शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्घटनापछि मेलम्चीमा पानी परीक्षणको काम रोकियो

अनुसन्धान रिपोर्ट आएपछि मात्रै काम थालिने
आइतबार, ०४ साउन २०७७, ११ : ४७
आइतबार, ०४ साउन २०७७

गत असार ३० गते मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानको सुरुङमा दुर्घटना भयो । दुर्घटनामा परी दुई जनाको ज्यान गयो भने २ जना घाइते भए । खानेपानी परीक्षणका लागि पठाइएको सुरुङभित्रको अवस्था हेर्न ४ जना सुरुङभित्र प्रवेश गरेका थिए । सुरुङभित्रको गेटको ढोका फुटेर उत्पन्न भएको बाढीले हाइलक्स गाडीलाई बगाएर खोलामा पु¥याइदियो ।

सो घटनामा २७ वर्षीय इञ्जिनियर सतिस गोइत र ५६ वर्षका चालक राधाकृष्ण थापाले ज्यान गुमाए । घाइते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भइरहेको छ ।

त्यसको एकसाता अघि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर खानेपानी मन्त्री बिना मगरले मेलम्चीको सुरुङमा पानी पठाउने कामको सफल परीक्षण भएको बताउदै काठमाडौँबासीले पानी पाउने दिन टाढा नभएको बताएकी थिइन् ।

सुरुङमा पानी परीक्षणका क्रममा १५ देखि २० दिनभित्र साढे २६ किलोमिटर सुरुङ भरिएर सुन्दरीजलमा पानी झर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताएका थिए । अहिले खानेपानी मन्त्रालयले एउटा छानविन समिति बनाएर सो दुर्घटनाको अध्ययन गरिरहेको छ ।

फाइल तस्विर

कसरी भयो दुर्घटना ?

मेलम्ची खानेपानी आयोजनाले सुरुङ परीक्षणका लागि ८ दिनदेखि पानी पठाएर परीक्षण गरिरहेको थियो । ८ दिनसम्म सुरुङभित्र हालिएको पानी ४ किलोमिटरभन्दा टाढासम्म भरिएको थियो ।

आयोजनास्थलमा मुहानबाट पानी पठाउने मुख्य सुरुङ छ भने केही दुरी यता अम्बाथानबाट मुख्य सुरुङसम्म पुग्ने अर्को सुरुङ छ जसलाई अडिट टनेल भनिन्छ । अडिट टनेल मुख्य टनेल जोडिने ठाउँमा पानी छेक्ने गेट लगाइएको हुन्छ ।

सुरुङभित्र पानीको अवस्था हेर्न गएका इन्जिनियर र प्राविधिक सुरुङको गेट भत्किएपछि उत्पन्न भेलमा परेका थिए । बाढीले सुरुङभित्रबाट गाडी बगाउँदै मेलम्ची खोलामा झारेको थियो । पानीको चापले सुरुङको गेट फुटेपछि बाढीको रुप लिएर गाडी बगाएको थियो ।

पानी परीक्षणका लागि मेलम्ची खोलामा अस्थायी बाँध बाधिँएको छ । हतारमा गुणस्तीय काम नगरेका कारण दुर्घटना भएको त हैन भन्ने आशंका पनि जन्मिएको छ ।

खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा एउटा छानविन कमिटी गठन गरेको छ । गत बिहीबारदेखि १ साताको समय दिएर छानविन गर्न समय दिइएको हो ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले सुरुङको गेटमा नट बोल्टमा समस्या आएर दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको बताए । उनले भने–‘बन्द हुनुपर्ने गेट खुल्यो, नट बोल्टमा समस्या भएको देखिन्छ । प्रारम्भिक रुपमा हेर्दा नट बोल्टमा केही खराबी हो कि भन्ने छ । तर, रिपोर्ट नआइकन यस्तो भयो भन्न सक्ने अवस्था छैन ।’

आयोजना स्थलमा दुर्घटना भएपछि अहिले पानी परीक्षणको काम रोकिएको छ । आयोजनामा काम छिटो सक्न गुणस्तरीहीन काम नभएको उनले बताए । परामर्शदाताले दिएको विवरणका आधारमा ठेकेदारले काम गरेको बताउँदै छानविन समितिले तयार पारेको रिपोर्टपछि मात्रै के भएको हो भन्न सकिने उनले बताए ।

खानेपानी आयोजनाको बाँकी काममा रुपमा रहेको हेडवक्र्सको काम ७० प्रतिशत काम सकिएको उनले बताए । बर्षातको कारणले काममा केही ढिला भएको उनको भनाइ छ ।

फाइल तस्विर

सांसद तामाङको माग : स्वतन्त्र रुपमा प्राविधिक परीक्षण गरियोस्

यता, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले आयोजनाको संरचनाको स्वतन्त्र रुपमा परीक्षण गर्न माग गरेका छन् । घटनापछि प्रेस विज्ञप्ति जारी गर्दै उनले आयोजनाको सुरुङको परीक्षणका क्रममा गेट फुट्नुले केही प्रश्नहरू उब्जाइदिएको उल्लेख गरेका छन् ।

सांसद तामाङले ‘परीक्षणको नाममा हतारहतार स्थानीय जनता तथा जनप्रतिनिधिहरुलाई थाहै नदिइ सुरुङमा पानी हाल्नु कतै राम्रोसँग सुरुङ वा गेटको सेटिङ नै नभई परीक्षण त गरिएन ?’ भन्दै प्रश्न गरेका छन् ।

उनले वर्षौदेखि निर्माण भैरहेको सुरुङ तथा आयोजनाको सबै संरचनाहरु नै कमजोर त बनेन भन्ने प्रश्न गर्दै सम्पूर्ण संरचनाको पुनः एकपटक स्वतन्त्र निकायबाट निष्पक्ष जाँच गर्न माग गरेका छन् । 

मेलम्ची खानेपानी आयोजना प्रमुख खत्रीले आयोजनाको गुणस्तरीयता परीक्षण भएको बताउँदै सांसद तामाङले भने अनुसार पनि परीक्षण गर्न सकिने बताए ।

उनले भने, ‘उहाँले तेश्रो पक्षबाट स्वतन्त्र रुपमा परीक्षण गर्नुपर्छ भन्न खोज्नुभएको होला । मन्त्रालयमा जानकारी गराएर त्यो काम पनि गर्न सकिन्छ । आयोजनाको भौतिक संरचनाको गुणस्तरीयता परामर्शदाता र ठेकेदार कम्पनीले जाँच गरिसकेका छन् । कोभिडका कारण विज्ञहरु स्थलगत अध्ययनमा जान नसकेपछि हामीले दिएको विवरणका आधारमा बाहिर रहेका विज्ञहरुले पनि अध्ययन गरेका छन् ।’

सरकारले यो आर्थिक वर्षभित्रमा मेलम्चीको खानेपानी काठमाडौँमा वितरण हुने दावी गरेपनि आयोजना स्थलमा एकपछि अर्को समस्या देखिनुले पुनः आशंकाहरु जन्माएको छ । यतिबेला सकिनुपर्ने आयोजनाो काम सरकार र तत्कालीन ठेकेदार इटालियन कम्पनी सिएमसीसँगको विवादका कारण झन्डै ८ महिना काम अवरुद्ध भएको थियो ।

मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुरसँग कमिसनको कुरा नमिलेका कारण सो कम्पनीले २०७५ मंसिर २९ देखि काम छोडेको बताइएको थियो भने सोही वर्ष माघ २४ मा ठेक्का सम्झौता रद्द गरिएको थियो । त्यसपछि मन्त्रालयले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई निर्माणको काम सुम्पिएको थियो ।

यो आयोजनाबाट सुरुमा १७ करोड लिटर पानी काठमाडौँ ल्याउने योजना छ । दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाको गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौँ ल्याउने योजना छ । यो खानेपानी आयोजना सुरुभएयता हालसम्म २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भइसकेको छ । बेला बेला आयोजनामा हुने विभिन्न खालका समस्याका निर्धारित मितिमा काम सम्पन्न नभइ लम्बिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप