बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सार्वजनिक सवारी सञ्चालनमा अझै किन अलमल ?

केन्द्रीय महासंघ गाडी चलाउन सहमत, ‘पर्ख र हेरको अवस्थामा’ राष्ट्रिय महासंघ
सोमबार, ०५ साउन २०७७, ११ : १४
सोमबार, ०५ साउन २०७७

सरकारले असार २६ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि अझै देशभर सवारीसाधनहरु चल्न सकेका छैनन् । यातायात व्यवसायीको गाडी नचलाउने घोषणा र मजदूरहरुको समेत समर्थनका कारण १० दिन बितिसक्दा पनि सडकमा सवारीसाधनहरु निर्वाध रुपमा सञ्चालन हुन नसकेका हुन् ।

अहिलेसम्म के–के भयो ?

असार २६ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २७ गते आकस्मिक बैठक बसेर तत्कालै गाडी नचालाउने निर्णय गर्‍यो । त्यसको भोलिपल्ट मजदूर संघका प्रतिनिधिहरुलाई समेत बोलाएर आफ्नो निर्णयमा ऐक्यबद्धता जनाउन लगायो । साथै, उनीहरुलाई समेत समेटेर महासंघले सरकारसँग वार्ता गर्न छुट्टै कार्यदल बनायो । अहिले त्यसले यातायाता व्यवस्था विभाग, मन्त्रालय र प्रधानमन्त्री लगायतसँग छलफल गरिरहेको छ ।

सो महासंघको समानान्तर रुपमा गठन भएको नेपाल यातायात केन्द्रीय व्यवसायी महासंघले समेत सरकारको निर्णयमा असहमति जनाएर साउन ७ गतेसम्म कुर्ने र त्यसपछि सरकारलाई साँचो बुझाउने घोषणा गरेको थियो । तर केन्द्रीय महासंघ भने आफूआबद्ध सवारीसाधन सञ्चालन गर्न तयार भएको छ । राष्ट्रिय महासंघले भने यसको घोषणा गरेको छैन ।

यी दुवै महासंघले मूलतः ४/५ वटा माग राखेर ती माग पूरा भए मात्रै गाडी चलाउने निर्णय गरेका थिए । त्यसमध्ये यातायात व्यवसायीको ऋणको ब्याज र किस्ता तिर्ने समय पर सार्नुपर्ने र सवारीसाधन मर्मतको लागि थप कर्जा उपलब्ध गराउनुपर्ने थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् यी दुवै मागको सम्बोधन गरिसकेको छ । यसलाई व्यवसायीहरुले स्वागतसमेत गरिसकेका छन् ।

योबाहेक व्यवसायीले राखेको अर्को माग स्वास्थ्य सुरक्षा मापदण्डको थियो । त्यसका लागि यातायात व्यवसायी र मजदूरहरुको कार्यदलले विभागमा काठमाडौँ महानगर, ललितपुर महामनगर र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरिसकेको छ । उनीहरुले स्टेशनहरुमा स्वास्थ्यसम्बन्ध मापदण्ड पालना गर्न सहमति जनाएका समेत छन् ।

उपत्यकाबाहिर रहेका यातायात व्यवसायीलाई काठमाडौँमा ल्याउने वातावरण बनाउन पनि प्रधानमन्त्रीदेखि यातायात व्यवस्था विभागका अधिकारी र ट्राफिक प्रहरीहरुसमेत सकारात्मक भइसकेका छन् । तर तीनवटै मजदूर युनियनहरुको समेत समर्थन रहेको राष्ट्रिय महासंघले अझै पनि सवारीसाधन खोल्ने घोषणा गरेको छैन ।


मौद्रिक नीति सार्वजनिक गर्ने बित्तिकै यसलाई यातायात व्यवसायी र मजदूरहरुले समेत स्वागत गरेका थिए । सो क्रममा यसले सवारीसाधनलाई छिट्टै खुला गर्ने वातावरण बनाएको समेत बताएका थिए । सोही भनाईलाई आधार बनाएर मंगलबारदेखि सवारीसाधन खुला हुने भन्ने समाचार सम्प्रेषण गरिएको भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले ती समाचारहरुको खण्डन समेत गरिसकेको छन् । उनले आफूहरुले यातायात खुला गर्ने विषयमा सकारात्मक भए पनि निर्णय नगरेको भन्दै अझै सवारीसाधन खुला गर्ने वातावरण बनिनसकेको बताए ।

अलमल कहाँ ?

सवारीसाधन खुला गर्ने विषयमा सकारात्मक भए पनि अहिले व्यवसायी र मजदूर दुवैलाई शंका छ, ‘यातायात त खोल्ने, तर यात्रु पाइएन भने के गर्ने ?’ महासंघको घोषणाकै बाबजुद पनि अहिले उपत्यकामा चलिरहेका सवारीसाधनले यात्रु नपाएर छट्पट्टिइरहेका छन् । साउन १ गतेदेखि सञ्चालनमा आउन थालेको साझा यातायातमा निर्धारित आधा क्षमताको सिट भरिनेगरी यात्रु पाइरहेको छैन । मयुर लगायतका केही निजी यातायातहरुले पनि यात्रु नपाएपछि अहिले धेरैजसो गाडी ग्यारेजमै थन्काएका छन् ।

महासंघमा उपाध्यक्ष विजय स्वाँँर पछिल्लो अवस्थाले गाडी खुला हुँदैमा यात्रुमा सुरक्षित छु भन्ने कनिफडेन्स नबढेसम्म यातायात सुचारु नहुने प्रमाणित भएको बताउँछन् । त्यसैले आफूहरुले यात्रुलाई सुरक्षित यात्राको प्रत्याभूति हुने वातावरण बनाउन आग्रह गरिरहेको उनले बताए ।

अखिल नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले अरु विषयमा सकारात्मक बने पनि केही विषयमा अझै लचक बन्नुपर्ने आवश्यकता रहेको बताउँछन् । ‘हामीले यातायात व्यवसायीको स्वास्थ्य सुरक्षा र नियमित चेकजाँच गर्नुपर्ने र उनीहरुलाई दुईखाले बीमा गर्नुपर्ने भनेका छौँ । दुईखाले बीमामा कोभिड–१९ उपचार बीमा तथा क्षतिपुर्तिसहितको बीमा छन् । त्यतिमात्रै नभएर हामीले छोटो दूरी मात्रै नभएर मध्यम र लामो दूरीका यातायात पनि एकैचोटी सञ्चालन गर्ने र त्यसका लागि सरकारले अनुमति दिनुपर्छ भनेका छौँ,’ राईले भने, ‘छोटो दूरीमा मात्रै गाडी चलाएर नचल्ने रहेछ भन्ने त हामीले देखिसकेका छौँ ।’

व्यवसायीको आँखा लामो दूरीमा

अहिले यातायात व्यवसायीहरु मध्यम र लामो दूरीका यातायात सञ्चालन गर्न समेत पाउनुपर्ने माग गरिरहेका छन् । अहिले सरकारले छोटो मध्यम र लामो दूरी भनेर यातायात खुला गरेको छैन । उसले एउटै काठमाडौं उपत्यकामा वा बाहिर एक जिल्लाभित्र मात्रै सञ्चालन हुन सक्नेगरी यातायात खुला गरेको छ । यसले गर्दा अहिले यातायात खुल्नुको औचित्य नभएको उनीहरुको भनाइ छ ।

लामो दूरीको यात्रुले छोटो दूरीको भन्दा धेरै स्वास्थ्य मापदण्ड अपनाउन सक्ने समेत उनीहरुको तर्क छ । ‘लामोदूरीका सवारीसाधनमा एकपटक चढेपछि यात्राभरी यात्रु ओर्लदैन, एकपटक मात्रै चढ्ने भएकोले उसले चढ्दा र ओर्लँदा सुरक्षा मापदण्डसमेत अपनाएर गर्छ,’ महासंघका उपाध्यक्ष स्वाँर भन्छन्, ‘तर छोटो दूरीमा सुरक्षा मापदण्ड अपनाउन ज्यादै अप्ठ्यारो हुन्छ । त्यसैले हामीले मध्यम र लामो दूरीलाई पनि एकैपटक खुला गरौँ भन्ने प्रस्ताव राखेका छौँ ।’

मजदूर संगठनका अध्यक्ष राई पनि मध्यम र लामोदूरीका सवारी खुला नगरी यातायात सञ्चालन हुन नसक्ने बताउँछन् । ‘धादिङको मान्छे नागढुङ्गा काटेर आउन नपाउने हो भने उ गाडी चढ्दैन । त्यसैले हामीले लामो दूरीको यातायात खुला गरौँ भनेका हौं । एकैपटक लामो दूरी सकिँदैन भने प्रदेशभित्र मात्रै गए पनि गाडी चल्न पाउने व्यवस्था गरौँ भनेर हामीले भनेका हौँ,’ राईले भने ।

अहिले साउन ७ गतेसम्मका लागि लामोदूरीका सवारीसाधनको प्रतिबन्ध कायमै राख्ने निर्णय सरकारले गरेको छ । तर त्यसपछि भने लामोदूरीका सवारीसाधन समेत खुला हुने विश्वास व्यवसायी र मजदूरहरु दुवैले लिएका छन् । विभागसँगको छलफलमा व्यवसायीहरुले यही मागलाई दोहार्‍याएका छन् । तर त्यो निर्णय विभाग वा मन्त्रालयले गर्ने नभई मन्त्रिपरिषद्बाट हुने भएकोले सरकारको निर्णयको प्रतिक्षामा उनीहरु बसिरहेका हुन् ।

महासंघकै अर्का एकजना पदाधिकारी भन्छन्, ‘अहिले यातायात व्यवस्था विभागसँग कार्यविधिमा छलफल गरिरहेका छौं, यो दोस्रो पक्ष हो । हाम्रो बटमलाइन भनेको मध्यम र लामो दूरीको यातायात पनि खुल्नुपर्छ भन्ने हो । तर विभागले मात्रै भनेर नहुने रहेछ, सरकारले त्यो निर्णय गर्यो भने तत्कालै गाडी चल्न थाल्छ ।’

काठमाडौँ उपत्यकामा संक्रमण निकै कम देखिइरहेको र अन्य जिल्लाहरुमा अझै पनि जोखिम टरिन नसकेको अवस्थामा अहिले स्वास्थ्य मन्त्रालयका अधिकारीहरु तत्कालै लामो दूरीको यातायात सञ्चालन खुला गर्न सिफारिस गर्न चाहिरहेका छैनन् । सोही कारण विभागले मन्त्रालयमा ठोस प्रस्ताव पठाउन सकेको छैन । सोही कारण मन्त्रालयले पनि मन्त्रिपरिषद्मा त्यस्तो प्रस्ताव लैजान सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप