शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेताले निर्माण गरेको आदर्शमा बाटो बिराएका कार्यकर्ता

मङ्गलबार, ०६ साउन २०७७, ०९ : ५८
मङ्गलबार, ०६ साउन २०७७

नेपाली शब्दकोशमा रूप, गुण र विचारको अनुसरण गर्न सुहाउने व्यक्ति उसले निर्माण गरेको सिद्धान्तलाई आदर्श भनेर उल्लेख गरेको छ । आदर्श मानव निर्मित हुन्छ र निर्माण हुन धेरै समय लाग्छ । यसरी निर्मित आदर्शलाई उचित मान्नेहरुले अनुसरण गर्दछन् । उचित नमान्नेहरुले अनुसरण गर्दैनन् र त्यसको आलोचना गर्छन् । यो स्वाभाविक पनि हो । नेताको असल आनीबानी, आचरण, क्रियाकलापद्वारा आदर्श निर्माण हुन्छ अनि उसका कार्यकर्ताहरुले त्यही बाटो अवलम्बन् गरेका हुन्छन् । यो नै वास्तविकता हो । नेताले निर्माण गरेको आदर्शको बाटो पछ््याएर कार्यकर्ता हिँड्छन् । त्यही बाटोबाट नै उनले देश र जनताको सेवा गर्दछन् । अहिले नेपालमा पनि नेताले निर्माण गरेर छाडेको बाटोमा कार्यकर्ताहरु जेजसरी भए पनि हिँडिरहेका छन् । उनीहरुले त्यही आदर्शलाई नै मौका पर्दा फलाक्ने गर्दछन् । 
अहिले नेपालको राजनीतिमा विशेषगरी दुईवटा धार देखिएका छन्– काँग्रेस र कम्युनिस्ट । 

काँग्रेस कार्यकर्तालाई यो गन्तव्यसम्म हिँडाउने आदर्श निर्माण गर्ने व्यक्ति विश्वेश्वरप्रसाद कोइराला हुन् । उनले नै निर्माण गरेको बाटोमा अहिलेसम्म कार्यकर्ताहरु जेजसरी भए पनि  हिँडिरहेका छन् । बीपीले नै कुनै बेला काँग्रेसको बाटो निर्धारण गरेका हुन् । बीपीले आफ्ना पिता कृष्णप्रसाद कोइरालाबाट आफ्नो राजनीतिक गन्तव्य लिएका थिए । कृष्णप्रसाद कोइराला एउटा असल व्यवसायीको रूपमा उदाएका निष्ठावान व्यक्ति तथा समाजसेवी थिए । उनले विराटनगरमा अस्पताल, विद्यालय लगायत अरू दर्जनाँै समाजसेवाका कार्यहरु गरेर ख्याति कमाएका थिए । त्यतिबेला नेपालका प्रधानमन्त्री चन्द्रशमशेरलाई व्यङ्ग्यात्मक रूपमा लिखा, जुम्रा, उडुस, उपियाँसहितका कपडा पोको पारेर पार्सलका रूपमा पठाएका कारणले त्यसबाट चन्द्रशमशेर रुष्ट भएर कृष्णप्रसाद कोइरालाको सर्वस्वहरणसहित निर्वासनमा रहनुपरेको थियो । प्रशस्त धन आर्जन गरी ऐस आरामले बसेको परिवार वनारसमा निर्वासनमा रहनुपरेको थियो । 

    त्यतिबेला उनको ४५ जनाको परिवार निर्वासनमा परेको थियो । बीपीले ‘आफ्नो कथा’ नामक पुस्तकमा (तेस्रो संस्करण २०५६) उल्लेख गरेअनुसार अहिले खाए भरे के खाऊँ को अवस्थामा परिवार गुज्रिरहेको थियो र चना भुटेर नाङ्लामा राख्ने अनि टोक्राले झिक्दै बाँडेर खाने र त्यसैबाट दैनिकी गुजारेको कुरा रहेको छ । त्यतिबेला चन्द्रशमशेरले माफी मागेमा म कृष्णप्रसादका सबै कुरा फिर्ता दिन्छुभन्दा पनि कृष्णप्रसादले माफी माग्न तयार भएनन् । आफ्नो स्वाभिमान गुमाउनुभन्दा दुःख सहन उपयुक्त ठाने यो उनले निर्माण गरेको एउटा राजनीतिको आदर्शको बाटो थियो । त्यतिबेला कृष्णप्रसाद कोइराला कलकत्ताको गल्ली र सडकहरुमा हातमा घडी र पत्रिका बेचेर दुई चार पैसा कमाएर छाक टार्ने अवस्थामा थिए । केही वर्ष वनारसमा बिताएपछि उनको परिवार भारतको भागलपुर जिल्लाको टेढीमा आएर बस्यो । त्यहाँ पनि कोसीको डुबानमा परेपछि फेरि परिवार छिन्नभिन्न भयो र उनीहरुको उठिबास भएको थियो । चन्द्रशमशेरको मृत्युपछि मात्र उनीहरु नेपाल आएका थिए । 

   वि.सं. १९७१ सालमा जन्मिएका बीपी कोइराला ५ वर्षका हँुदा निर्वासनमा परेका थिए । उनले ३६ वर्ष भारतमा निर्वासनमा बिताउनु परेको थियो । उनी निर्वासनमा रहेका बेला भारतमा स्वराज आन्दोलन चलेको थियो । उक्त आन्दोलनको नेतृत्व भारतीय काँग्रेसका नेता महात्मा गान्धी (पछि स्वतन्त्र) र जवाहारलाल नेहरुले गरेका थिए । बीपी को ‘आफ्नो कथा’ पुस्तकमा उनी वनारसमा पढ्दा नेहरु र गान्धीले सरकारी विद्यालय परित्याग आन्दोलनमा विद्यालयमा कार्यक्रम लिएर आउँदा गान्धी र नेहरुले उनको त्यहाँको प्रस्तुतिबाट प्रभावित भएर मञ्चमा लगेर अङ्कमाल गरेको घटना, पिताजीको राणाविरोधी गतिविधि र भारतमा त्यतिबेलाको स्वतन्त्रताको आन्दोलनको प्रभावले नेपालको राणाविरोधी आन्दोलनमा लाग्ने हौसला मिलेको कुरा धेरै ठाउँमा उल्लेख गरेका छन् । 

  बीपीको साहित्यप्रति पनि उत्तिकै रुचि थियो । वनारसमा पढ्दा १५ वषकै उमेरमा हंश नामक पत्रिकामा उनको कविता प्रकाशन भएको थियो । पटक पटक गरी लामो समयसम्म जेलमा बसेको बेलामा दर्जनाँै कृतिको रचना गरेर उनले साहित्यिक जीवनमा पनि आफूलाई एउटा आदर्श नागरिकको रूपमा चिनाएका थिए । उनी जेलमा बसेको बेलामा दर्जनाँै कृतिहरु नेपाली साहित्यको क्षेत्रमा दिएर गए । बीपीकै नेतृत्वमा वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको गठन भयो र त्यसपछि उनी संस्थागत रूपमा राणा विरोधी आन्दोलनमा होमिए । नेपालमा वि.सं. २०१५ सालमा भएको आमनिर्वाचनको परिणाम घोषणा भएको लामो समयसम्म पनि राजा महेन्द्रले बीपीको व्यक्तित्वसँग टकराव गर्ने आँट नभएर सरकार गठन गर्न नबोलाउँदा ‘बरु मलाई नदिए सुवर्णलाई दिइबक्सियोस् तर निर्वाचित पार्टीलाई सत्ता हस्तान्तरण गर्नुपर्दछ ।’ भन्नुले र पछि महेन्द्रले पञ्चायती व्यवस्थाको पद्धतिमा सरकारमा आउन आह्वान गर्दा ठाडै अस्वीकार गरेका थिए । यसबाट उनमा कुनै किसिमको पदलोलुपता नभएको स्पस्ट देखिन्छ । 

    लामो समयसम्म जेल जीवन र भारतमा निर्वासनमा विताउँदा स्वयं भारतबाट नै नेपाललाई खतरा देखेर २०३३ सालमा राष्ट्रवादीहरु एक हुनुपर्दछ भन्ने मान्यताले यहाँ लगाइएको देशद्रोहीको मुद्दालाई समेत बेवास्ता गरेर राष्ट्रिय मेलमिलापको सिद्धान्त अवलम्बन गरी नेपाल फर्किएका थिए । बीपीले लेखेको पुस्तक आफ्नो कथा र आत्म वृत्तान्तमा धेरै शब्दहरु आफ्ना पिता, माता र परिवारका लागि खर्च गरेकाले उनले आफ्नो राजनीतिक आदर्श र संस्कार तथा राजनीतिक मेन्टरिङ पिताजी र अन्य परिवारका सदस्यहरुबाट लिएको मान्न सकिन्छ अर्थात उनको राजनीतिक विरासत पारिवारिक नै थियो । उनकी माता दिव्याकोइराला पनि प्रधानमन्त्री चन्द्रशमशेरकी रानीसँग त्यतिबेलाको महिला सङ्गठनमा रहेर काम गरेकी थिइन् । आलोचकहरुले उनलाई गण्डक र कोसी सम्झौता राष्ट्रहितविपरीत भएको र नेपाली काँग्रेस पार्टी गठन हुनुभन्दा पहिला भारतको सोसलिस्ट पार्टीमा आबद्धता र फेरि भारतमा हँुदा कम्युनिस्ट विचारधाराबाट प्रभावित बीपी रुसको ट्राटेस्की कान्डबाट कम्युनिस्ट विचारधाराको विरोधी भएका थिए । उनी संलग्न रहेको मन्त्रीमण्डलले २००८ सालमा कम्युनिस्ट पार्टीमा प्रतिबन्ध लगाएको थियो । नेपाली राष्ट्रिय काँग्रेसको दस्तावेजमा नेपाल भारतको अभिन्न अङ्ग हो भन्ने  वाक्य राखिनु र वि.सं. २०१७ सालमा महेन्द्रले पार्टीमाथि प्रतिबन्ध लगाउँदा पुष्पलालले सहकार्यको प्रस्ताव गर्दा पनि बीपीले अस्वीकार गरेका थिए भनेका छन् ।

   त्यस्तै नेपालका अर्का राजनीतिक आदर्श निर्माण गर्ने मूर्धन्य पुरुष पुष्पलाल थिए । उनको जन्म वि.सं. १९८१ साल असार १५ गते भएको थियो । नेपालमा कम्युनिस्ट पार्टी गठन गरेर कम्युनिस्ट आदर्श निर्माणमा पुष्पलालको अद्वितीय योगदान रहेको छ । उनी नै नेपालमा कम्युनिस्ट संस्कार बसाल्ने युगपुरुष थिए । पुष्पलाल आफ्ना दाजु गङ्गालालबाट प्रेरित भएर राणाविरोधी आन्दोलनमा लागेका थिए । वि.सं. १९९७ सालमा त्रिचन्द्र कलेजमा कक्षामा पढिरहेको अवस्थामा गङ्गालाललाई सेनाले उनी पढेको कक्षालाई घेरा हाल्दा गङ्गालाल छानाबाट हाम फालेर जमिनमा लडेर घाइते भएको अवस्थामा पक्डेर मृत्युदण्ड दिइएको थियो । यो घटनाले पुष्पलालमा राणाहरुको विरुद्धमा विद्रोहको ज्वाला निस्केको थियो । त्यसपछि पुष्पलाल भारतमा निर्वासनमा रहेर राणाविरोधी गतिविधिमा सक्रिय भएर लागेका थिए । पुष्पलाल वि.सं. २००४ सालमा गठन भएको नेपाली राष्ट्रिय काँग्रेससँग आबद्ध रहेर नागरिक अधिकारका लागि थालेको नागरिक अभियानमा अगुवा भएर काम गरेका थिए । काँग्रेससँग रणनीतिक र कार्यनीतिक सवालमा मतभेद भएपछि पुष्पलालको पहलमा केही साथीहरुसँग मिली वि.सं. २००६ सालमा कम्युनिस्ट पार्टीको गठन भयो । पुष्पलालद्वारा नै साम्यवादी विचारधारा र विश्व कम्युनिस्ट आन्दोलनको घोषणापत्रको नेपाली भाषामा उल्था गरेर कम्युनिस्ट राजनीतिमा चैतन्यीकरणमा अद्वितीय योगदान गरेका थिए । 

पुष्पलाल महेन्द्रले चालेको २०१७ सालको कदमपछि भूमिगत र भारतमा निर्वासित भएका थिए । चारैतिर रहेका कम्युनिस्टहरुलाई एकत्रित पारेर उनले वि.सं. २०१७ सालमा कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन गर्न सफल भएका थिए । पुष्पलालले राष्ट्रियताको सवाल र शाही कदमविरुद्ध काँग्रेस र कम्युनिस्ट मिलेर जानुपर्छ भन्ने मान्यतामा थिए । तर लामो समयसम्म काँग्रेस कम्युनिस्ट सहकार्यले सार्थकता पाएन । पछि गणेमानसिंह र केही कम्युनिस्ट नेताको पहलमा  वि.सं. २०४६ सालमा कम्युनिस्ट काँग्रेस कार्यगत एकताले  पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा सफलता पाएको थियो ।

  यी माथि उल्लेखित दुईवटा महान नेताले एक किसिमको राजनीतिक आदर्श निर्माण गरी त्यसैलाई एउटा संस्कारको रूपमा छोडेर गएका थिए । यिनैले निर्माण गरेको आदर्शको नाम भजाएर काँग्रेस र कम्युनिस्टले अहिले नेपालमा पालोपालो शासन गरिरहेका छन् । नेपाली काङ्गे्रसले उनैको नाममा २÷२ पटक चुनावमा बहुमत ल्यायो भने कुनैबेला गद्दार घोषणा गरिएका  पुष्पलालका अनुयायीको अहिले २÷३ को सरकार रहेको छ । वि.सं. २००६ सालमा गठन भएको कम्युनिस्ट पार्टीका अहिले धेरैवटा हाँगा पलाएर छिरल्लिई रहेका छन् । पुष्पलालको सिद्धान्तअनुसार सङ्कटको बेला पार्टीहरुले कार्यगत एकता गर्नुपर्दछ भन्ने मान्यताकै आधारमा वि.सं. २०४६ र २०६२ मा सहकार्य गरे पनि प्रायजसो आआफ्नै बाटोमा हिँडिरहेका हुन्छन् । नेताले जे सोचेर देशका लागि त्याग दिने आदर्श दिए, त्यसको अहिले अनुसरण गरिँदैन । कोही म सात चोटि प्रधानमन्त्री हुने हो, ज्योतिषीले त्यही भनेको छ भनेर ढुङ्गो गाडेर बसेका छन् र कसैलाई छोड्दैनन् । कोही हमसे है जमाना भनेर अरूका कुरा सुन्दैनन् । अहिले कोरोना महामारी र भारतीय थिचोमिचोले  देश सङ्कटमा  परेको छ तर पार्टीहरु देशलाई भन्दा आफू र आफ्ना चाहनालाई प्राथमिकतामा राखेर हिँडिरहेका छन् । 

संस्कारको निर्माण गर्न ठूलो त्याग र तपस्याको आवश्यकता पर्दछ । त्यसपछि त्यसरी निर्मित संस्कारले आउने पिँढीमा निरन्तरता पाउँछ । यसलाई संस्कारको हस्तान्तरण भनिन्छ । अहिले जताततै बाटो बिराएका अनुयायी मात्रै भेटिन्छन् । बीपी र पुष्पलालको बेला जस्तो उनीहरुलाई देखे गोली ठोकिहाल्ने अवस्था अहिले नेपालमा छैन । तर भ्रष्टाचार र अनियमितता त्योभन्दा ठूलो खतराको रूपमा देखिएको छ । वि.सं. २००७ सालमा प्रजातन्त्र आउँदा हामीभन्दा धेरै पछि रहेका मुलुकहरु दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया अहिले धेरै अगाडि गइसकेका छन् । हामी विकास र समृद्धिमा राजनीतिक अस्थिरताले कुहिराकोे कागजस्तै अलमलिई रहेका छाँै । अहिले बहुमतको सरकार भएर एक किसिमको राजनीतिक स्थिरता हुँदा देशको विकासभन्दा पनि पार्टीभित्र लुछाचँुडी, तानातान र छिनाझप्टी भइरहेको छ  । एउटा माघले जाडो जाँदैन भनेजस्तो फेरि मौका आउँछ, पर्ख र हेर भन्दा पनि जसरी भए पनि आफू पहिला भन्ने मान्यताले नेताहरु ग्रसित छन् । बीपी र पुष्पलालको फोटो भित्तामा टाँसेर तल भाषण गर्दछन्, कसम खान्छन् तर त्यहाँबाट बाहिर निस्केपछि सबै कुरा बिर्सन्छन् । यसरी ती नेताले निर्माण गरेको आदर्शको बाटो र त्यही बाटो हिँड्न खोज्ने अनुयायीले बाटो बिराउँदा देश विकास र समृद्धिमा पछि रहेको छ र ती कार्यकर्तालाई एकचोटि आफ्नो मूल्याङ्कन आफै गरेर नेताले निर्माण गरेको आदर्शको बाटो अवलम्बन गर्न सल्लाह छ । तब मात्र श्रावण ६ गते बीपी र ७ गते पुष्पलालको स्मृति दिवसले सार्थकता पाउने छ । 
[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामप्रसाद सुवेदी
रामप्रसाद सुवेदी
लेखकबाट थप