शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बन्ने भो ताराखोलामा बहुसाँस्कृतिक सङ्ग्रहालय

बिहीबार, ०१ साउन २०७७, १२ : २९
बिहीबार, ०१ साउन २०७७

बागलुङ । ताराखोला गाउँपालिकामा मगर बाहुल्य बसोबास छ । मगर जातिका अनेक परम्परा, रीतिथिति र पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । करिव ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगर समुदायले ताराखोलामा थातथलो बसाएका थिए । तिनै पूर्वजले बसाइँसराइ गरी आउँदा भित्र्याएका पर्व र मेला अहिले पनि चल्तीमा छन् ।

ऐतिहासिक भुस पोल्ने, भदौरे सिस्नो खोस्ने लगायतका पर्व, अनि असारे  र बर्खे मेला आदि ताराखोलाका मौलिक संस्कृति हुन् । दशैँ, तिहार जस्ता अन्य समुदायलेसमेत मनाउने ठूला चाडपर्वसँगै थुप्रै मौलिक पर्व, मेला र संस्कृतिमा यस समुदाय रमाउँछन् । 

हरेक पर्वका आआफ्नै परम्परा र विशेषता छन् । पुरानो पुस्ताले जोगाएको रैथाने संस्कृति जेनतेन धानिएको छ । संरक्षण र पुस्तान्तरण नहुने हो भने परम्परा लोप हुने खतरा छ । भविष्यमा यी चाडपर्व र मेला के हुन्छन् भन्ने चिन्ता छ । गाउँपालिकालाई समेत यस विषयले झक्झकाएको छ । मौलिक कला, संस्कृतिको उत्थान र जगेर्नामा गाउँपालिकाले प्राथमिकता दिएको छ । “बृहत् उद्देश्यका साथ बहुसाँस्कृतिक सङ्ग्रहालय बनाउने योजना अघि बढेको छ”, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने ।

परापूर्वकालदेखिको समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी सङ्ग्रहालय बन्ने उनको भनाइ छ । सङ्ग्रहालय निर्माणका लागि गाउँपालिकाले आउँदो आवमा रु। २५ लाख बजेट विनीयोजन गरेको छ । सङ्ग्रहालयका लागि वडा नं। २ अर्गलमा जग्गा व्यवस्थापन भइसकेको छ । प्रदेश र सङ्घ सरकारबाटसमेत लगानी जुटाएर यही वर्ष संरचना तयार गरिने उनले जानकारी दिए । सङ्ग्रहालय भवन दुईतले हुने छ ।

“पहिलो तलामा पुरातात्विक महत्वका वस्तु र परम्परागत सामग्री सङ्ग्रह गरिनेछ”, अध्यक्ष घर्तीले भने, “दोस्रो तलामा राजनीतिक परिवर्तनको आन्दोलनमा ताराखोलाले पु¥याएको योगदान समेटिएका तस्वीर, वृत्तचित्रजस्ता सामग्री राख्ने योजना छ ।”सङ्ग्रहालयले सिङ्गो गाउँपालिकाको इतिहास, कला, संस्कृतिका साथै ताराखोलामा रहेका सबै जातिय समुदायको पहिचानको प्रतिनिधित्व गर्ने जनाइएको छ  । सङ्ग्रहालयलाई पछि साँस्कृतिक अध्ययन, अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने सोच गाउँपालिकाको छ । बहुसाँस्कृतिक सङ्ग्रहालयले ताराखोलालाई नयाँ चिनारी दिने शिक्षक र एवं मगर अगुवा बिर्बलाल घर्तीमगरले बताए । 

“यो अत्यावश्यक थियो, गाउँपालिकाले स्वागतयोग्य कामको थालनी गरेको छ”, उनले भने, “सङ्ग्रहालयले युवा पुस्तालाई हाम्रो इतिहास र संस्कृतिबारे बुझ्न, अनुसन्धान गर्न सघाउँछ ।” साँस्कृतिक भावना र एकतालाई सुदृढ तुल्याउन पनि त्यसबाट टेवा पुग्ने उनको भनाइ छ । मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिवसमेत रहनुभएका उनले आदिवासी, जनजाति समुदायका लोपोन्मुख संस्कृतिको संरक्षणमा स्थानीय तहले अग्रसरता लिनुपर्ने बताए । संस्कृतिसँग जोडिएका कलागत सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनको जोड छ । बागलुङ नगरपालिका–७ रेश, गलकोट नगरपालिका–३ हटियालगायतका ठाउँमा पनि सङ्ग्रहालय निर्माणका लागि काम अघि बढाइएको छ । जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा भने यसअघि नै सङ्ग्रहालय तयार भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप