केन्द्रीय संस्करण

अब पालो ‘डिजिटल व्रत’ बस्ने

person explore access_timeसाउन ४, २०७७ chat_bubble_outline0

डिजिटल टेक्नोलोजीको यो युगसँगै इन्टरनेट हरेक मानिसको एक आधारभूत आवश्यकता बनिसकेको छ । विश्वको कुल जनसङ्ख्याको ५९ प्रतिशतभन्दा बढी जनसङ्ख्या लगभग ४.५७ बिलियन मानिस इन्टरनेटको प्रयोगकर्ता भएका छन् । यसको प्रयोगका लागि न कुनै ठोस मापदण्ड नै छ न त कुनै उमेरको हदबन्दी नै छ । एउटा आमाको काखमा हुर्किंदै गरेको दुधे बालकदेखि कपाल फुलेर दाँत झरिसकेका वृद्धसमेत डिजिटल टेक्नोलोजी र इन्टरनेटको मज्जा लिइरहेका हुन्छन् । आजकल प्रायजसो मानिसको दिनको सुरुवात नै एउटा आँखा खोलेर फोनको नोटिफिकेसन चेक गरेपछि सुरु भएर फोन अथवा अन्य डिभाइस चलाउँदै निदाए पछि अन्त्य हुने गरेको छ ।  मोबाइल र टिभीमा लगाइने कार्टुन एउटा खाना खान अटेरी गरेको  काखे बालकलाई फकाउने माध्यम बनेको छ । युवा अवस्थाको जनसङ्ख्याको त कुरै छोडौँ । डिजिटल टेक्नोलोजी र इन्टरनेटको सदुपयोग भन्दा पनि दुरुपयोगको ठूलो जालोमा फसिसकेका युवाहरु मुख्य त सोसल मिडियामा बढी समय व्यतित गरिरहेका हुन्छन् । फेसबुक र इन्स्टाग्राम जस्ता सोसल मिडियामा एउटा फोटो पोस्ट गरिसकेपछि मिनेट मिनेट मा नोटिफिकेसन चेक गर्नेदेखि युटुब र टिकटकमा भिडियो बनाएर कति भ्युज र लाइक्स चेक  गर्नमै व्यस्त देखिन्छन् अहिलेका युवा । डिजिटल टेक्नोलोजी र इन्टरनेटको माध्यमले हाम्रो दैनिकी सहज  भएको पनि छ ।  सजिलै हरेक कुराको जानकारी विश्वको जुनकुनै कुनामा बसेर लिन सकिन्छ ।  शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन हरेक विधामा टेक्नोलोजीको प्रयोगले आजको विश्व साँघुरो बनिसकेको छ । यसको अर्काे पाटो मूल्याङ्कन गर्ने हो भने टेक्नोलोजी र इन्टरनेटको दुरुपयोग दिनानु दिन बढ्दो छ । यी सबै कुराहरुको फाइदा बेफाइदा केलाउँदै जाँदा अबको आवश्यकता बनेको छ डिजिटल फास्टिङ (व्रत) ।

यो डिजिटल फास्टिङ भन्नाले कुनै पनि व्यक्तिले स्वेच्छाले आफूले प्रयोग गर्ने डिजिटल टेक्नोलोजीका विभिन्न माध्यम र साधनबाट केही समय टाढा बस्नु भनेर बुझिन्छ । केही समययता मनोचिकित्सक र मनोवैज्ञानिकको अनुसन्धानमा डिजिटल टेक्नोलोजी र इन्टरनेटको दुरुपयोग एक कुलतको रूपमा स्थापित भएको देखिन्छ । हाल आएर मानिसमा यस प्रकारको कुलतबाट मुक्त हुनका लागि परामर्श र उपचारका खोजी दिनानुदिन बढ्दो छ । अनेकौँ मानिस टेक्नोलोजी र इन्टरनेटको दुरुपयोगले डिप्रेसन, एन्जाइटी, सुस्तपन, एक्लोपनमा रमाउने, आलस्यता, निन्द्रामा गडबडी, एडीएचडी जस्ता मानसिक रोगको तारो बनिसकेका छन् । यो समस्याको अलावा आँखामा समस्या, मोटोपना, आत्महत्या, अपराध, झैझगडा, पारिवारिक फुटका साथै अस्वस्थ प्रतिस्पर्दा बढ्दै गएको सहजै  देख्न सकिन्छ । अहिलेसम्म  गरिएका विभिन्न अनुसन्धानको आधारमा हेर्ने हो भने स्मार्ट फोन जस्ता टेक्नोलोजीको प्रयोग गर्ने मानिसमा गाबा र ग्लुटामेट जस्ता  दिमागमा उत्पन्न हुने केमिकलको असन्तुलनले  गर्दा विभिन्न मानसिक समस्या देखिएको पाइएको छ । यति मात्र नभई यस्ता उपकरणको धेरै प्रयोग गर्नाले धेरै खालका विकिरण उत्पन्न हुन गई स्वास्थ्यमा थप क्षति हुन जान्छ । तसर्थ यो दुरुपयोग वा सही सदुपयोगको बारेमा समयमै सोच्न सकिएन भने कुनै न कुनै मानसिक तथा शारीरिक समस्याबाट हामी पक्कै पनि टाढा हुन सक्दैनौँ ।


डिजिटल फास्टिङ र इन्टरनेट फास्टिङ कसरी गर्ने भन्ने ठोस मापदण्ड त अहिलेसम्म  पूर्ण रूपमा विकास भइसकेको छैन तापनि धेरै अध्ययन र अनुसन्धानका आधारमा केलाउने हो भने कसैले दिनको निश्चित घण्टा त कसैले हप्ताको निश्चित घण्टा साथै  कसैले महिनाको निश्चित घण्टाको  समय मात्र डिजिटल उपकरणमा दिएको पाइएको छ । वैज्ञानिकहरुले सुझाए अनुसार २ वर्षभित्रका बच्चाहरुलाई स्क्रिन प्रयोग गर्न नदिने, त्यस्तै २ देखि १२ वर्षसम्मका उमेर समूहलाई दिनको १ घण्टा मात्र र १२ वर्षभन्दा माथिको उमेर समूहलाई दिनको २ घण्टा मात्र स्क्रिन प्रयोग गर्न सकिन्छ भन्ने एउटा सुझाव छ ।


जति सजिलै हामी टेक्नोलोजी र इन्टरनेटको लतमा फस्छौँ त्यसबाट छुटकारा पाउन त्यति नै कठिन छ । सबैभन्दा पहिले आफूले सदुपयोग अथवा दुरुपयोग गरिराखेको कुराको मनन गर्न जरुरी छ । यी सबै कुराको मनन गरिसकेपछि  आफूमा सकारात्मक ऊर्जा मिल्ने कुरालाई प्रेरणाको स्रोत बनाउनु उपयुक्त देखिन्छ । जस्तै प्रकृतिमा रमाउने, आफन्तजन तथा परिवारलाई बढी समय दिने, योग ध्यान गर्ने, अफलाइन अन्तक्र्रिया बढाउने, तनावबाट टाढा बस्न प्रयास गर्ने, कुनै काममा नकाइ वा ढिलासुस्ती नगरी फत्ते गर्ने, सीमित सामाजिक सञ्जालमा मात्र आबद्ध हुने, समय समयमा बाहिर निस्किराख्ने (हाइकिङ वा मर्निङ वाक), फोन चलाउने र अरू काम समय तालिका बनाएर गर्ने जस्ता विधि अपनाउन सकिन्छ । डिजिटल फास्टिङ र इन्टरनेट फास्टिङको फाइदालाई केलाउने हो भने मानसिक र शारीरिक स्वास्थ्य दरिलो भएर जाने छ । समाजमा ब्याप्त रहेका विकृति, विसङ्गति र अपराधका घटनामा पक्कै पनि कमी आउनेछ, भोलिका  देशका कर्णधारको  पढाइमा लगाव बढ्नेछ, सामाजिक सम्बन्ध दरिलो भएर जाने छ र असल व्यक्तित्वको विकास भएर जाने छ ।

डिजिटल फास्टिङ र इन्टरनेट फास्टिङ कसरी गर्ने भन्ने ठोस मापदण्ड त अहिलेसम्म  पूर्ण रूपमा विकास भइसकेको छैन तापनि धेरै अध्ययन र अनुसन्धानका आधारमा केलाउने हो भने कसैले दिनको निश्चित घण्टा त कसैले हप्ताको निश्चित घण्टा साथै  कसैले महिनाको निश्चित घण्टाको  समय मात्र डिजिटल उपकरणमा दिएको पाइएको छ । वैज्ञानिकहरुले सुझाए अनुसार २ वर्षभित्रका बच्चाहरुलाई स्क्रिन प्रयोग गर्न नदिने, त्यस्तै २ देखि १२ वर्षसम्मका उमेर समूहलाई दिनको १ घण्टा मात्र र १२ वर्षभन्दा माथिको उमेर समूहलाई दिनको २ घण्टा मात्र स्क्रिन प्रयोग गर्न सकिन्छ भन्ने एउटा सुझाव छ । यी उपायका अलावा कुनै दिनलाई ग्याजेट डिटक्स डे भनेर छुट्याउने, मोबाइलमा चार्ज कम बनाएर राख्ने, वाइफाईलाई फर्गेट गर्ने, उपकरणहरुको नोटिफिकेसन बन्द गर्ने, स्क्रिन समय प्रयोग गर्ने, अकाउन्ट बन्द गर्ने, टाइमर सेट गरेर उपकरण चलाउने, साथीभाइ तथा आफन्तसँग हुदा फोन नचलाउने जस्ता विधि अपनाउन सकिन्छ । यी सबै कुरालाई मनन गर्दा आफ्नो पेसा नै डिजिटल टेक्नोलोजी सम्बन्धी भएका मानिसलाई पनि सोच्नुपर्ने अवस्था रहेको छ । उनीहरुलाई आफ्नो काम गरिरहँदा कामको बीच बीचमा निश्चित समय उपकरणबाट टाढा भएर पुनः काम सुचारु गर्न सकिन्छ साथै सुरक्षाका विधि जस्तै विकिरणबाट जोगिने चस्माहरुको प्रयोग पनि गर्न सकिन्छ ।

औँलाको भरमा संसार चल्ने प्रविधिको युगमा, प्रविधिको प्रयोगबाट टाढा रहने होइन कि यसबाट नजिक भईकन पनि व्यवस्थित र उचित प्रयोग गर्नुपर्छ । अधिकांश मानिसलाई कुलतसरी लागिरहेको लत हटाउन र प्रविधिलाई लाभवद्र्धक बनाउन डिजिटल र इन्टरनेट फास्टिङ अचुक उपाय हो । विकसित मुलुकहरु जस्तै जापान, अमेरिका, बेलायतहरुले युवा अवस्थामा डिजिटल उपकरणमा लत बसेका युवाहरुलाई क्याम्पहरुको आयोजना गर्ने गरेका छन् । यसरी डिजिटल फास्टिङ गर्न सुरु गरेपछि पहिला अत्यधिक प्रयोग गर्ने प्रयोगकर्तालाई समय बढी भएको महसुस हुन सक्छ । सोसियल मिडिया मा ट्रेन्डिङ र भाइरल हुने जमानामा डिजिटल फास्टिङ र इन्टरनेट फास्टिङलाई पनि ट्रेन्डको रुपमा अगाडि बढाउन सकियो भने सोसियल मिडियाको प्रयोग पनि व्यवस्थित हुने देखिन्छ । यद्यपि त्यो समयलाई उपलब्धिमूलक कार्यमा लगानी गर्न सकियो भने विभिन्न मानसिक, शारीरिक र सामाजिक समस्याबाट टाढा भएर एउटा सुन्दर व्यक्तित्व, परिवार, समाज, राष्ट्र र विश्वको परिकल्पना गर्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.