शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनियमितताको अखडाः मेलम्ची खानेपानी आयोजना

शुक्रबार, ०२ साउन २०७७, ०७ : १६
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं - मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएदेखि २० वर्षमा २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो आर्थिक वर्षसम्म यसको खर्च २५ अर्ब २० करोड रुपैयाँ थियो। यस वर्ष ५ अर्ब ९१ करोड ९९ लाख बजेट विनियोजन भएकोमा २ अर्ब ४५ करोड १८ लाख खर्च भएको छ। बर्सेनि लागत बढेसँगै अनियमित तवरले हुने खर्च पनि उकालो लागेको देखिएको छ।

काठमाडौं उपत्यकाको खानेपानी अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न तथा काठमाडौं, मेलम्ची र मण्डन उपत्यकावासीको जनस्वास्थ्य, जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसाथ आयोजना सुरु गरिएको थियो। इटालीको निर्माण कम्पनी सीएमसी परामर्शदाता एवं आयोजनालाई जानकारी नदिई २०७५ मंसिर २९ मा निर्माणस्थल छोडी जाँदा करिब आठ महिना निर्माण कार्य अवरुद्ध भएको थियो। खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुरसँग कमिसनमा कुरा नमिलेपछि सीएमसीले निर्माण छोडेर गएको हो। सीएमसीसँगको सम्झौता २०७५ माघ २४ मा रद्द गरिएको थियो। त्यसपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण कार्य गरिरहेको छ।

सम्झौताविपरीत विदेशी मुद्रामा भुक्तानी

समिति र निर्माण कम्पनी (सीएमसी)बीच २०७० असार ३१ मा सबै रकम स्थानीय मुद्रामा भुक्तानी गर्नुपर्ने सम्झौता भएको थियो। तर निर्माण व्यवसायीलाई प्रोभिजनल समबाट २ अर्ब ९५ करोड ८९ लाख ३५ हजार भुक्तानी गर्दा ७१.९ प्रतिशत रकम विदेशी मुद्रामा भुक्तानी गरिएको छ। जसले नेपाल सरकारलाई विनिमय नोक्सानीबापत २१ करोड १३ लाख ७ हजार थप व्ययभार परेको छ। त्यो रकम असुलउपर गर्न महालेखाले निर्देशन दिएको छ।

बढी भुक्तानी

निर्माण व्यवसायीलाई १५ प्रतिशत बढी भुक्तानी दिने व्यवस्था छ। तर, २० प्रतिशत बढी भुक्तानी दिएको पाइएको छ। निर्माण व्यवसायीलाई ४६औं बिलसम्म ८ करोड १ लाख ४७ हजार बढी भुक्तानी भएको पाइएको छ। त्यो रकम पनि असुल गर्न सिफारिस गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप