शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगातारको वर्षाले देशभर जनजीवन प्रभावित, ठुला नदीमा पानीको बहाब तीब्र रुपमा बढ्दै

सोमबार, ०५ साउन २०७७, १८ : ४०
सोमबार, ०५ साउन २०७७

लगातारको वर्षाले देशभर जनजीवन प्रभावित पारेको छ । वर्षाका कारण बाढी पहिरोको घटनाहरु बढीरहेका छन् । मुख्य नदीहरुमा पानीको बहाब बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मति प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै अधिकांश स्थानमा १ सय मिलिलिटरभन्दा बढी पानी परेको छ ।

उपत्यकाका बाग्मति, विष्णुमति, हनुमन्ते, मनोहरा लगायतका नदिमा पानीको बहाव बढेको छ । उपत्यका बाहिरका मुख्य नदीहरुमा पनि पानीको बहाब निरन्तर बढिरहेको छ । महाशाखाका अनुसार चितवनको नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । कोसी नदीमा पनि सतर्कताको तहसम्म पुगेको छ ।

यस्तै कन्काई, कमला, बाग्मति, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र विभिन्न सहायक नदीमा पनि पानीको बहाबले खतराको तह पार गर्न सक्ने अनुमान महाशाखाले गरेको छ । महाशाखाले अझै ५ दिनसम्म सतर्कता अपनाउनुपर्ने जनाएको छ ।

गृहमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार साउन ४ गते आइतबार देखि ५ गते बिहान १० बजेसम्म विभिन्न जिल्लामा १२ स्थानमा पहिरो गएको छ । चार स्थानमा अविरल वर्षा, २ स्थानमा बाढी, १ स्थानमा आगलागीको घटना भएको प्राधिकरणले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ । घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । ८ स्थानमा सडक अवरुद्ध भएको तथ्याङ्कमा उल्लेख छ । २४ घण्टामा १९ वटा घटनाहरु घटेका छन् ।  

प्राधिकरणका अनुसार २०७७ जेठ ३० गते देखि साउन ४ गतेसम्म पहिरो, बाढी र चट्याङ्गबाट १ सय ३१ जनाको मृत्यु भएको छ भने १ सय २९ जना घाइते भएका छन् । घटनामा परी ४८ जना वेपत्ता भएका छन् । तथ्याङ्कअनुसार पहिरोबाट १ सय ११ जनाको मृत्यु, ८६ जना घाइते र ४३ जना बेपत्ता भएका छन् । बाढीबाट ३ जनाको मृत्यु, १ जना घाइते र ५ जना बेपत्ता भएका छन् । चट्याङ्मा परी १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप