शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै निर्णयबाट कसरी यूटर्न भए होटल व्यवसायीहरु ?

सोमबार, ०५ साउन २०७७, १६ : १७
सोमबार, ०५ साउन २०७७

काठमाडौं । गत आईतबार मात्र होटल एशोशिएसन नेपाल(हान)ले सम्पूर्ण कर्मचारीहरुलाई सम्बोधन गर्दै एउटा यस्तो घोषणा ग¥यो, ‘अब कोरोनाका कारण व्यवसाय बन्द हुँदा पनि रोजगारी गुमाएर बसेका होटल कर्मचारीहरुलाई पनि न्यूनतम तलब दिइनेछ । तर यस्तो तलब अतिरिक्त सेवा सुविधा, माग तथा शर्तहरु वेगर कर्मचारी र व्यवसायीहरु बीच भएको समझदारी बमोजिम नै न्यूनतम तलब उपलब्ध गराइने छ ।’

गत असार २८ गते होटल व्यवसायीहरुको छाता संगठन होटल एशोशिएसन नेपाल(हान) र कर्मचारी संवद्ध तीन संगठन नेपाल पर्यटन तथा होटल श्रमिक संघ नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजुदुर संघ र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघ बीच भएको समझदारी हो ।

होटल व्यवसायीहरुले कर्मचारीहरुलाई मासिक न्यूनतम ४ हजार ३ सयदेखि अधिकतम १० हजार रुपैयाँसम्म दिने निर्णय गरेका छन् । यो निर्णय व्यवसायीहरुको आफ्नै निर्णयको यूटर्न हो ।

यसअघि व्यवसायीहरुले बन्द व्यवसायबाट कर्मचारीहरुलाई तलब खुवान नसक्ने भन्दै यदि दिनै परेपनि अधिकतम १२.५ प्रतिशत मात्र तलब दिन सकिने अड्डी कस्दै आएका थिए । तर यता कर्मचारीहरु भने व्यवसायीहरुको सो निर्णय मान्न तयार भएनन् । बरु ५० प्रतिशत तलब छाड्न आफुहरु तयार भएको तर ५० प्रतिशत भने जसरीपनि पाउनु पर्ने कर्मचारीहरुको माग दाबी थियो ।

अन्ततः लामो समयसम्मको कर्मचारी र व्यवसायी बीचको यसखालको अन्तरसंघर्ष २८ गतेको ६ बुँदे समझदारीले टुङ्गिन पुग्यो ।

कसरी टुङ्गियो त कर्मचारी व्यवसायी बीचको अन्तरसंघर्ष ?

असार २८ गतेको दुईपक्षको समझदारी पछि श्रावण ४ गते होटल एशोशिएसन नेपाल (हान) ले पत्रकार सम्मेलन नै गरेर निर्णय सार्वजनिक गर्‍यो । उक्त समदारीमा यस्तो थियो ।

१. कोभिड–१९ का कारण प्रभावित होटल व्यवसाय र त्यसबाट प्रभावित कर्मचारीहरुको तलब सम्बन्धमा होटल एशोशिएसन नेपाल(हान) र संबध तीन केन्द्रिय कर्मचारी संगठनबीच कर्मचारीको तलब व्यवस्थापनमा होटलको वर्गिकरण गर्ने र सोही वर्गिकरणका आधारमा न्यूनतम तलब तोकिने,

२. यो सम्झौता उल्लिखित शर्त र सहमतिहरु ३१ डिसेम्बर, २०२० सम्म लागु हुनेछ र त्यसपछिको अवस्थालाई मूल्याङ्कन गरी आपसी समझदारीमा टुङ्गो लगाइनेछ ।

३.यो सम्झौता कार्यान्वयन र परिपालन गराउने कार्य होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल केन्द्रिय स्तरका सम्झौंताकर्ता ट्रेड युनियन संघहरुबीच गठन भएको अधिकार सम्पन्न संयुक्त कार्यदलले गर्नेछ ।

४.सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजिनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकास पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्तय हुँदा बन्दाबन्दी अगाडि खाइपाइ आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइनेछ ।

५. यदि कुनै श्रमिक वा कर्मचारीले उल्लेखित सम्झौता अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सूचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा यो सम्झौता अनुसार निजले बुझिलिएको रकम निजले प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शीर्षकको रकमबाट कट्टी गरिनेछ । र,

६.यो सम्झौता उल्लिखित शर्तहरु दुबै पक्षको लागी बाध्यकारी हुनेछ । यो सम्झौतामा उल्लेख गरिएबाहेक अन्य विषयहरुमा प्रतिष्ठानस्तरका क्रियाशील युनियनहरुसँग बसी छलफल गर्न सकिनेछ । साथै यो सम्झौता हुनुभन्दा अगावै प्रतिष्ठान स्तरको युनियसँग गरिएको सम्झौता तथा सहमति कायम रहनेछ ।

उक्त सहमति अनुसार कर्मचारीको तलबलाई होटलको वर्गिकरण अनुसार वर्गिकरण गरिएको छ । न्यूनतम ४ हजार ३ सयदेखि अधिकतम १० हजार रुपैयाँ तोकिएकोमा समझदारी अनुसार पाँच तारेका २ सय कोठाभन्दा माथिका होटेलमा काम गर्ने कर्मचारीले मासिक १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै, दुई सय कोठाभन्दा कम भएका पाँचतारे होटल तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूले मासिक ९ हजार रुपैयाँ, एक सय कोठाभन्दा बढी भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत कर्मचारीले मासिक रू. ८ हजार ४ सय ५५ रुपैयाँ, सय कोठा भन्दा कम भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत कर्मचारीहरूले मासिक ८ हजार रुपैयाँ र तीन तारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीले मासिक ५ हजार रुपैयाँ पाउने छन् ।

यसै वर्गिकरण अनुसार दुई तारे तथा सोही स्तरका रिसोर्टमा कार्यरत कर्मचारीले भने न्यूनतम मासिक ४ हजार ३ सय पाउनेछन् । तर, एक तारे र पर्यटक स्तरीयको होटल तथा रिसोर्टहरूले भने आपसी समझदारीमा रकम उपलब्ध गराउन सक्ने व्यवसायी र कर्मचारी संगठनबीच समझदारी भएको छ ।

यो सम्झौता काम सुचारु नभएको अवस्था पनि गत वैशाखदेखि पुस सम्म लागु हुने गरी भएको हो । अवस्था सहज भएर काम सुचारु भएमा भने पूर्ववत सेवा सुविधा र तलब प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

वीन–वीन सिचुएसनका लागि यस्तो सम्झौता गरियो

सूर्यबहादुर कुँवर, अध्यक्ष, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघ

कोभिड–१९ का कारण प्रभावित क्षेत्रहरु मध्यकै सबैभन्दा बढी प्रभावित क्षेत्र होटल तथा पर्यटन क्षेत्र नै हो । यसमा कसैको दुईमत छैन । सबैजसो होटलहरु बन्द हुँदा उक्त व्यवसाय र त्यहाँ काम गर्ने श्रमिक मजदुर वर्गहरु पूर्णरुपमा प्रभावित छन् । खाइपाइ आएको रोजगारी गुम्दा श्रमिकहरु मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा हामीले व्यवसायीहरुसँग सामान्य अवस्थामा पाउने तलब सुविधाको कम्तिमा ५० प्रतिशत तलब उपलब्ध गराउने भनेका थियौँ । तर उहाँ(व्यवसायी)हरु बन्द व्यवसायबाट तलब खुवाउन नसक्ने अडान कसिराख्नुभयो । तलब दिएपनि बढीमा १२.५ प्रतिशत मात्र दिन सक्ने उहाँहरुको भनाइ थियो । तर हामीले मानेनौँ ।

अहिलेको समयमा १३ हजार ४ सय ५५ रुपैयाँको १२.५ प्रतिशतले हुन आउने करिब एक हजार ६ सय रुपैयाँले कुनै मजुदर बाँच्न नसक्ने भन्दै कम्तिमा ५० प्रतिशत चाहिने हाम्रो अडान कायमै र¥यो । तर कसै गरेपनि समदारी जुट्न सकेन । व्यवसायीहरु आफ्नो अडानबाट पछि नहट्ने र हामी पनि आफ्नो मागबाट पछि नहट्ने परिस्थित बन्यो । र, अन्तमा दुबै पक्षको वीन–वीनको मिलन विन्दु खोज्यौँ । यसैको परिणामतः अहिले हामीले ६ बुँदे समझारीमा तलबको विषय टुङ्ग्याएका छौँ ।

पूर्ण सन्तुष्टि त नभनौँ तर आपसी समझदारीमा चित्त बुझाएका छौँ । यसले केही हदसम्म भने पनि कर्मचारीको समस्या सम्बोधन गर्छ भन्ने हाम्रो विश्वास हो । होटल व्यवसायीहरुसँग हामी तीनै कर्मचारी संगठनहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छौँ । अब हामी यसै सहमति अनुसार अघि बढ्छौं । वातावरण सहज भएपछि त छँदैछ ।

विशेषतः श्रमिकहरुको रोजिरोटी सुनिश्चितताका लागि हामीले यस्तो सहमती गर्‍यौँ

माधव पाण्डे अध्यक्ष, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघ

होटल तथा पर्यटन क्षेत्रमा यावत समस्याहरु छन् । यी समस्याका बाबजुद पनि सो क्षेत्रको व्यवसाय र श्रमिकहरुको रोजिरोटीको बचाउनु छ । यी दुई पक्षमा एक पक्ष बाँच्ने र अर्को पक्ष मर्ने भन्ने सवाल रहँदैन । सँगैसँगै दुबै पक्ष जानुपर्छ । जुन अहिलेको विषम परिस्थितिमा पनि सँगसँगै जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।

समस्या परेका बखत श्रमिक र व्यवसायी(साहु) बीच अझ बढी सम्बन्ध राम्रो हुनुपर्छ भन्ने मान्यता अनुसार दुवै पक्षलाई समस्या माथि झन् समस्या नपरोस् भनेर हामीले मिलन विन्दु खोज्यौँ । जसमा होटल व्यवसायी र हामी श्रमिक संगठनहरु बीच तीन बुँदे सहमति भएको छ । यो कुनै एकपक्षको अमुक निर्णय होइन । आपसी समझदारी हो ।

व्यवसायीले भनेको १२.५ प्रतिशत र हामी श्रमिकहरुले माग राखेको ५० प्रतिशतको एउटै मिलन विन्दु यही हो । हामी किन यस्तो सहमतीमा आयौँ भन्दा पहिलो कुरा त यहाँ श्रमिकहरुको भविष्य र रोजिरोटीको सवाल छ । यी बीचमा श्रमिकहरुमा आफु रोजगारीमा छु कि छैन भन्ने सम्मको अन्योलता देखियो । यसलाई चिर्न पनि तलबको निरन्तरता हुन जरुरी थियो ।

को कहाँ छ ? कस्तो अवस्थामा छ र मालिक र कामदारको बीच नियमित सम्पर्क हुन पनि यसको अवश्यकता थियो । त्यसैले हामीले केहि लचकता अपनाएर भनेपनि यस्तो सहमति गर्‍यौँ ।

अर्कोतर्फ भनेको समस्यामाथि थप समस्या रोजगारी गुमाएपछिको आर्थिक चाप व्यवस्थापनका लागि पनि तलब आवश्यक थियो । जुन आधारभूत न्यूनतम तलब भनेपनि पाउने व्यवस्थाका लागि यस्तो सहमति गरियो । अब यसैलाई कार्यान्वयनमा जाने पक्षमा छौँ । गत वैशाख महिनादेखि तलब नपाएकाहरुले पनि तलब पाउने अवस्था बनेको छ । यस खालको समझदारीले श्रमिकहरुको कम्तिमा पुससम्म आफ्नो रोजिरोटीको ग्यारेन्टी भएको छ ।

जहाँसम्म प्रभावकारी रुपमा कार्यान्वयनको कुरा छ हामी दुवै पक्ष (व्यवसायी–श्रमिक)ले ६/६ जनाको अनुगमन टाक्स फोर्स बनाउने निर्णय गरेका छौँ । जुन फोर्सको आवश्यकता पर्छ तत्कालै हामी गठन गरेर अघि बढ्छौँ ।

यता, होटल व्यवसायी संघ हानले भने समस्याकै बाबजुद पनि कर्मचारीको हितका लागि यस्तो सहमति गरेको बताएको छ । कोभिड–१९ का कारण बन्द व्यवसायबाट तलब खुवाउने कुरा र त्यो पनि अझैँ एक डेढ वर्षसम्मको व्यवसायीक अनिश्चितामा तलब खुवाउनु आफैमा चुनौतिको विषय रहेको हानका अध्यक्ष सिर्जना राणाको भनाइ छ ।

‘हामीले ठूलो जोखिम उठाएका छौँ । आफ्नो जिम्मेवारी बोध गर्दै काम नभएको अवस्थामा पनि कर्मचारीलाई तलब दिने सम्झौता गरेका छौँ । यो हाम्रो हाम्रा कर्मचारीहरु प्रतिको उदारता हो । बन्द व्यवसायबाट लामो समयसम्म निरन्तर तलब खुवाउने कुरा सानो कुरा होइन । यो आफैमा चुनौतीको विषय हो । जुन कठिन चुनौती हामी होटल व्यवसायीहरुले उठाएका छौँ,’ अध्यक्ष राणाले भनिन् ।

हाल देशैभरीबाट हान अन्तरगत साना ठूला तारे होटलहरुको संख्या १३८ वटा रहेका छन् भने, विभिन्न खालका पर्यटनमैत्री १ हजार १ सय ५१ वटा रहेका छन् । जसमा कुल ४३ हजार ९ सय ९९ बेड क्षमता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप