शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघमा नेतृत्वका लागि संघर्ष

‘यसखालको प्रयोगले महासंघको भविष्यमा गम्भीर धक्का लाग्न सक्छ’
शुक्रबार, ०२ साउन २०७७, ०७ : ३७
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं । कोरोनाको कहरबीच सत्तारुढ दलभित्रको विवादले मुलुकमा राजनीतिक सरगर्मी बढ्दै गएको समयमा निजी व्यावसायिक क्षेत्रमा पनि नयाँ नेतृत्वका लागि होड चल्न थालेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाको कार्यतालिका सार्वजनिक भएसँगै नेतृत्वका लागि होड चल्न थालेको हो । त्यसो त महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेका कारण अध्यक्ष पदका लागि विवाद वा प्रतिस्पर्धा छैन । विधानको त्यही प्रावधानका कारण वरिष्ठ उपाध्यक्ष पदका लागि भने उद्योगी व्यवसायीहरुबीच प्यानल बनाएरै प्रतिस्पर्धा हुन थालेको छ । यस्तो प्रतिस्पर्धाले सिंगो महासंघलाई दुई ध्रुवमा विभाजित तुल्याएको छ ।

महासंघले यही श्रावण २६ र २७ गतेका लागि संगठनको ५४औं साधारण सभा र नयाँ नेतृत्वका लागि निर्वाचनको समय तालिका सार्वजनिक गरिसकेको छ । चुनावको समयतालिका सार्वजनिक भएसँगै व्यवसायीहरु संगठनको नेतृत्व आफ्नो पक्षमा पार्न कम्मर कसेर लागि परेका छन् । संगठनमा आफ्नो पकड दरिलो बनाउन व्यवसायीहरु प्यानल नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । परिणामस्वरुप महासंघ यतिबेला स्पष्ट देखिने गरी दुई पक्षमा विभक्त छ ।

वरिष्ठ उपाध्यक्ष पदमा अहिले दुई जना मैदानमा उत्रिएका छन् । दुवैले प्यानल बनाएरै आपसमा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । एकतर्फको प्यानलको नेतृत्व चन्द्रप्रसाद ढकालले र अर्कोतर्फको नेतृत्व किशोर प्रधानले गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालको प्यानलमा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनावी मैदानमा होमिएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवारी घोषणा गरेका प्रधानको प्यानलमा भने वस्तुगत तर्फ अञ्जनकुमार श्रेष्ठ, एशोशिएटमा सौरभ ज्योति र जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

दुई प्यानलबीचको प्रतिस्पर्धामा महासंघको आगामी नेतृत्वको बागडोर सम्हाल्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भूमिका पनि निर्णायक हुनसक्ने देखिन्छ । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालले मंगलबार आफ्नो प्यानलको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छाको भूमिकाबारे पनि टिप्पणी गरे । गोल्छा खुलेरै प्रधानको पक्षमा लागेको ढकालको आरोप छ ।

यता, प्रधानले पनि गोल्छा आफ्नै प्यानमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् । तर, जुन पक्षले जिते पनि महासंघ यसरी दुई खेमामा विभक्त भएर प्रतिस्पर्धात्मक रुपमा जानु उपयुक्त नभएको महासंघका पूर्व अध्यक्षहरुको भनाइ छ ।

‘स्वच्छ प्रतिस्पर्धामा गएको भए राम्रो हुन्थ्यो’

पूर्व अध्यक्ष कुशकुमार जोशी (२०६४–२०६७)

महासंघ अस्वच्छ प्रतिस्पर्धामा जानु हुँदैन भन्ने हाम्रो मान्यता हो तर साथीहरु त्यसैगरी चुनावी मैदानमा उत्रिनु भएको छ । कोभिड–१९को विषम परिस्थितिमा हामी पूर्वअध्यक्षहरुले सकेसम्म निर्विरोध भएर जानुस् भनेका हौं र त्यसको गृहकार्य पनि गरेका हौं । तर साथीहरु तयार हुनुभएन ।

आखिर जो आए पनि संस्था र उद्योग व्यवसायीहरुकै पक्षमा काम गर्ने हो । झन् अहिलेको विषम परिस्थितिमा आउने टीमको अगाडि चुनौतीको पहाड नै छ । कोभिड–१९ ले खस्केको मुलुकको अर्थतन्त्र र स्वयम् निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने बाध्यता छ । यसले गर्दा अबको नेतृत्व त्यति सहज छ जस्तो मलाई लाग्दैन ।

जहाँसम्म प्रतिस्पर्धाको कुरा छ, विधानमै व्यवस्था भएको चुनावी प्रक्रियामा जानै नहुने भन्ने होइन, सहज प्रतिस्पर्धामा जान सकिन्थ्यो । तर त्यस्तो वातावरण बनेन । चुनावी प्रतिस्पर्धामा गए पनि अस्वच्छ प्रतिस्पर्धामा चाहिँ नगएको भए हुन्थ्यो ।

तैपनि हालका वरिष्ठ उपाध्यक्ष शोखर गोल्छाजीले नेतृत्वमा जान र काम गर्न आफ्नै टीम खोज्नु भएको छ । त्यो स्वाभाविक पनि हो । आफ्नै टीम भए काम गर्न पनि सहज हुन्छ । अर्को टीमबाट आउँदा काममा असहज पनि हुन सक्छ । त्यसैले गोल्छाजीले कुनै पक्ष रोज्नुभएको होला ।

तर यसो भनिरहँदा मैले पनि कुनै पक्ष लिएको भन्नु होला तर त्यस्तो होइन । मेरा लागि जुन पक्ष गए पनि ठिक हो । तर जो गए पनि राम्रा जाउन्, नराम्रा नजाउन् भन्ने नै हो । अब जानेले संस्था, सदस्य (व्यवसायी) र समग्र मुलुककै अर्थतन्त्र सुधार्ने गरी काम गरुन्, मेरो यही छ कामना ।

समझदारीमै नेतृत्व चयन गरेको राम्रो हुन्थ्यो

पूर्व अध्यक्ष सुरज वैद्य (२०६७–२०७०)

उद्योग वाणिज्य जस्तो व्यावसायिक संगठनमा राजनीति हुनु दुःखको कुरा हो । यसले संस्थाको साखमा नकारात्मक नजिर स्थापित हुने खतरा बढ्छ । त्यसमाथि अहिलेको कोरोना कहरको विषम् परिस्थितिमा महासंघ स्पष्ट दुई ध्रुवमा विभाजित भएर चुनावी प्रतिस्पर्धामा जानु दुर्भाग्य हो ।

यसो भन्दैमा मैले हामीले निर्वाचनको प्रजातान्त्रिक मान्यतालाई प्रयोग गर्नै हुन्न भन्न पनि खोजेको होइन । तर, सकेसम्म सहमतिमा जान सकियो भने, यसले संस्था र सदस्य सबैलाई हित गर्छ भन्न मात्र खोजिएको हो । यस पटक त्यस्तो कुनै गुञ्जायस् देखिदैन ।

यही समस्या बारम्बार आउँछ भनेर हामीले महासंघको विधानमै व्यवस्था गरेर वरिष्ठ उपाध्यक्ष नै भावी कार्यसमितको अध्यक्ष स्वतः हुने गरी विधान संशोधन गरेका थियौं । तर अहिले त्यही वरिष्ठ उपाध्यक्षका लागि लडाई भइरहेको छ, यो राम्रो होइन । आखिर नेतृत्वमा जो गए पनि काम गर्ने नै हो । म त भन्छु सकेसम्म आपसी समझदारीमै नेतृत्व चयन गरेको राम्रो हुन्थ्यो ।

यो प्रयोग राम्रो होइन

पूर्व अध्यक्ष पशुपति मुरारका (२०७१–२०७३)

अहिले महासंघमा अच्चम तरिकाले चुनावी माहोल बन्दैछ । यस्तो माहोल हामीले विगतमा देखेका थिएनौं र भोगेका पनि थिएनौं । यसले संगठनमा नै गम्भीर धक्का लाग्ने पो हो कि भन्ने डर पैदा भएको छ ।

पूर्वअध्यक्ष तथा हालको कार्यसमितिकै जिम्मेवार व्यक्तित्वको हैसियतले संस्थाको भविष्यप्रति चिन्तित छु । मुलुक नै कोभिड–१९ का कारण जर्जर अवस्थामा रहेकाले सकेसम्म महासंघको नेतृत्व आपसी समझदारीमै टुंग्याउनुपर्छ भन्ने हाम्रो चाहना थियो । अन्तिम प्रयास गर्दा पनि सहमति जुट्न सकेन । हुन त नेतृत्वकर्ता नै कुनै पक्षसँग खुलेआम फोन गरेर हिँड्न थालेपछि सहमति कसरी जुटोस् । तर, निर्वाचनमा गए पनि स्वच्छ प्रतिस्पर्धा होस् भन्ने हाम्रो चाहना थियो । तर जति कोशिस गरे पनि सफल भएनौं ।

हामीले संस्थाको विधानमै स्वच्छ प्रतिस्पर्धा र आपसी सहमतिमा जाने भन्ने स्प्रिटमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भन्ने प्रावधान राखेका हौं । तर पछिल्लो गतिविधिले त्यस्तो देखाएन ।

नेतृत्वकर्ता नै खुलेआम कुनै पक्षको वकालत गर्दै ब्यानरमै फोटो टाँसेर हिड्नु हुन्छ भने भन्ने के ? बरु यसले भविष्यमा संस्थामा नराम्रो नजिर पो बस्छ कि भन्ने डर पैदा गराएको छ । यसैगरी नेतृत्वमा जानेले आफ्नो पक्षलाई काखी च्याप्दै जाने हो भने संस्थाको भविष्य के हुन्छ ? त्यसैले यो प्रयोग राम्रो होइन । यसले संस्थामा थप ध्रुवीकरण बढाउने खतरा हुन्छ ।

भन्न चाहिँ निजी क्षेत्रकै छाता संगठन भन्ने अनि गर्न चाहिँ आफु खुशी गर्ने गरेर हुन्छ ? महासंघमा यस किसिमको गतिविधि हुनु दुर्भाग्यको कुरा हो । यसले संस्थालाई फाइदा गर्दैन । यसखालको प्रयोगले महासंघको भविष्यमा गम्भिर धक्का लाग्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप