बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा वर्षासँगै सँधै पहिरो र डुबानको त्रासः समस्याको समाधान होस् भन्ने जनताको आश

मङ्गलबार, ०६ साउन २०७७, १३ : २९
मङ्गलबार, ०६ साउन २०७७

भक्तपुर । जब झरी पर्न थाल्छ भक्तपुरमा बाढी र पहिरोको पिरले सर्वसाधरणलाई तनाव हुन्छ । नेपालकै सानो जिल्ला भक्तपुरमा चार स्थानीय तह छन् । चारमध्ये चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पहिरोको धेरै जोखिम हुने गरेको छ । मध्यपुर, भक्तपुर नगरपालिकामा डुबानको समस्याले सँधै सताउदैं आएको छ । 

मनोहरा र हनुमन्ते जिल्लाका दुई ठुला नदी हुन् । हनुमन्ते नदी चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमी सबै नगरपालिकालाई छोएर बग्छ ।  मुख्यतः भक्तपुर नगरपालिकाको च्यामासिंह, महेश्वरी, हनुमानघाट, बाराहीस्थान, सल्लाघारी क्षेत्रमा वर्षेनी हनुमन्ते नदीको कारणले डुबान हुँदैं आएको छ । 

यो नदी आसपास रहेका विद्यालय, पार्टी, अस्पताल र सर्वसाधरणको घरमा बाढीले गर्दा डुबान हुने गरेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति बताउँछन् । हनुमन्ते नदीले मध्यपुरथिमीको केही वडा र सूर्यविनायक नगरपालिकाको केही वडालाई सिमाना भएर बग्ने गर्दछ । मनोहरा नदीले चाँगुनारायण नगरपालिकाको केही वडा र मध्यपुरको केही वडालाई छोएर बग्दछ ।

 किन हुन्छ वर्षेनी डुबान ? 

कतिपय स्थानमा हनुमन्ते र मनोहरा नदिको प्राकृति वहावलाई परिवर्तन गरिएको छ । यसबारेमा विवाद समेत हुँदैं आइरहेको छ । मध्युरथिमि र सूर्यविनायक नगरपालिकाका स्थानीयबीच हनुमन्तेको बहावलाई लिएर भएको विवाद समाधान नभएको वर्षौ भइसक्यो । 

भक्तपुर नगरपालिकाका प्र्रमुख प्रजापति भन्छन्, ‘खोला साघुँरो भयो, त्यसमाथि फोहर र ढल मिसाउनाले अर्को समस्या थपियो ।’ हामीले खोलालाई फरक बनाउने र गहिरो बनाउने कार्य गरेनौं भने यो समस्या समाधान हुन सक्दैन्, प्रजापतिले भने । 
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रातोपाटीसँग कुरा गर्दै भने, ‘विकासका नाममा हुने कतिपय कामले पहिरो र डुबानको जोखिम बढ्यो । त्यसलाई न्यूनीकरण गर्न हाम्रो प्रयास जारी छ । जोखिममा परेका घरहरुलाई जोगाउन साझेदारी अन्तर्गत २ करोड रुपैयाँ खर्च गरिएको समेत मिश्रको भनाई छ । 

भक्तपुरमा कतिपय स्थानमा नदी, राजकुलो, साना खोल्छाहरु मिचेर संरचना बनाउने काम हुँदा बस्ती डुबान परेको विज्ञहरुको भनाई छ । मनलाग्दो गरेर जग्गा प्लानिङ्गले गर्दा पहिरो जाने भू–क्षय हुने गरेको हो । 
सडक विस्तार, नयाँ ट्याक खोल्ने कार्य हुँदा वातावरणीय पूर्व मूल्याँकन नहुनु र अवैज्ञानिक तरिकाबाट हुने विकासले गर्दा विनाश हुने गरेको छ । प्लास्टिकजन्य फोहरलाई व्यवस्थापन नगरी खोला, ढलमा फ्याक्ने कार्य गरिदा समेत ढल बन्द भएर कतिपय क्षेत्र डुबानमा पर्ने गरेका छन् । 

लगातारको वर्षात, कहाँ कति क्षति भयो ?
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘अहिलेसम्म मानवीय क्षति भएको छैन, भौतिक क्षति कम गर्न सुरक्षा निकाय र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढिरहेका छौं ।’ क्षति कम गर्न र विपदमा छिटो उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् । 

केही स्थानमा पहिरो गएको र नदीले कटान गर्दा बस्ती जोखिममा परेकाले क्षति कम गर्ने उपाय अबलम्वन गरिएको उनको भनाई छ ।  मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘अहिलेसम्म नगरमा ठुलो भौतिक क्षति भएको छैन्, क्षति हुन नदिन हामीले पूर्व तयारीहरु गरेका छौं ।’ 

मध्यपुरको वडा नम्बर ३ र ९ मा बाढीले केही असर गर्ने भएकाले तटबन्ध बनाउने काम भएको नगरप्रमुख श्रेष्ठले बताए ।  चाँगुनारायण नगरपालिकामा भने केही वडामा पहिरोको कारणले क्षति पुगेको र घरनै जोखिममा परेको नगरप्रमखु मिश्रले रातोपाटीलाई बताए । 

वडा नम्बर १, ४, ५, ६, ७ र ९ मा पहिरोको कारण जोखिम बढेको मिश्रको भनाई छ । वडा नम्बर ४ को भालाखाला भन्ने स्थानमा पहिरोको कारण सडक भत्किएको र ४ वटा घर जोखिममा परेको छ ।  वडा नम्बर ५ मा २ घर, ६ का केही स्थान, ७ को भुजेल टोल र ९ को गिरी टोलमा एक र पराजुली टोलमा दुई घर जोखिममा परेको चाँगुनारायणका नगरप्रमुख मिश्रले बताए । 

पहिरो गएको स्थानमा बोरा र त्रिपालले छोपेर थप क्षति हुन नदिने  र नदीले कटान कम गर्न जाली भने काम भइरहेको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा दुईवटा मन्दिर नजिकै पहिरा गएको छ । वर्षाका कारण भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले किनारका बस्ती र धान खेत र तरकारी खेती डुबानमा परेको छ । 

विगतका वर्षमा डुबान पर्ने गरेको क्षेत्र राधेराधे, थिमी, चारदोबाटो क्षेत्रमा भने हनुमन्ते नदी आसपासमा निर्माण हुँदैं गरेको करिडोरका कारण डुबान कम भएको आँकलन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप