शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झापामा अपराधका घटनामा कमी

सोमबार, ०५ साउन २०७७, ११ : ४२
सोमबार, ०५ साउन २०७७

झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक हजार ४६४ वटा मात्र मुद्दा दर्ता भएका थिए । 

आर्थिक वर्ष २०७६/०७७ मा अपराधका घटनामा अझ कमी आई एक हजार १७० वटा मात्र मुद्दा दर्ता भएका छन् । तीमध्ये कर्तव्य ज्यान १३ र ज्यान मार्ने उद्योगका २७ वटा घटना छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पछिल्लो तीन वर्षमा झापामा घटेका चार हजार ३२१ घटनामध्ये तीन आर्थिक वर्षमा नै अभद्र व्यवहारका मुद्दा धेरै छन् । आर्थिक वर्ष २०७४/०७५ मा भन्दा २०७५/०७६ मा कूल मुद्दा दर्ता सङ्ख्या १३.२१ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले मुद्दाको सङ्ख्या नै घटेको छ । 

आर्थिक वर्ष २०७४/०७५ भन्दा आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका मुद्दामध्ये अभद्र व्यवहारका मुद्दा ४५ प्रतिशत  र आर्थिक वर्ष २०७६/२०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष २०७५/२०७६ को तुलनामा आर्थिक वर्ष २०७६/२०७७ मा लागुऔषधका मुद्दासमेत छ प्रतिशतले घटेको प्रहरीको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आत्महत्या, जबर्जस्ती करणी, सवारी ज्यान, मानव बेचबिखन, बहुविवाहलगायतका मुद्दा आर्थिक वर्ष २०७६/२०७७ मा कमी आएको प्रहरीले जनाएको छ । मुद्दा दर्ताको सङ्ख्यामा कमी आउनुको कारणमध्ये  कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती, चेकजाँच, मानिसको चेतनाको स्तरमा वृद्धि, प्रहरीको सक्रियता आदि रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०७६/०७७ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै यो अवधिमा मेचीनगर नगरपालिकामा घटना घटेका छन् । मेचीनगरमा एक आर्थिक वर्षमा मात्रै २२० घटना घटेका छन् । त्यस्तै दमकमा १७४ र विर्तामोडमा १७३ वटा घटना घटेका छन् ।

त्यस्तै भद्रपुरमा १०१, अर्जुनधारामा ६०, शिवसताक्षीमा ५८, गौरादहमा ५७ र कनकाईमा ५४  घटना घटेका छन् । झापाका आठ नगरपालिकामा मात्रै यो अवधिमा ८९७ वटा घटना घटेकोे प्रहरीले जनाएको छ । उता सात गाउँपालिकामध्ये सबैभन्दा धेरै घटना कमल गाउँपालिकामा घटेका छन् । कमल गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ७२ घटना घटेका छन् । गाउँपालिकामध्येकै सबैभन्दा कम घटना कचनकवल  गाउँपालिकामा घटेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीका अनुसार गौरीगञ्जमा ३२, बाह्रदशीमा ३१, बुद्धशान्तिमा ५१, हल्दिबारीमा ३७ र कचनकवलमा २२ वटा घटना घटेको र मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । गाउँपालिकामा मात्रै २७३ वटा मुद्दा दर्ता भएका छन् । स्थानीय तहमा भएका अपराधका घटनालाई आधार मान्दा नगरपालिकामा कूल मुद्दा सङ्ख्या ८९७ रहेको छ भने गाउँपालिकामा २७३ वटा छन्  । शहरोन्मुख क्षेर र सघन बस्ती भएकै ठाउँमा अपराधका घटना बढी देखिएको प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनले देखाउँछ । 

नगरपालिकाको पनि मेचीनगरको ८ नम्बर वडा र विर्तामोडको ५ नम्बर वडामा धेरै घटना घटेका छन् । मेचीनगरको एउटै वडामा ७३ र विर्तामोडको एउटै वडामा ६७ घटना घटेका छन् । अपराधका घटनामा कमी आउनुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ । 

झापामा यौनजन्य अपराधका घटनामा समेत कमी आएको पाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप