बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

मङ्गलबार, ०६ साउन २०७७, १५ : ४७
मङ्गलबार, ०६ साउन २०७७

सिन्धुली । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन् । अवरुद्ध राजमार्ग पुनः सञ्चालन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक  श्यामबहादुर खत्रीले जानकारी दिए ।

केही समयअघि उक्त स्थानमा खसेको लेदो पन्छाई एकतर्फी सवारीसाधन सञ्चालन गरिए पनि फेरि लेदो खसी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए । उक्त स्थानमा डोजर लगाई लेदो पन्छाउने काम भइरहेको पनि उनले जानकारी दिए ।

यस्तै मध्यहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत बादुरे र  सोखु खोलामा ठूलो बाढी आएपछि सवारी आवागमन रोकिएका छन् । उक्त स्थानमा पप्पुु कन्स्ट्रक्सनले पुल समयमा नै नबनाउँदा खोलामा आएको बाढीका कारण साधन रोकिनुपरेको हो । यस्तै मध्यपहाडी लोकमार्गको सिन्धुली सडकखण्डअन्तर्गत गोलञ्जोर गाउँपालिकाका बलेनी र  कुखुरेटारमा सडकमा खसेको पहिरो पन्छाउने काम सकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए । उक्त राजमार्गअन्तर्गत गोलञ्जोर–१ च्याकुटारबेँसीमा सडकमा खसेको पहिरो पन्छाउन डोजर पठाइएको उनले जानकारी दिए । 

उक्त स्थानमा पहिरो जाँदा एक घर जोखिममा परेको भनी जानकारी आए पनि घर जोखिममा नपरेको उनले जानकारी दिए । सडकमा पहिरो खसेपछि त्यस उताको सवारी साधन आवागमन रोकिएको र डोजरले पहिरो पन्छाउने उनको भनाइ रहेको छ । सिन्धुलीमा मनसुनको सक्रियतासँगै केही दिनदेखिको निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेको र सम्भावित बाढीपहिराबाट बच्न र बचाउन प्रशासनले आग्रह गर्दै आएको उनको भनाइ छ । जिल्लामा केही दिनदेखि निरन्तर वर्षा भएको र हालसम्म जनधनको क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप