा तीन वर्ष पहिले सुधारगृहबाट निस्किएलगत्तै मकसुदलाई देशबाहिर पठाउनका लागि तस्करलाई तिर्न खर्च भयो । 

अहिले मकसुद जर्मनीमा छन्, १४ वर्षको छँदा सुधारगृहबाट निस्किएपछि हिँडेरै उनी त्यहाँ पुगेका थिए । जनवरीमा जर्मन अधिकारीहरुले शरणार्थीका लागि उनले दिएको आवेदन अस्वीकार गरिदिए । यसविरुद्ध वकिलले अपिल गरेका छन्, तर यसै वर्ष १८ पुगेपछि उनी अफगानिस्तान नै डिपोर्ट पनि हुन सक्छन् ।  

आफ्नी आमाको घरमा छोरीहरुको ठूलो हाँसो र खुसीयाली क्षणबाट घेरिएकी फोरोजान बेला बेलामा दुविधामा पर्छिन्, उनी आफ्नै सोचाई र अनिश्चितताको अध्याँरो दुनियाँमा हराउँछिन् । उनका श्रीमान्को परिवारले निरन्तर उनी र उनका छोराछोरीलाई ज्यानको धम्की दिइरहेका छन्, हत्याको बदला लिने कसम खाएका छन् । 

एक दिउँसो, महतबले आईसक्रिम किन्नका लागि बाहिर जाने अनुमति मागिन्, फोरोजानले आफ्नो आँखीभौं उठाइन् तर अन्त्यमा हुन्छ भनिन् ।  जब महतब भ¥याङबाट तल गइरहेकी थिइन्, फोरोजान उनीको पछि पछि लागिन् र उनलाई सर्जिकल मास्क थमाइन्– ‘आफ्नो अनुहार नछोउ र चाडैं लगाऊ ।’ 

फेरि एकपटक उनले एक्लै आफ्ना छोरीहरुको रक्षा गरिरहेकी छिन्– भाइरसबाट, श्रीमान् पक्षका कठोर आफन्तबाट, चलिरहेको युद्ध र पूरुषवादी समाजबाट, जसले उनी र उनका छोरीहरुलाई स्वागत गर्दैन ।   घरको प्यासेजबाट महतब बिलाउँदासम्म उनले हेरिरहिन् र त्यसपछि मधुरो स्वरमा भनिन्– ‘जेलभित्र मसँग एउटा समस्या थियो । यहाँ अहिले हजारौं समस्या छन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप