मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी पहाडका मुख्य सडकमा सकस

बिहीबार, ०१ साउन २०७७, १५ : ५१
बिहीबार, ०१ साउन २०७७

पाँचथर । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण रोकिएका यहाँका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी साधन सञ्चालन हुन नसकेपछि सर्वसाधारणलाई सकस भएको छ ।

पछिल्ला दुई वर्षमा यहाँका अधिकांश मुख्य ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रका काम शुरु भएको छ ।  कुनै पनि सडक कालोपत्र गर्ने चरणमा पुगिसकेका छैनन् । निरन्तरको वर्षाले निर्माणाधीन सडकमा सवारी सञ्चालनमा गर्न कठिन भएपछि ग्रामीण क्षेत्रका बिरामीलाई उपचारमा लैजान, गाउँमा खाद्यान्न ढुवानी गर्न तथा ग्रामीण क्षेत्रमा उत्पादित सामग्री बजारसम्म पु¥याउन समस्या भएको छ ।

हिलाम्य सडकमा सवारी फस्ने, दुर्घटनाको सम्भावना उच्च हुने तथा सवारीमा क्षति हुने भएपछि यातायात व्यवसायी तथा चालकसमेत सवारी चलाउन तयार छैनन् । ग्रामीण सडक विस्तार तथा स्तरवृद्धिका काम धमाधम चलिरहेका समयमा कोरोना भाइरसको महामारी तथा बन्दाबन्दी शुरु भएपछि सबै आयोजनाको काम अगाडि बढ्न सकेको छैन । अधिकांश निर्माण कम्पनी सडक निर्माणका कामलाई यथास्थितिमा छाडेर हिँडेका छन् । अधिकांशले कामदारलाई घर पठाएका छन् । 

जिल्लाका फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकासहित पूर्वी पहाडका इलाम र धनकुटासमेत जोड्ने राँके–रवि–भेडेटार सडकमा सवारी सञ्चालन नहुँदा उक्त क्षेत्रका सर्वसाधारणमा मारमा परेका छन् ।  कोभिड–१९ को महामारी तथा बन्दाबन्दी शुरुआत भएसँगै १०१ किलोमिटर लामो सो सडक निर्माण गरिरहेको भारतीय कम्पनी काम छाडेर हिँडेको छ । बन्दाबन्दीसँगै निर्माण रोकिएपछि सडक समस्याग्रस्त भएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङको भनाइ छ ।  “निर्माणाधीन सडकलाई हाम्रो लगानीले मात्रै सुधार गर्न सकिने अवस्था नरहेकाले समस्या परेको छ”, कुरुम्बाङले भने ।

अहिले अत्यावश्यक काम पर्ने कतिपय सर्वसाधारण हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । सदरमुकामबाट उत्तरपूर्वी क्षेत्र जोड्ने फिदिम–फालोट सडक तथा दक्षिणपश्चिम जोड्ने फिदिम–यासोक–मौवा सडक हिलाम्य भई सवारी सञ्चालनमा समस्या परेको छ । बन्दाबन्दी केही खुकुलो भएसँगै निर्माण कम्पनीले नाली तथा पर्खाल निर्माणका काम थालेका छन् ।  तत्कालै सडकको अवस्था सुधार हुन सक्ने अवस्था छैन । विस्तार र स्तरोन्नतिको कार्य चलिरहेका सडकमा निरन्तरको वर्षासँगै ठूल्ठुला खाल्डाखुल्डी परेका छन् । 

तुम्बेवा गाउँपालिका– ३ का वडाध्यक्ष कमल थापाले भने, “विस्तारका लागि भत्काइएका सडकको अवस्था दयनीय छ । सवारी फस्ने, बिग्रने समस्या छ । ग्रामीण क्षेत्रका बिरामीलाई उपचारमा लैजान निकै कठिन छ ।” ग्रामीण क्षेत्रका शाखा तथा अन्य सडक भने स्थानीय तहको लगानीमा मर्मतसम्भार भएका छन् । तुलनात्मकरुपमा ग्रामीण क्षेत्रका शाखा सडकभन्दा मुख्य ग्रामीण सडकमै सवारी सञ्चालनमा कठिनाइ परेको सवारी चालकको भनाइ छ । यस वर्ष निरन्तर वर्षा भइरहेकाले सडकमा थप समस्या देखिएको सवारी चालक मीनबहादुर तामाङको भनाइ छ ।  “यस वर्ष वर्षासँगै ढुवानीका साधनसमेत सञ्चालनमा आए । यसबाट कच्ची सडकमा थप क्षति भयो”, उनले भने ।

निर्माणाधीन तमोर करिडोर सडकका कारण जिल्लाका कुम्मायक र तुम्बेवा गाउँपालिकाको तमोर नदी तटीय क्षेत्रका सर्वसाधारणले भने केही सुविधा पाएका छन् । वर्षाले उक्त सडकमा कम प्रभाव पारेको छ भने कोभिड–१९ को महामारी र बन्दाबन्दीको समयमा समेत निर्माण नरोकिएको उक्त सडक हेर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेको भनाइ छ । उक्त सडकबाट धनकुटाको मूलघाट हुँदै सुनसरीको धरान पुग्न सकिन्छ । 

‘उक्त सडकबाट तराई झर्नेभन्दा सदरमुकाम जानेको सङ्ख्या उल्लेख्य हुने गरेको छ’, तुम्बेवा–३ का वडाध्यक्ष थापाले भने, “जसकारण धेरै समस्या भोग्नुपरेको छ । मैले भतिजोलाई उपचारमा झापा पठाउन तीन वटा सवारी साधन बदल्नुप¥यो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप