बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारको लागि २३ लाख रुपैयाँको सहयोग

आइतबार, ०४ साउन २०७७, ०९ : ५३
आइतबार, ०४ साउन २०७७

लण्डन । नेपाल पत्रकार महासंघद्वारा स्थापित ‘पत्रकार आपत्कालीन राहत कोष’ मा नेपाल पत्रकार महासंघ यूके शाखाले २३ लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ । शनिबार लण्डनमा जुम प्रविधिमार्फत बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त सहयोग रकममध्ये २० लाख रुपियाँ महासंघको अक्षय कोषमा राखिने छ भने बाँकी ३ लाख रुपियाँ कोरोना महामारीका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने छ ।

यसअघि तत्कालिन अध्यक्ष चिरन शर्माको कार्यकालमा भूकम्प पीडित पत्रकारको लागि नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा शाखाले १३ लाख रुपैयाँ सहयोग गरेको थियो ।

‘पत्रकार आपत्कालीन राहत कोष’ मा कम्तिमा १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्यसहित केन्द्रीय समितिको तर्फबाट ३० लाख रुपैयाँ जम्मा भइसकेको छ । पत्रकार महासंघ यूकेले सन् २०१७ आयोजना गरेको एक च्यारिटी कार्यक्रममा संकलन गरेको रकममध्येबाट २३ लाख  रुपैयाँको सहयोग गर्ने निर्णय गरेको हो ।  महासंघद्वारा आपत्कालिन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय पनि गरेको छ ।

शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको सो बैठकमा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टले कोषको उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झन्डै दुई हजार पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि ७ सय ५० भन्दा बढी पत्रपत्रिका तथा ५ ओटा एफएम रेडियो स्टेशनहरु बन्द भएको जनाए । ‘रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको हो,’ उनले भने। महासचिव विष्टले आपत्कालीन कोषमा उल्लेखनीय सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ युकेलाई हार्दिक धन्यवाद दिए ।

बेलायतमा ‘एफएनजे युके पत्रकारिता पुरस्कार’  को स्थापना

पत्रकार महासंघ बेलायत शाखाको आज बसेको बैठकले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि १ हजार पाउण्ड अर्थात करिब (१ लाख ५१ हजार रुपैयाँ) बराबर राशीको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।  शाखाका महासचिव सञ्जयभक्त कँडेलले संचालन गरेको बैठकमा शाखाका सल्लाहकारहरु भगीरथ योगी र नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, उपाध्यक्ष लीलामान शेरपुञ्जा, उपमहासचिव नरेन्द्र बस्नेत, सचिवहरु शिव भण्डारी, पूर्ण गुरुङ र डा. जगन कार्की, सहकोषाध्यक्ष रोशन मेवाहाङ, सदस्यहरु मञ्जु भण्डारी खरेल, खेमराज रानाभाट, बम सूर्यवंशीको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप