बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ः इलाममा बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार,  पहाडी जिल्लामा विद्युत् उत्पादन ठप्प

मङ्गलबार, ०६ साउन २०७७, १० : २१
मङ्गलबार, ०६ साउन २०७७

गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फस्नुभएको थियो । सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उाीहरु आपतमा परेका थिए । साँझमा बाढीमा फसेका उनीहरुलाई राति सकुशल उद्धार गरिएको थियो ।

पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या

आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो ।

जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको छ । कतिपय आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको र केही आयोजनाको कम मात्रै बिजुली उत्पादन हुन थालेको छ । इलामको पुवाखोला जलविद्युत् आयोजनामा सबै पानी पसेर समस्या भएको छ । त्यस्तै पाँचथरमा सञ्चालित विभिन्न आयोजनाबाट उत्पादन भएको बिजुली घटेको छ । पाँचथरमा ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो तर हाल घटेर करिब आठ मेगावाट मात्रै उत्पादन भएको काबेली करिडोरले जानकारी दिएको छ ।

पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीका विभिन्न आयोजनाबाट ४० मेगावाट बिजुली उत्पादन हुँदै आएकामा त्यो पनि हाल घटेको छ । वर्षा बढी हुँदा हिउँदका दिनमा कम चलेका आयोजनाको उत्पादन वृद्धि भए पनि पहिरो र बाढीका कारण कतिपय विद्युत् उत्पादनमा क्षतिसमेत भएको छ ।

भोजपुरमा पहिरोको कारण  क्षति

लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङको भान्साघर पुरिएको प्रहरीले जनाएको छ ।

टीकारामको घरको गाह्रो भत्किँदा तामाङको पाँच कुखुरा मरेका छन् । घर भत्किएपछि उनको परिवार स्थानीय गजेन्द्र तामाङको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिए । यस्तै वर्षाका कारण आम्चोक गाउँपालिका–१० पाङ्चामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको पर्खाल भत्किँदा विद्यालयको शौचालयको सेफ्टीट्याङ्की पूर्णरूपमा क्षति भएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको स्वास्थ्यचौकीको पनि पर्खाल लडेको छ । पर्खाल लडेपछि प्रहरी चौकी वैकुण्ठे जाने भित्री सडक अवरुद्ध भएको छ ।

यसैबीच अरुण गाउँपालिका–४ ओदानेमा पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ । सोमबार सडकभन्दा माथिबाट पहिरो झरेर अवरोध बनेको राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको हो । पौवादुङ्मा गाउँपालिका–२ स्थित तिवारीभञ्ज्याङमा पनि पहिरोका कारण बन्द भएको मध्यपहाडी लोकमार्गको सडक एकतर्फीरूपमा सञ्चालनमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप