बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

रौतहटमा एक जनालाई बाढीले बगायो, विभिन्न स्थान डुवानमा

मङ्गलबार, ०६ साउन २०७७, १४ : ०९
मङ्गलबार, ०६ साउन २०७७

रौतहट । रौतहटको उत्तरीभेग चन्द्रपुरमा एक जनालाई बाढीले बगाएको छ । चाँदी नदीमा पौडी खेल्न गएका चन्द्रपुर नगरपालिका ३ का ५० वर्षीय शुकमानी थिङलाई मंगलबार बिहान ११ बजे बगाएको प्रहरीले जनाएको छ। 
उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । 

पछिल्लो तीन दिनदेखिको अविरल वर्षाको कारण जिल्लाको पूर्वीभेग बागमती पश्चिम लालबकैया नदीका साथै सबै खोलाहरुमा पानीको स्तर बढ्दै गएको छ । 

लालबकैया नदीको पानी ईशनाथ नगरपालिका १ बनजरहामा पसेको छ ।  ईलाका प्रहरी कार्यालय बनजरहा अगाडि र गाउँमा तीन फिटसम्म पानी जमेको र पानी बढ्नेक्रम जारी रहेको प्रवक्ता श्रेष्ठले बताए । 

त्यसैगरी तरहारी खोलामा आएको बाढीले कटहरिया नगरपालिका ९ डुमरिया गाउँ छेउ मुसहरी टोल रातिदेखि डुबानमा परेको छ । मुसहरी टोलका ३५ परिवार आफन्तको घरमा बसिरहेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले बताए । 
त्यसैगरी झाँझ खोलाको बाढीले गरुडा छेउको एउटा वडा २० घर डुबानमा परेको छ । बागमती नदीको बाढीले राजदेबी नगरपालिका बसतपुर छेउमा र पिपरा रजवाडा नजिक कटान सुरु गरेको छ । 
त्यसैगरी लालबकैया नदीको बाढीले बौधिमाई नपा ३ र ४ वडामा तटबन्ध कटान गरिरहेको प्रहरीले जनाएको छ । 
कटान भइरहेका सबै स्थानमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मर्मत भैरहेको छ ।

वर्षाको कारण जिल्लाको १८ वटै स्थानीय तहको सडकहरुमा पानी जमेको छ भने अधिकांश धानखेती डुबानमा परेको छ। आइतबार देखि सुरुभएको अविरल वर्षा अझै तीनदिन हुने र सबै नदी खोलामा बाढी आउन सक्ने भएकाले सचेत रहन स्थनीय प्रशासनले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप