केन्द्रीय संस्करण

नेकपामा नङ्ग्राबाजी : आचरण कि आडम्बर ?

person explore access_timeसाउन ५, २०७७ chat_bubble_outline0

करिब २ वर्ष पहिले एकीकरण भएको सत्तासीन नेकपा पुनः विभाजनको सँघारमा पुगेको आकलन गरिँदैछ । उनीहरूले एकीकरणपछि पार्टीलाई निकै सुधारमुखी, क्रान्तिकारी र सच्चा कम्युनिस्ट बनाउने बताएका थिए । आम नागरिकको सामूल उन्मुक्तिमा दत्तचित्त रहने भन्दै चुनावअघि नै कार्यगत एकता तथा कार्यक्रम घोषित थिए । तर अफसोस २ वर्षको यो अवधिमा उनीहरूको हुङ्कार र दुहाइजस्तो सोच तथा कार्यक्रम आएनन् । त्यो एकता त तोरी र कोदोको समिश्रण जस्तो देखियो । न त तेल बन्यो न पिठो । नेताहरूको सङ्ख्या बढेबाहेक नागरिकले उपलब्धिमूलक नतिजा खासै महसुस गरेनन् । बरु अनियन्त्रित दम्भ तथा अविवेकी आचरण चुलिँदै गयो । अन्ततः नेपालमा कम्युनिस्ट शक्तिहरूको स्थायी चरित्र बनेको निरन्तर फुट र गुटको नियति ज्वलन्त रूपमा पुनर्जीवित हुन खोज्दैछ । लेखक गोवद्र्धन रानाको पुस्तक ‘साम्यवाद’मा लेखिएको छ ‘झुट बोलेर नागरिकलाई झुक्याउनु नै कम्युनिस्टहरूको दार्शनिक धर्म हो’ । साँच्चै यस्तो परिदृश्य फेरि उजागर हँुदैछ ।

नेपालमा प्रजातन्त्रको अद्भुदयको समय २००७ सालको आसपास स्व. पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टीको निर्माण भयो । तर विराट विरासत बन्नुसट्टा कम्युनिस्टहरूमा उराँठ लाग्दो दलदल मात्र बन्यो । परिणाम आज मसाल, मार्सल, एकीकृत, विकेन्द्रित, क्यास, ड्यास, नेकपा, नेकाप डबल जस्ता नाममा करिब दुई दर्जन कम्युनिस्ट पार्टी बनेका छन् । नेपालमा कम्युनिस्ट पार्टी निश्चित मिसनभन्दा फेसनमा जस्तो भएर खुलेका छन् । संसारका केही कम्युनिस्ट शक्तिहरूको लोभलाग्दो कदबीच यहाँको अवस्था भने दयनीय छ ।

सन् १९२१ तिर चेन दुहिउ र ली दह्याजो नामक नेताको अगुवाइमा गठन भएको ‘कम्युनिस्ट पार्टी अफ चाइना’ आज त्यहाँको सर्वशक्तिमान एवं एक्लो पार्टी छ । त्यही दलबिना विभाजन र दलदल आफूलाई समृद्घ बनाउँदै छ । देशकाल परिस्थितिअनुसार आफ्ना नीतिगत पक्ष र अन्य अवस्थामा सुधारको अवलम्बन गर्दैछ । यसको सुस्पष्ट नेतृत्वले चीनलाई आक्रमक हिसाबले सर्वशक्तिमान बनाउँदैछ । त्यस्तै लगभग सन् १९३० तिर स्थापना भएको ‘कम्युनिस्ट पार्टी अफ भियतनाम’ पनि आजसम्म एकाकार रूपमा छ । उत्तर कोरिया आज महाशक्ति अमेरिकालाई चुनौती दिने सामथ्र्य राख्छ । तर हामीकहाँ भने नाफा कमाउनकै लागि बजारमा खुल्ने नयाँ सुपरमार्केट जस्तै रूपमा कम्युनिस्ट पार्टी जन्मन्छन् र हराउँछन् । एउटै पार्टीभित्र समेत फरक फरक गुट बन्छन् । अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन् । गुटभित्र त विचार तथा सिद्घान्तको छलफल हुन्छ, गिरोहमा केवल अरूलाई ठगेर वा हटाएर आफूलाई फाइदा हुने कदम उठाइन्छ । केवल लेनदेन र नाफाघाटाको हिसाब किताब गरिन्छ । चरम अवसरवादको प्रतीक्षा हुन्छ । उनीहरूको विरोध तथा झगडा जीवन, जनता, आदर्श, नीति तथा कार्यक्रममा नभई पदको बाँडफाँट र शक्तिको भोगका लागि हुन्छ । नेकपाको पछिल्लो अवस्थासमेत यही हो ।

आजका कम्युनिस्ट नेताका जीवनशैली मार्क्सवादी सिद्घान्त तथा आचरण अनुरूप छैन । सादा जीवन भन्ने कुरा त दस्तावेजका पानामा सीमित छ । सर्वहारा भन्नेहरू सर्वभोगी र संसारकै विलासी बन्दैछन् । भड्किलो जीवनशैली तथा नियन्त्रण विनाको अहंकारी उन्मादले उनीहरूलाई घेरेको छ । पुस्तकालयलाई मदिरालय बनाएका छन्, कुनै बेला गोडा हुँदाहँुदै घोडा किन ? भन्ने नेताहरू आजकाल हेलिकप्टर सयर गर्छन् । आम्दानीको कुनै वैधानिक स्रोत नभएकाहरू यति विलासी जिउँछन् कि उनीहरू सम्भ्रान्त मात्र हैन सामन्त पनि हुन् । आर्की ब्राउनको पुस्तक ‘द राइज एन्ड फल अफ कम्युनिजम’ले समेत संसारभर कम्युनिस्टहरूको आचरण पतन उन्मुख भएको देखाउँछ । उनीहरूकको दर्शन खालि सम्भ्रान्तहरूको विरोध गर्नु, सामन्तलाई हटाउनु मात्र हैन, आफूलाई त्यहाँ स्थापित गराउनु पनि हो । राजा फालेपछि आफू राजा हुने दौडमा सबै लागेका छन् । तर देशलाई समृद्ध बनाउने न कुनै ठोस योजना छ न त कुनै नीति ।

पदमा जोसुकै पात्र आए पनि पद्घति फेरिँदैन । हाकिम फेरिन्छन् हुकुम र हैकम फेरिँदैन, शासक फेरिन्छन् शासन फेरिँदैन, खुकुरी फेरिन्छ प्रहार फेरिँदैन, साहु फेरिन्छ शैली फेरिँदैन, व्याधा फेरिन्छ तीर फेरिँदैन, अचानो फेरिन्छ यद्यपि चोट फेरिँदैन । जुट वा फुट जेसुकैमा अहिलेको वितण्डाको निरुपण भए पनि अन्तिम नतिजा भने यस्तै हुनेछ ।

कम्युनिस्ट आन्दोलनबाट नयाँ रूपमा जन्मिएका शासकहरूको जीवन र जगत परिवर्तन भयो तर दुनियाँ संलग्न शासित वर्ग तथा आम नागरिकमा कम्युनिस्ट आन्दोलनको तर्फबाट गरिनुपर्ने अपेक्षित कार्य भने पूरा भएनन् । निमुखा र सामन्य नागरिकको नजरमा कम्युनिस्टहरू झन् बढी विलासी, भ्रष्टाचारी तथा कान्डैकान्डमा माहिर भएर निस्किए । ओली सरकारले देशमा कम्युनिस्ट सरकार रहेको आचरण तथा नतिजा दिन सकेन । यद्यपि ओलीको बर्हिगर्मनका लागि रोदन व्यक्त गर्दैगर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका आकाङ्क्षी भनिएका अन्य कोहीसँगसमेत देश हित र नागरिक भलाइमा यसरी काम गर्नेछु भन्ने योजना छैन । अबको ५, १० वा १५ वर्षमा देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवर्तन कुन गति र आयतनमा हुन्छ भन्ने आँकलन छैन । कम्युनिस्ट नेता वा उनीहरूको वादसँग के योजना छन् जसले ‘किसानको आय प्रतिव्यक्ति पचास हजार डलर होस् ? व्यापार नाफा होस्, साक्षरता सय होस्, औसत आयु ८० बनोस्, कर्मचारी नागरिकका सहयोगी बनुन् । शिक्षा स्वास्थ्य सुलभ, सहज र गुणस्तरीय हुन् । रोजगारी तथा विकास निर्माणले गति लिओस् । नयाँ उद्योग खुलुन्, सबैमा देशपे्रम जागोस् । नेपाल न्यून भ्रष्टाचार हुने पाँच वा दश प्रथममा पर्न सकोस्’ । न त यस्तो सोच छ न त शक्ति ।

दुर्भाग्य अहिले हामा नेताहरू ‘लिडर’बाट ‘डिलर’मा परिणत भएका छन्, उनीहरू राजनीतिलाई व्यपार ठान्छन्, नाफामा तल्लीन छन् । बलत्कार सामन्य ठान्छन् र भइरहेने बताउँछन् । भ्रष्टाचार तथा तस्करीलाई दर्शन मान्छन्, घुस कमिसनखोरीलाई अमृतझैँ पिउँछन् । कसैले उनीहरूको विरोध गरे विदेशी दलालको आरोप लाउँछन् । नवउदारवादका विकृत स्वरूप तथा पुँजीवादी प्रचलनका पतीत प्रावधानहरूलाई विभिन्न माध्यमबाट देशभित्र आयात गर्छन् । उपभोक्तावाद तथा क्रोनी क्यापिटलिजमको विस्तारलाई सहज हुनेगरी नियम बनाउँछन्, साम्राज्यवादी आचरण देखाउँछन्, हरेकमा मुनाफा खोज्छन्, सबैको स्रोत र साधन आफना लागि दोहन गर्न चाहन्छन् । सिन्डिकेट र सेटिङमार्पmत आप्mना हनुमानहरूलाई राज्यसत्ताको पहुचमा ल्याउँछन् । परिवारवाद उनीहरूको अन्तिमध्येय हुन्छ, उनीहरूले शोसक तथा सामन्ती भनेका राजा महाराजाहरूले त्यति राज्यको दोहन गरेनन् होला जति उनीहरू आफ्नो र परिवारका लागि गर्छन् । देश बनाउन हैन, आफू बन्नु मात्र उनीहरूको ध्येय हुन्छ । देश बनाउने योजना, क्षमता र इच्छा शक्तिका हिसाबले अहिलेका अधिकांश नेताहरू टाढ पल्टिएका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, पँुजी पलायन वा प्रवद्र्धन, सामाजिक सुरक्षा, आन्तरिक सामाजिक मानव सद्भाव, सहायता, शान्ति सुरक्षा अनि अमनचयन, सडक, सञ्चार, विद्युत् र विकास जस्ता आवश्यक पक्षहरूमा सघन सकारात्मक सुधार ल्याउने कुनै ठोस योजना कसैमा छैन । भोकमारी, महामारी, बेथिति, सामाजिक अपराध, मानवीय विचलनतालाई पूर्ण उन्मूलन गर्ने तयारी तथा कार्यक्रम छैन । तत्कालीन आवश्यकता र दीर्घकालीन विकासका छुट्टाछुट्टै आयोजनाहरू रप्mतारमा सञ्चालन गर्ने दृष्टिकोण छैन । भाषणमा भने सिङ्गापुर र स्विजरल्यान्ड अथवा सुखी नेपालीका स्वपनदर्शी रोमञ्चकता भजाउँछन् । नागरिक हित अनि समर्पणभन्दा सत्ता र शक्तिको लोलुपता नै बढी देखाउँछन् । कसैलाई हटाएर आउन चाहनेहरू पनि देश बनाउन हैन, आफू बन्न आउँदैछन् । जनताका लागि लड्न नभई जनता लडाउन उद्यत हुन्छन् ।

उनीहरूले सबै समानको नारा लगाउने भनेको त आफूलाई असमान बनाउन अस्त्र मात्र हो । जर्ज अरवेलको पुस्तक ‘एनिमल फार्म’मा देखाइए जस्तै चरम र क्रूर अवसरवाद आजको कम्युनिस्ट आन्दोलनमा व्याप्त छ । तसर्थ नीति र जीवनमा ठोस परिवर्तन नल्याउन जेल अहिलेको नेकपा वितण्डामा एक पटक जुट वा फुट जे भए पनि त्यो लुटको विश्वासिलो आधार बन्ने र बनाउने प्रयास हो । नागरिक भलाइ तथा देश हितका लागि भने उनीहरूको जुट वा फुट कागलाई बेल पाके जस्तो मात्रै हुन्छ । यही आचरणले नेकपा जुटेमा वा फुटेमा पनि केही अनुपम र उदाहरणीय भइहाल्ने अवस्था छैन । कसैको आडम्बरलाई जोगाउँला तर कम्युनिस्ट आचरणलाई जोगाउन सक्ने ल्याकत देखिँदैन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.