बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीलाई राहत दिनेगरी मौद्रिक नीति आएको प्रतिक्रिया

शनिबार, ०३ साउन २०७७, १५ : ५४
शनिबार, ०३ साउन २०७७

काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप भएको प्रतिक्रिया दिएका छन् । लकडाउनका कारण धरासायी बनेका व्यवसायीहरुलाई राहत दिनेगरी आएको मौद्रिक नीति स्वागतयोग्य भएको उनीहरुको प्रतिक्रिया छ । 

मौद्रिक नीतिमा आएका विषयहरु कार्यान्वयनमा आए नीजि क्षेत्रमा कोभिडका कारण देखा परेको समस्याको अधिकतम समाधान हुने उद्योगी व्यवसायीहरुको भनाइ छ । 
राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आशा नगरिएको मौद्रिक नीति आएको बताए । उनले निजी क्षेत्रबाट ४०÷४५ वटा बुँदामा सुझाव दिएको र सोही अनुसा।र नै अधिकांश विषयहरु मौद्रिक नीतिमा समेटिएको बताए । 

उनले धेरै माग सम्बोधन भएकाले मौद्रिक नीति स्वागत योग्य भएको प्रतिक्रिया दिए । मौद्रिक नीति पनि बजेट जस्तै हुन्छ की भन्ने चिन्तामा निजी क्षेत्र भएको अवस्थामा आफूहरुले दिएको सुझाव समावेस हुँदा उत्साहित भएको बताए । 
उनले बजेटमा पनि मौद्रिक नीतिमा जस्तै निजी क्षेत्रका सुझाव समेटिएको भए अर्थतन्त्रको विकास हुनेमा निजी क्षेत्रले ज्ञारेन्टी दिन सक्ने अवस्था आउने बताए । 

उनले पर्यटन, कृषि र आयात क्षेत्रमा गरिएको व्यवस्थाले निजी क्षेत्र उत्साहित भएको बताए । कोभिड १९ बाट प्रभावित क्षेत्रका उद्योगी व्यवसायीलाई समय तोकेर कर्जाको ब्याज र साँवा तिर्ने व्यवस्था राम्रो लागेको बताए । 
समग्रमा ८० प्रतिशत मागहरु सम्बोधन भएको तर ब्याजदर र स्पे्रडमा सम्बोधन हुन नसकेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग वाणिज्य उपाध्यक्ष किशोर प्रधानले महासंघले बुझाएको २८ बुँदे सुझाव अनुसार उद्योगी व्यवसायीका मागलाई सम्बोधन गरेर मौद्रिक नीति आएको बताए । 
 गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीका दुःख र समस्याहरुलाई सम्बोधन गर्ने हिम्मत राखेको प्रतिक्रिया समेत प्रधनले दिए । 

उनले भने, ‘उद्योग वाणिज्य महासंघले २८ बुँदे सुझाव नेपाल राष्ट्र बैंकमा बुझाएको थियो त्यो सुझाव प्रति नेपाल राष्ट्र बैंक बहुत पोजेटिभ छ भनेर गभर्नरले हामीलाई भन्नुभएको थियो । जुन प्रकारले हामीलाई वहाँले आश्वासन दिनुभएको थियो आज आश्वासनलाई पूर्णरुपले पुरा गरेको हामीले महसुस गरेका छौं । अहिलेको अवस्थामा हामीले के देख्यौं भने सबैभन्दा ठूलो हिम्मत क्रेडिट र इज्जत कमाउने परिवेषमा नेपाल राष्ट्र बैंकको अहिलेको गभर्नर हुनुहुन्छ । जसले हाम्रो दुःखलाई सम्बोधन गर्ने क्षमता राख्नुभयो ।’

उपाध्यक्ष प्रधानले कृषि क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत लगानी पु¥याउने, रिफाइनान्सिङमा ब्याजको क्षेत्रमा क्याटोगराइज गर्ने र बैंकहरुलाई कोटा तोक्ने विषयले निजी क्षेत्रको धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले मौद्रिक नीतिमार्फत सरकारले आफ्नो उपस्थिति देखाएको बताए । 

मौद्रिक नीतिले उद्योगी व्यवसायीहरुमा आशाको किरण जगाएको उनको भनाई छ ।  नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड १९का कारण अर्थतन्त्रमा परेको असरलाई ध्यान दिई कर्जाको रिफाइनान्सिङ र रिसेड्युअलीङ गर्ने व्यवस्था आउनु सबैभन्दा बढी महत्वपूर्ण भएको बताए । मौद्रिक नीतिमा ल्याइएका विषयहरु कार्यान्वयन गर्ने पक्षमा राष्ट्र बैंकले सर्कुलर गर्ने विषयले महत्व राख्ने उनको भनाई छ । नीतिहरु कार्यान्वयनमा ल्याएर उद्योगी व्यवसायीहरुले लाभ पाउने आवस्था आएमात्रै समग्रमा मौद्रिक नीतिले राम्रो गर्ने ढकालले बताए । 

सरकारले बजेट मार्फत समेटन नसकेका अधिकांश विषयहरुलाई मौद्रिक नीतिले समेटेको उनले बताए ।  मौद्रिक नीतिबाट ल्याइएका विषयहरुलाई मेकानिजम बनाएर, निर्देशनहरु दिएर तुरुन्तै कार्यान्वयन गर्नुपर्नेमा ढकालले जोड दिए । 

छिटो कार्यान्वयन भएमा मात्रै कोभिड १९ बाट प्रभावित उद्योगी व्यवसायीहरुले राहत पाउने उनले बताए । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भने अटोमोबाइल क्षेत्रका व्यवसायीहरुलाई मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको गुनासो गरे । सरकारले ३ सय प्रतिशत कर उठाउने तर त्यही क्षेत्रको व्यवसाय प्रवद्र्धनमा ध्यान नदिएको प्रष्ट भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप