आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक सवारी साधन सञ्चालन गर्ने विषयमा यातायात व्यवसायी बीचमै विवाद

आइतबार, ०४ साउन २०७७, १८ : ०३
आइतबार, ०४ साउन २०७७

काठमाडौं । सार्वजनिक सावारी साधन सञ्चालन गर्ने कि नगर्ने भन्ने सम्बन्ध यातायात व्यवसायीहरु बीचमै विवाद उत्पन्न भएको छ ।  आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुको एउटा समूहले भोलि (सोमबार)बाट यातायात सञ्चालन गर्ने बताएलगत्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको तर्फबाट महासचिव सरोज सिटौलाले सोमबारबाट सवारी सधान चलाउने कुनै निर्णय नभएको दाबी गरेका छन् । सिटौलाको यो प्रतिक्रियासँगै सार्वजानिक सवारी साधान चलाउने विषयमा व्यवसायीहरुबीचको विवाद बाहिर आएको हो ।
आइतबार विभागमा सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालको नेतृत्वको टोलीले सोमबारदेखि सवारी साधन सञ्चालन गर्ने सहमति गरेको थियो ।  सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सार्वजनिक सवारी सञ्चालन गर्न तयार भएको  विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिएका छन् ।

त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनले बताए । तर महासङ्घले भने यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको छ । मजदूरको कोरोना बीमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासङ्घका महासचिव सिटौलाले जानकारी दिए । 

केही दिन पहिले मात्रै काठमाडौँ उपत्यकाका केही स्थानीय तहका प्रमुखसँग सवारीसाधन चढ्नु पहिले हात धुनका लागि साबुनपानीको व्यवस्था कसले गर्ने भनी छलफल भएको थियो । उनले भने, “सार्वजनिक सवारीसाधनबाट सङ्क्रमण नफैलियोस् भनेर तयारी गरेर मात्रै चलाउने गरी हामी नियमित छलफलमा छौँ ।”

केही दिन पहिलेदेखि काठमाडौँ उपत्यकालगायतका शहरमा केही सार्वजनिक सवारीसाधन सञ्चालनमा छन् । देशभरमा अधिकांश सवारीसाधन भने सञ्चालनमा छैनन् । कोभिड–१९ को सङ्क्रमण फैलिएको समयमा सवारीसाधन सञ्चालनका लागि विभागले गत महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासङ्घले बताउँदै आएको छ । कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै सवारीसाधन सञ्चालन गर्ने वातावरण नबनेको सिटौलाको भनाइ छ । 

मजदूरको स्वास्थ्य बीमा, कुनकुन ठाउँबाट यात्रु चढ्ने, हात धुने ठाउँको व्यवस्थालगायतका विषयमा बृहत् तयारी गरिरहेको उनको भनाइ छ । उनले भने, “सार्वजनिक सवारीसाधन सञ्चालन कसरी हुनेछ भनी हामी चाँडोभन्दा चाँडो पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेछौँ ।” काठमाडौँ उपत्यकामा साझा यातायात, सुन्दर यातायात, संयुक्त यातायातलगायतका केही कम्पनीले भने थोरै सङ्ख्यामा बस सञ्चालन गर्न थालेका छन् । सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णयपछि व्यवसायी र मजदूर सङ्गठन नियमित विभागसँग छलफल गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप