शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेका पूर्वडीआईजी रन्जन कोइराला तीन दिनपछि छुट्दै (फैसलाको पूर्णपाठसहित)

आइतबार, ०४ साउन २०७७, ११ : ३६
आइतबार, ०४ साउन २०७७

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ । श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका कोइरालालाई अदालतका प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले ८ वर्ष ६ महिना जेल बस्दा पुग्ने फैसला गरेको हो ।

२७ पुस ०६८ मा कोइरालाले बूढानीलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरमा टिस्टुङ जंगलमा लगेर पेट्रोल छर्केर जलाएका थिए । गीतालाई रञ्जनले नै हत्या गरेको ठहरबमोजिम ८ माघ २०६८ बाट हालसम्म थुनामा बसेका कोइरालालाई जन्मकैद चर्को हुने बताउँदै कैद सजाय घटाएको हो । 

७ वैशाख २०७१ मा काठमाडौँ जिल्ला अदालतले उनलाई श्रीमतीको हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको फैसलालाई उच्च अदालत पाटनले २३ मंसिर २०७२ मा सदर गरेको थियो । त्यसविरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए । 

उक्त मुद्दाको अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्नसक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् । ८ वर्ष ६ महिना यही ७ साउनमा पुग्दैछ । त्यसपछि कोइरालाले जेलसजाय भोग्नुपर्दैन । 

‘मृतक गीता ढकाल र प्रतिवादी कोइरालाको २७ पुस २०६८ मा व्यापारका लागि पैसा मागेको कुराबाट उठेको विवादमा दुवै जनाबीच झैझगडा वादविवाद हुँदा सो अवस्थामा रिस उठी आवेगमा आई धकेल्दा भित्तामा ठोकिइ मृत्यु भएको देखिन्छ । साथै वारदात हुँदा पृष्ठभूमिको अवस्था र परिस्थितिलाई हेर्दा वारदात मृतककै कारण र जरियाबाट प्रतिवादी आदेश आई उठेको रिसबाट भएको भन्ने अवस्था देखियो । साथै ढकालको मृत्युपश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षा दिक्षालगायतका कार्यहरु अभिभावकविहीनताका कारण अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा समेत दुरगामी प्रभाव पर्न जानसक्ने भएकाले सो सजाय चर्को मूल्य पर्न जाने जस्तो चित्तमा लागेको हुँदा प्रतिवादीलाई साविक मुलुकी ऐन अ.ब १८८ नम्बर हाल प्रचलित फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) अनुसार ८ वर्ष ६ महिना कैद हुनेछ ।’ सर्वोच्चले कोइरालाको मुद्दाको फैसलामा भनेको छ ।
गत १५ असारमा भएको फैसला हालै मात्रै सार्वजनिक भएको हो । जिल्ला र उच्च अदालतबाट पाएको सजाय भुक्तान गर्न कोइराला काठमाडौँको डिल्लीबजार कारागारमा छन् । सर्वोच्चले जन्मकैदको सजायलाई ८ वर्ष ६ महिनामा घटाइदिएपछि कोइराला ३ दिनपछि जेलमुक्त हुन्छन् । 

के थियो घटना ? 
रन्जन र गीताको २०५० सालमा बिहे भयो । विवाहपछि उनीहरुबाट दुई छोराको जन्म भयो । छोराको जन्म भएपछि उनीहरुको सम्बन्धमा चिसोपना आउन थाल्यो । 

रञ्जनले चितवनकी एक युवतीसँग सम्बन्ध बढाएपछि उनीहरुको पारिवारिक सम्बन्ध बिग्रिएको हो । त्यसपछि रञ्जनले सम्बन्धविच्छेदका लागि दबाब दिए । 

सम्बन्ध नराम्रो भएपछि रञ्जनले श्रीमती गीताविरुद्ध अंशचलनमा मुद्दा हाले । गीताले रञ्जनमाथि मानाचामल भराउने मुद्दा हालेकी थिइन् । 

उनीहरु अलग–अलग बस्न थालेका थिए । २०६८ भदौमा रञ्जन ११ महिने नेशनल डिफेन्स कोर्षका लागि चीन गए । २१ पुसमा रन्जन चीनबाट नेपाल फर्किए । 

२७ पुसमा रन्जन बुढानिकण्ठ बस्दै आएकी गीताको घर पुगे । यसअघि रन्जनले गीतालाई गर्ने व्यवहारबारे बाबु हरेराम ढकाललाई पनि थाहा थियो । 

त्यसको भोलिपल्ट माइतीले फोन गर्दा गीताको मोबाइल अफ थियो । लगत्तै बाबु हरेराम छोरीको घर गए । त्यहाँ गीता थिइनन् । त्यसपछि बाबु हरेरामले माघ ६ गते प्रहरीमा जाहेरी दिए ।

त्यसको दुई दिनपछि हरेरामले आफ्नो छोरी गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खबर पाए । छोरीको हत्यामा जिम्मेवार रहेको भन्दै रञ्जनविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिए । 

अनुसन्धानको क्रममा रञ्जनले २७ पुसमै गीताको हत्या गरेर  मकवानपुरको टिस्टुङ जंगलमा लगेर पेट्रोल छर्केर जलाएको पुष्टि भयो । डीएनए परीक्षणबाट उक्त शरीरका टुक्रा गीताकै भएको पुष्टि भयो । 

फरार रहेका कोइराला ८ माघमा नागढुंगामा आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित पक्राउ परेका थिए । 

अदालतकाे फैसला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप