मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

यातायात खुलाउन व्यवसायी र मजदुर तयार, लामो दूरी खोल्न सिफारिस गरिने

सोमबार, ०५ साउन २०७७, १८ : ४६
सोमबार, ०५ साउन २०७७

काठमाडौं । बन्द अवस्थामा रहेको यातायात खुलाउन यातायात व्यवसायी र मजदूर तयार भएका छन् । सोमबार दिउँसो नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र क्रियाशील तीनवटै मजदूर संघ सम्मिलित कार्यदलसँग यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीसँगको वार्तापछि व्यवसायी र मजदूरहरु यातायात खुला तयार भएका हुन् । कार्यदलले भोलि पत्रकार सम्मेलन गरेर औपचारिक रुपमै व्यवसायीहरुले यातायात सञ्चालनको घोषणा गर्ने तयारी गरेका छन् ।

सोमबारको बैठकमा विभाग, ट्राफिक प्रहरी र कार्यदलबीच ५ वटा विषयमा सहमति जुटेको थियो । जसअनुसार विभागले मध्यम तथा लामो दूरीका सवारीसाधनलाई पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिन कोभिड रोकथामका लागि गठित उच्चस्तरीय समितिलाई सिफारिस गर्नेछ । 

जिल्लामा रहेका मजदूर र मेकानिकलाई सम्बन्धित क्षेत्रमा आउने वातावरण बनाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने, कोभिड–१९ उपचारको बीमाका लागि सरकारको तर्फबाट आधा प्रिमियम व्यहोर्ने, कोभिड–१९ बाट हुने मृत्युको क्षतिपूर्तिका लागि छुट्टै कोष बनाउने सहमति समेत भएको छ । सबै यातायात मजदूरको मृत्युबीमा गर्न व्यवसायी र मजदूरले माग गरे पनि त्यसबाट राज्यको ठूलो धनराशी खर्च हुने भएपछि हालका लागि त्यस्तो कोष बनाउन लागिएको नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए ।

यातायात मजदूरलाई आवश्यक पीपीई, मास्क लगायतका सुरक्षा सामाग्री भने व्यवसायीले नै उपलब्ध गराउने सहमति समेत भएको बताइएको छ । यसका लागि व्यवसायीहरु तयार भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले भोलि यातायात खुला हुनेबारे औपचारिक निर्णय हुने बताउँदै कहिले र कसरी सञ्चालन गर्ने भन्नेबारेको विस्तृत कार्यविधि भोलि बिहान कार्यदलको बैठक बसेर तय गर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप