शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोमबारदेखि ५ दिन देशभर भारी वर्षा हुने, सतर्क रहन आग्रह

शुक्रबार, ०२ साउन २०७७, १४ : २१
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं । आगामी सोमबारदेखि ५ दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग खुलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ । मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ ।

प्रदेश नम्बर १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताए । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाई छ । मनसुन सुरु हुनुभन्दा पहिले देखिनै औसतभन्दा बढी वर्षा भइरहेको उनले बताए ।

गृहमन्त्रालयमा भएको कार्यक्रममा भूगर्भविद शिव बास्कोटाले जमिन चिरा परेको र रुखहरु ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरे । पानीका मुहानहरु सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अप्नाउन उनले आग्रह गरे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तैनाथ गरेर राखिएको उनले बताए । सरकारी गैरसरकरी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको उनको भनाई छ ।

नेपालमा मनसुन सुरु भएको ३० दिन (जेठ ३० देखि असार २७ सम्म)मा मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंश लगायतका मनसुनजन्य घटनाबाट ३०दिनको अवधिमा १ सय १० जनाको मृत्यु भएको प्राधिकरणले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 

अझै ३२ जना बेपत्ता रहेका छन् भने १ सय ३२ जना घाइते छन् । विपदबाट ४ सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण २ जनाको मृत्यु भएको छ । देशका विभिन्न ३३ जिल्लामा विपद्बाट मानवीय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप