केन्द्रीय संस्करण

गर्भमै बलात्कृत कस्तुरी

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline0

-कमला सिग्देल

जननी धर्ती धीरताको खानी ममतामयी भनेर सदा चर्चा पाएको शब्द हो आमा । अनि कुनै ठाउँमा सुरक्षित हुन नसकेको प्राणी पनि यिनै आमा हुन् । जिन्दगी जिउने सिलसिलामा परिआएका अप्ठ्यारा बाधा अनि चुनौतीहरूको सामना गर्नुपर्दा धेरैको मुखमा आउने शब्द पनि आमा हो । तपाईंको घरमा पक्कै पनि छोरी छन्, यदि छोरी छैनन् भने दिदीबहिनी छन् । ती पनि छैनन् भने बुहारी, अनि तपाईंकै पत्नी त अवश्य छन् ।

यी सबै अवतारहरू नारीरूपी आमाकै हुन् । पुरुषले बलात्कारको घडी बिर्सन्छ, बलात्कृत नारी पनि कसैकी आमा हुन्, हरेक पुरुषको जन्म नारीबाट हुन्छ तर किन बिर्सन्छ पुरुष बलात्कृत नारी पनि कसैकी छोरी हुन्, बुहारी अनि आमा हुन् भनी । नेपाली चेलीहरू सुरक्षित रहन सक्ने ठाउँ कुन होला ? कहिले बन्धक बनाएर बलात्कार, कहिले गिरोहद्वारा सामूहिक बलात्कार, कहिले जाहेरी दिन जाँदा उल्टै प्रहरीबाट, न त छोरी बचेका छन् न त दिदीबहिनी । यस्तो दुःखद् परिस्थितिको अन्त्य कहिले, कसरी, कसले गर्ला ? शिवसँग पार्वती, रामसँग सीता, कृष्णसँग राधा जोडिएका हुन्छन् किनकि एकबिना अर्को अधुरो र अपूरो मानिन्छ । पुरुषलाई महिला, महिलालाई पुरुषको साथ चाहिन्छ यो सत्य कुरा हो । तर कसैले कसैको शरीरलाई खेलौना बनाई मिल्काउनु जघन्य अपराध हो । 

बाबा हजुरले हिजो बेलुका मलाई सुनाउनुभएको कविता अझै सकिएको छैन । आज सुनाउनु न... छोरीले सुत्ने बेलमा जिद्दी गर्न थाल्छे आफ्नो प्यारो बाबासँग । पेसाले कस्तुरीका पिता शिक्षक थिए । दिनभरीको विद्यालयको काम काजले थाकेका बाबाले आफ्नी फूलजस्ती कोमल मृगनयनी अनि अनमोल मायाले कुँदिएकी छोरी कस्तुरीलाई सदा महाभारतको कथा सुनाउँथे । 

भगवान श्रीकृष्ण र सुदामा अत्यन्त मिल्ने मित्र थिए । एक दिन उनीहरू जङ्गलमा खेलिरहेका थिए । कृष्ण भगवानकी आमाले खाजा खान भनी एउटा पोको दिनुभयो र भन्नुभयो बाब भोक लागेपछि खाजा दुवैले बराबर बाँडेर खानू । केही समयपछि पानी पर्न थाल्यो खेल्दा खेल्दै कृष्ण भगवान कता पुग्नुभएछ ? सुदामाले केही पल पर्खे तर भोक खप्न सकेनन् । त्यसैले आधा खाएर आधा कृष्णलाई पोको पारेर राखिदिए । समय धेरै बितिसक्दा पनि कृष्णको अत्तो पत्तो भएन । सुदामाले बाँकी रहेको खाजा पनि खाए । तर कृष्ण भगवान फर्केर आएनन् । उनी आफ्नो दरबारमा गएर राज गरे । कृष्णका साथी सुदामा अत्यन्त गरिब भएको हुनाले दुईका बीचमा दरार उत्पन्न भयो । भनिन्छ अर्काको भागमा लोभ गरेका हुनाले सुदामा लोभी भएका हुन् । 

रातको दस बजिसकेको थियो । कस्तुरी फ्वाँ–फ्वाँ गर्दै निदाएकी हुन्छे । उनको पिताले छोरीलाई पातलो कपडा ओडाई सजिलो गरी सुताउँछन् अनि आफू पनि मीठो निन्द्रामा हराउँछन् । बिहानको नित्य कर्म सकाएपछि कस्तुरीका पिता भान्छामा खाना अनि दिउँसोको खाजा बनाउन थाल्दछन् । छोरी उठेर बाबालाई सघाउन खोज्छे तर झनै काम बिगारिदिन्छे । नुन, मसला, बेसार भएको सन्दुकलाई एकै ठाउँमा मिसाइदिन्छे । बाबा रिसले चूर हुन्छन् अनि चर्को आवाजमा गाली गर्न थाल्दछन् । कस्तुरी सुँक्क सुँक्क गर्दै रुन थाल्छे । पलभरमै पिताको आँखा रसाउँछन् ।

छोरीलाई सुम्सुमाउँदै काखमा लिएर भन्छन्, “नानी यस्तो काम गर्न हुन्न नि ! हेर अब स्कुल जान ढिला हुन्छ ।” यति भनेर छोरीलाई काखमा राखेर खाना खुवाउँछन् अनि विद्यालयको पोसाक लगाइदिएर छोरीलाई दिउँसोको खाजा हातमा थमाइदिन्छन् । छोरी हात हल्लाउँदै विद्यालय प्रस्थान गर्छिन् । बाबा चुल्होचौको सकाएर हतार हतार गरी विद्यालयतर्फ लाग्छन् । विद्यालयको गेटमा पुग्दा पालेले गेट बन्द गरिसकेको हुन्छ । उनी एकछिन केही नबोलीकन बाहिर उभिन्छन् । राष्ट्रिय गानको कार्यक्रम सकाएपछि विद्यालयका प्र.अ. गेटतर्फ आउँछन् र गेट खोल्न लगाई भुनभुनाउन थाल्छन् ।

“समयमा विद्यालय नआउने शिक्षकलाई के भन्नु ? विद्यालयको अनुशासन आफैले बुझ्नुपर्छ मनपरी चल्दैन अब ।” कस्तुरीका बाबा माफी माग्दै विद्यालय प्रवेश गर्छन् । खिन्न मन लिएर दिवाकालीन सेवामा समर्पित हुन्छन् । ४ बजेपछि घण्टी बज्छ अनि आफ्नो डेरातर्फ प्रस्थान गर्छन् कस्तुरी र उनका पिता । 

राति सुत्ने बेलामा कस्तुरीले आफ्नो पितालाई “बाबा ! भोलि कक्षामा मिसले ‘साथीको महत्त्व’ बारे पाँच पाँच वाक्य बनाउन जान्ने भएर आउने है भन्नुभएको छ । कृष्ण र सुदामा पनि असल साथी थिए नि है बाबा ! मैले हजुरले हिजो भन्नुभएको कृष्ण र सुदामाको बारेमा नै पाँच वाक्य बनाएर लिएर जान्छु । अब हिजोको बाँकी कथा सुनाउनु न त !

कृष्ण भगवान मनोरम महलमा राजा भएर राज्य सञ्चालन गरेका थिए भने सुदामा बिहे गरेर पारिवारिक भएका थिए तर बिहेपश्चात सुदामालाई हातमुख जोर्न पनि हम्मे हम्मे थियो । त्यसै बखत सुदामाकी श्रीमतीले सुदामालाई भन्छिन्, ‘तपाईंको साथी कृष्ण भगवान निकै नै धनवान, रूपवान अनि मनकारी हुनुहुन्छ रे । उहाँलाई एकपटक भेट्नुस्... केही उपाय निस्कन्छ कि ?” सुदामाले पत्नीको कुरा मनमा लिन्छन् । सुदामालाई कृष्णलाई भेट्न जान रहर जागेर आयो तर भेट्न जाँदा लाने कोसेली केही थिएन । श्रीमतीले कोसेलीको रूपमा अलिकति कनिका पोको पारेर सुदामाको हातमा राखिदिन्छिन् । सुदामा कलेठी परेका वस्त्र रगमगिएको अनुहार अनि एउटा पोकोमा कनिका लिएर श्रीकृष्णको दरबार अगाडि पुग्दछन् । तर चौकीदारले भित्र पस्न दिँदैन । “म कृष्णको मित्र सुुदामा हुँ, म उहाँलाई भेट्न आएको हुँ, यो खबर उहाँसमक्ष पु¥याइदिनुस् ।” आफ्नो बारेमा बेलिबिस्तार लगाएपछि मात्र चौकीदारले सुदामा भेट्न आएको कुरा भगवान कृष्णसमक्ष पु¥याउँछ । यस्तो खबर पाउनासाथ हर्षित हुँदै कृष्ण भगवान बाहिर आउँछन् र सुदामालाई अङ्कमाल गर्छन् । सुदामालाई अङ्कमाल गर्दै उनको हातको मायाको पोको– कनिका खोलेर मीठो मानी खान्छन् । सुदामाले सबै हालचाल सुनाउँछन् ।

कृष्ण भगवानले बडो चासोका साथ सुनिरहन्छन् । सुदामा कृष्णसँग बिदा भएर आफ्नो घरतर्फ प्रस्थान गर्छन् । उनी घर पुग्दा पहिलेको कुटी महलको रूपमा पाउँछन् । श्रीमतीले पचास ठाउँमा टालेको साडी लगाएकी थिइन् । तर त्यो साडी फेरिएको हुन्छ । यो सबै परिवर्तन देखेर पनि सुदामालाई खासै सन्तुष्टि मिलेको थिएन । सुदामा भौतिकतामा भन्दा आध्यात्मिक सुखमा आफूलाई सन्तुष्ट राख्न सक्थे । त्यसैले भौतिक सुख सयल सबै श्रीमतीले सुम्पेर देवत्व प्राप्तिका लागि गृह त्याग गर्दछन् ।   

छोरी संसारमा सबै मानिस एकै प्रकारका हुँदैनन् । कोही धन दौलतलाई सर्वस्व ठान्दछन् भने कोही मनको सम्पन्नतालाई सर्वस्व ठान्दछन् । कस्तुरीका पिता आफ्नी छोरीलाई धार्मिक, नैतिकवान बनाउनका लागि यस्ता कथाहरू सुनाइरहन्थे । कस्तुरीले प्रश्न गर्छे, “बाबा, सुदामाले जस्तै मम्मीले पनि हामी सबैलाई छोडेर जानुभएको हो ?” कस्तुरीका पिता अक्क न बक्क हुन्छन् । एकछिनपछि जवाफ दिन्छन्, “छोरी, तिम्रो ममी भगवानको घर गएकी छन् । हाम्रो समीप नभए पनि हामीलाई हेरिरहेकी छिन् । कस्तुरीले जिद्दी गर्छे, “बाबा, आज कक्षामा मिसले हामीलाई जीवन र मृत्युको बारेमा कथा सुनाउनुभएको थियो । हाम्रो ममीको पनि मृत्यु भएको रे ! मेरो साथीले भनेको । कसरी भयो बाबा सुनाउनुन ।” कस्तुरीको पिताको आँखाभरी आँसु टिलपिलाउँछ । छोरीले पुनः जिद्दी गर्छे, बाबा छोरीको हठलाई नकार्न नसकी वृत्तान्त सुनाउने हिम्मत गर्दछन् । 

पेसाले तिम्रो आमा एक स्वास्थ्यकर्मी थिइन् । हाम्रो बिहेपछि धेरै समयको प्रतीक्षापछि उनी गर्भवती भइन् । हामी दुवैको खुसीको सीमा नै थिएन । उनी काम गर्न जाने समय एकैनासको हुँदैनथ्यो । कहिलेकाहीँ राति पनि हुन्थ्यो । एकदिन उनी ढिला हुँदा पनि घर आइनन् । म र डेरा नजिकैको साथी भएर खोज्न गयौँ । बिडम्बना, उनलाई जङ्गलको छेउमा अचेत अवस्थामा भेट्यौँ । ढिला नगरी एम्बुलेन्स बोलाएर हस्पिटल पु¥यायौँ । स्वास्थ्य अवस्था निकै नाजुक भएकाले पेटभित्रको बच्चा बचाउनका लागि अपरेसन गर्नुपर्ने भयो । उनको अवस्था देख्दा बलात्कार भएजस्तो देखिन्थ्यो । उनलाई अपरेसन थिएटरमा लगियो तर अफसोच उनलाई सेतो घुम्टो ओडाएर ल्याइयो । मेरो हातमा सानो अबोध चेलीलाई सुम्पियो । केही समयमा नै बच्चीको स्वास्थ्यमा पनि असर परेको हुनाले आइसीयूमा राख्नुपर्ने भयो । ती नानी तिमी नै थियौ । एकछिनपछि पोस्टमार्टमको रिपोर्ट आयो । रिपोर्टले बलात्कार भएको पुष्टि ग¥यो । म अतालिएको थिएँ । गर्भभित्रै तिम्रो बलात्कार भएको रहेछ । पिपासु पुरुषबाट गर्भभित्र त चेली सुरक्षित रहन सकेकी छैनन् अनि बाहिर उसैको हैकम चलेको बस्तीमा तिमीलाई कसरी सुरक्षित रहन देला ? तर तिम्रो सुरक्षा गर्ने जिम्मा अब मेरो थियो । मैले मनमनै बाचा गरेको थिएँ । तिमीलाई यस्तो घटनाबाट टाढा राख्नेछु । छोरी सुक्क सुक्क गरी रुन्छे । 

कस्तुरीका आमाले अझै न्याय पाएकी छैनन् । अपराधीको खोजतलास भएको हो वा खोजतलास गरिएको जस्तै देखाइएको वा टिमलिएको हो ? यो संसार विचित्रको छ । कोही नारीलाई पूजा गर्छन् । कोही उनैको जिन्दगीसँग खेलेर नारकीय बनाइदिन्छन् । सबै पुरुषहरू एकै प्रकारका त हुँदैनन् । कोही कस्तुरीका पिता जस्तै आदर्श, नैतिक, कर्तव्यबोध, निष्ठा अनि सदाचारी पनि हुन्छन् । आदर्श पिता ती हुन् जसले सिङ्गो धर्तीलाई ओत लगाएर उनको ओजनलाई काँधमा राखेर जिम्मेवारी पूरा गर्ने तागत भएका हुन्छन् । आमा समुन्द्र हुन् भने पिता समुन्द्रको छाललाई पनि सही मार्गमा हिँडाउने किनारा हुन् र धर्तीको हरेक स्वरूपलाई स्वीकार्दै मुस्कुराएर आफ्नो काँध थाप्ने शक्ति भएको व्यक्ति नै पिता हुन् । यस्ता आदर्श पिताहरूको साथ पाउने भाग्यमानीहरू कमै छन् । 

हाम्रो देश नेपाल हजारौँ चेलीहरूको आँसुले निथ्रुक्क भिजेको छ । दिनहुँ बलात्कारका घटनाहरू घटिरहेका छन् । नारी, नारित्व र नारी अधिकारको नारा घन्काउनेहरू पनि सत्य, तथ्य उजागर गर्नको लागि ओझेलमा परेको जस्तो देखिन्छ । हजारौँ निर्मलाहरूलाई रावणको कुकर्मबाट उन्मुक्ति दिलाउनका लागि यो युगमा सत्यवादी रामको आवश्यकता छ । अरू कुरा त छोडौँ न, कोरोना लागेर मृत्यु र जीवनसँग क्वारेन्टाइनमा सिँगौरी खेल्दै गरेका चेलीहरूमाथि पनि बलात्कार भएको छ । म अनभिज्ञ छु, नारीको सुरक्षा कसले गर्ला ? छाडिएका छैनन्, दुई वर्षका बालिकाहरू, गर्भवती, सुत्केरी, अशक्त, अपाङ्ग र दृष्टिविहीन पनि । कति त आफ्नो अधिकारका लागि लडेका छन् । कति आफ्नै इज्जत जाने त्रासले दमित भएर बसेका छन् । कोही यही केसले आत्महत्या गरेका छन् त कतिलाई प्रयोग गरी निर्ममताका साथ बीभत्स हत्या गरिएको छ । आखिर यस्तो अत्याचार कहिलेसम्म सहनुपर्ने हो । कानुनमा मृत्युदण्डको प्रावधान राखियो भने पनि पुरुषको अन्तष्करणमा आत्मज्ञान नभएसम्म कुनै चेली सुरक्षित रहन सक्दिनन् । 

पुरुषलाई महिला, महिलालाई पुरुषको साथ चाहिन्छ । यो सत्य कुरा हो । त्यसैले सम्पूर्ण परम पिता परमेश्वरलाई बिन्ती गरी आमारूपी देवी नारीलाई बलात्कारको चित्कारबाट उन्मुक्ति दिने कामको प्रादुर्भाव आदर्श पिता बनेर तपाईंहरूबाट नै होस् भनी अभिव्यञ्जनाहरूलाई यो लेखमा उजागर गरिएको छ । भोलिका दिनमा आदर्श पिता कहलिने सपना हरेक पुरुषहरूको मनमा सजिएदेखि कुनै चेली पनि गर्भमा बलात्कृत हुनुपर्ने थिएन । तपाईं कस्तो पिता कहलिने, तपाईंको हातमा छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.