बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : राहत तथा उद्धारका लागि प्रदेश सरकार तम्तयार, यी ठाउँ सबैभन्दा बढी जोखिममा

मङ्गलबार, ०६ साउन २०७७, १४ : २०
मङ्गलबार, ०६ साउन २०७७

जनकपुर । निरन्तरको वर्षाले प्रदेश नम्बर २ को ८ वटै जिल्लामा क्षति हुन थालेको छ । प्रदेशका ८ वटै जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निरन्तरको वर्षासँगै बाढी र डुबानले क्षति गर्न थालेको हो ।
प्रदेश सरकारले भने बाढी तथा डुबानबाट हुने क्षति रोकथामका लागि व्यापक तयारी गरेको जनाएको छ । राहत तथा उद्धारका लागि समेत पूर्वतयारी गरिएको प्रदेश सरकारको भनाइ छ ।
निरन्तरको वर्षाले सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाको वडा नम्बर २ र ५ का अधिकांश घर डुबानमा परेका छन् । त्यस्तै सप्तरीको कोशी, खाँडो, बलान, खडक, महुली, जिता, त्रियुगा नदीमा पानीको सतह लगातार बढ्दै गएको छ ।

सप्तरीको छिन्नमस्ता गाउपालिका–१, बरही वीरपुरमा घरहरु भत्किन थालेको छ । त्यस्तै महदेवा गाउँपालिका–१ स्थित चिम्टीमा पनि एउटा घर भत्केको प्रहरीले जनाएको छ ।
त्यस्तै धनुषाको मिथिला नगरपालिका–४ मा प्रदेश प्रहरी तालिम केन्द्रको निर्माणाधीन पर्खाल भत्केको छ ।

महोत्तरीमा ४ वटा घर भत्केको छ । घरभित्रका सामग्रीहरु समेत क्षतिग्रस्त भएको छ । गौशाला नगरपालिका– १२ स्थित कान्तिबजारकी सुकमाया योञ्जनको कच्ची घर भत्किँदा २ वटा बाख्रा मरेको र २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मटिहानी नगरपालिका–२ स्थित सिर्सियामा पर्खाल भत्किँदा स्थानीय ६० वर्षीया सुशीला देवी राय घाइते भएकी छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

जलेश्वर नगरपालिका–१२, थरुवाहीमा स्थानीय अजेश्वर मण्डलको खपडाले छाएको घर भत्किएको छ ।
सर्लाहीमा पनि बाढी तथा डुबानले क्षति गरेको छ । मलंगवा नगरपालिका–५ स्थित लखनदेही खोलाको बाढीले भाडसर गाउँका २७ घर डुबानमा परेको छ भने १४७ परिवारलाई अन्यत्र सारिएको छ ।
सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण डुबानका कारण विस्थापित भएका १४७ जना परिवार संख्या हाल छिमेक तथा आफन्तको घरमा गएर बसेका छन् ।

त्यस्तै लालबन्दी नगरपालिका–४ स्थित जरुवापानी खोलाको छेउमा बस्ने रविन्द्र चौधरीको कच्ची घरमा बाढी पसेको छ । त्यस्तै ढेग्रा खोलाको पानी चक्रघट्टा गाउँपालिका–५ स्थित १८ घरमा पसेको छ । ती घरमा रहँदै आएका १०१ जना हाल अन्यत्र शरण लिएर बसिरहेको जनाइएको छ ।

राजमार्ग अवरुद्व
निरन्तरको वर्षाले प्रदेश नम्बर २ स्थित पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित लच्कामा आएको बाढीले यातायात अवरुद्ध भएको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मकेन्द्र मिश्रले निरन्तरको वर्षाले गर्दा प्रदेशको विभिन्न ठाउँका सडकमा क्षति पुगेको जानकारी दिए ।

सप्तरीको राजविराज–कुनौली सडक खण्ड, धनुषाको नगराइन नगरपालिका जटहीस्थित नेपाल–भारत जोड्ने डाइभर्सनमा क्षति भएको छ । यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका–१, माछा बजारस्थित जलेश्वर–बर्दिबास र बलवा नगरपालिका–१ स्थित हुलाकी सडक खण्ड, पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ स्थित शंकर सरैयामाको भित्री बाटो र रंगपुरमा मनवातर्फ जाने बाटोमा क्षति पुगेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी नदीमा खतराको चेतावनी
केही दिनदेखिको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव खतराको विन्दुमाथि पुगेको छ । पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झन्डा गाडिएको छ ।

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारेजका ५६ मध्ये ४४ वटा ढोका खोलिएको कोशी ब्यारेजका असई कुलबहादुर खत्रीले जानकारी दिए ।

कोशीको बाढीबाट अति नै प्रभावित हुने सम्बन्धित वडाका अध्यक्षहरुसँग निरन्तर सम्पर्क भइरहेको उनले जानकारी दिए ।

मंगलबार बिहानको मापनअनुसार कोशी ब्यारेज भएर ३ लाख २७ हजार ८ सय ८० क्युसेक पानी बहाव भइरहेको उनले बताए ।

कोशी नदीमा आउने बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका निकै प्रभावित हुने गर्दछ ।

प्रदेश सरकार तम्यार अवस्थामा
प्रदेशका ८ वटै जिल्ला बाढी र डुबानबाट प्रभावित भइरहेको समयमा उद्धार तथा राहतका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको प्रदेश सरकारले जनाएको छ ।

करिब एक सातासम्म वर्षा जारी रहनसक्ने मौसम विभागको अनुमानसँगै प्रदेशका तटीय क्षेत्रमा सतर्कता अपनाउन निर्देशन दिइएको प्रदेश सरकारको भनाइ छ । विषेश गरी बागमती, कमला, रातु र कोशी लगायत नदी क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको प्रदेश सरकारले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बाढीबाट नागरिकलाई जोगाउन आफूहरू तम्तयार अवस्थामा रहेको दाबी गरे ।

गत वर्ष प्रदेश नम्बर २ मा बाढीले ४४ जनाको मृत्यु भएको थियो । मानवीय क्षति नहोस् भनेर यसपटक सावधानी अपनाइएको र पूर्वतयारी पनि गरिएको उनले बताए ।

मन्त्री यादवले भने, ‘उद्धार तथा राहत कार्यका लागि प्रयोग हुने सम्पूर्ण उपकरण सुरक्षा निकायलाई जिम्मा लगाएका छौं ।’
बाढीको कारण हुनसक्ने सम्पूर्ण जोखिमको अध्ययन गरिएको र बाढीबाट प्रभावित हुनसक्ने नागरिकबारे जानकारी संकलन भइसकेको उनले बताए ।

प्रदेश सरकारको तर्फबाट सुरक्षा निकायलाई बाढीबारे निगरानी गर्न ड्रोन क्यामेरा सहित मोटर तथा रबर बोट १५ थान, लाइफ ज्याकेट, नाइलन डोरीलगायतका आवश्यक सामग्री उपलब्ध गराइएको मन्त्री यादवको भनाइ छ ।
त्यस्तै संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर समेत तयारी अवस्थामा राखिएको उनले स्पष्ट पारे । ‘बाढीबाट आउनसक्ने जोखिम हेरेर हेलिकोप्टर तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धार तथा खोज कार्यसम्बन्धी पूर्वतालिम समेत दिइएको छ ।’

आइतबारदेखि लगातार वर्षा भइरहे पनि हालसम्म अवस्था नियन्त्रणमा रहेको मन्त्री यादवको भनाइ छ ।

जोखिमपूर्ण ठाउँ
पूर्वानुमान गरिएअनुसार लगातर वर्षा भइरहे प्रदेश नम्बर २ को ८ वटै जिल्लाका अधिकांश भाग डुबानमा पर्ने निश्चित छ । 

प्रत्येक वर्ष बाढीका कारण सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका, डाक्नेश्वरी, तिलाठी कोइलाडी, सिरहाको सिरहा नगरपालिका, लहान नगरपालिका, धनुषाको मुखियापट्टी मुसहरनिया, महोत्तरीको जलेश्वर नगरपालिका, मनरासिस्वा, महोत्तरी गाउँपालिका, सर्लाहीको ईश्वरपुर नगरपालिका, विष्णुपुर, चक्रघट्टा, कोडैना र ब्रम्हपुरी गाउँपालिका बाढी तथा डुबानबाट निकै प्रभावित हुने गरेको छ ।

त्यस्तै रौतहटको गौर, ईशनाथ, राजपुर, परोहा, चन्द्रनगर, बाराको कलैया, फेटा, सुवर्ण र पर्साको पर्सागढी, जगनाथपुर, बहादुरमाई गाउँपालिका बाढीबाट प्रभावित हुँदै आएको छ । यो वर्षपनि स्वाभाविक रुपमा यही ठाउँ बढी जाेखिममा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप