विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण
चितवन । कुखुरा पालक कृषकलाई विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण र सहकारीमार्फत आवश्यक सामग्री बिक्री एवं कच्चा पदार्थ खरिदमा सहयोग गरिने भएको छ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले भरतपुरको रामनगरमा रहेको आफ्नो जग्गामा बहुउद्देश्यिय भवन निर्माण गरि ती काम गर्न लागेको हो ।
सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार रामनगरमा रहेको तीन कठ्ठा चार धुर जग्गामा अलगअलग भवन बनाइने छ । चार तलाको ती भवनमा अण्डा राख्न शीतभण्डार, अण्डा उत्पादक कृषक मात्र रहेको सहकारीका पसल सञ्चालन हुने छन् । सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओलीको अध्यक्षतामा नेपाल अण्डा उत्पादक कृषि सहकारी दर्ता गरिएको छ । शीतभण्डारका लागि प्रदेश सरकार र सङ्घीय सरकारले बजेट विनियोजन गरीसकेको केसीले जानकारी दिए । उनका अनुसार वाग्मती प्रदेशले फरक फरक शीर्षकमा रु दुई करोड र सङ्घीय सरकारले रु ६९ लाख विनियोजन गरेको छ । काम गर्दै जाँदा आवश्यक पर्ने रकम थप गरिने आश्वासन पाएको केसीले बताए ।
सङ्घका उपाध्यक्ष एवं सहकारीका अध्यक्ष ओलीका अनुसार शीतभण्डारमा एक लाख पेटी अण्डा भण्डारण गर्न सकिने छ । तापक्रम मिलाएर छोटो समयका लागि अण्डा राख्न मिल्छ । जसले गर्दा समयमा बिक्री नभएर अण्डा नष्ट हुनबाट जोगिने हुन्छ । ओलीका अनुसार सङ्घका सदस्य सहकारीमा रहनेछन् । सहकारीमार्फत अण्डा उत्पादक कृषकलाई आवश्यक चल्ला, औषधि, दाना, भाँडा, प्राविधिक परामर्शसँगै अण्डाको बजारीकरणमा पनि सहयोग गरिने उनले बताए ।
कृषकलाई आवश्यक पर्ने सामग्री र अण्डा बिक्री गर्दा भएको विचौलियाको बिगबिगीलाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा सहकारीले काम गर्ने उनले जानकारी दिए । नेपाल अण्डामा आत्मनिर्भर रहेको छ । हाल दुई हजार ७०० भन्दा बढी कृषक यस पेशामा आबद्ध छन् । एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अण्डा क्षेत्रमा मात्र रु ४० अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।
बजार मूल्यमा एकरुपता नहुँदा धेरै यो पेशाबाट विस्थापित भई सकेको केन्द्रीय अध्यक्ष केसी बताउँछन् । उनले भने, ‘हामी विचौलियाको दबदबालाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा काम गर्न लागेका छौँ ।’ केसीले कृषि तथा पशुपक्षी मन्त्रालय र वाग्मती प्रदेशको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका मन्त्रीज्यूहरु आफैं सकारात्मक र कृषकको पक्षमा तत्काल काम गर्नुपर्छ भन्नेमा रहेकाले सङ्घलाई बल पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता