केन्द्रीय संस्करण
समाचार

ठप्प फिल्म क्षेत्र कसरी गतिशील बनाउने ?

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline0

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को कहर अझै दिन प्रतिदिन बढ्दो छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको औषधि पत्ता नलागिसकेकाले पनि यसको त्रास घट्न नसकेको हो ।कोरोनाको कारण सरकारले गरेको लकडाउनले फिल्मी क्षेत्र पनि ठप्प भएको थियो । लकडाउन केही खुकुलो भएर धेरै क्षेत्र संचालनमा आइसकेका छन् । सार्वजनिक यातायात समेत सुचारु भएको अवस्था छ ।
तर, फिल्म क्षेत्रको गतिविधि भने अहिले पनि ठप्प छन् । केही म्युजिक भिडियो सुटिङ बाहेकका गतिविधि हुन सकेका छैनन् । 

सरकारको पहिलो प्रथामिकतामा फिल्म क्षेत्र नपरेको कारण यो क्षेत्र अझै संचालनमा आउन सकेको छैन । फिल्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले सार्वजनिक सवारी साधन समेत सञ्चालन भइसकेको अवस्थामा फिल्मक्षेत्र पनि खोल्नुपर्छ भनेर आवाज उठाइरहेका छन् । 

फिल्मकर्मीको माग सरकारले सुन्यो भने वा फिल्मी क्षेत्र क्षेत्र खुल्यो भने पनि तुरुन्तै गतिशील हुने वा पहिलेको अवस्थामा फर्किने सम्भावना तत्काल देखिन्न । सामान्य अवस्थामै पनि आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्नु परेको नेपाली फिल्म क्षेत्रलाई कोरोनाले तहसनहस बनाएको अवस्थाबाट कसरी गतिशील बनाउने ? अहिले मुख्य प्रश्न हो । हामीले पनि यसैक्षेत्रका केही ब्यक्तिसँग फिल्म क्षेत्रलाई कसरी गतिशील बनाउन सकिन्छ ? भनेर प्रश्न राखेका थियौँ । उनीहरुको भनाइ जस्ताको तस्तैः 

रिलिजका लागि डिजिटल प्लेटफर्म
यादव खरेल (वरिष्ठ निर्देशक) 


देशको चलचित्र विकास बोर्ड भनेको फिल्म क्षेत्रका सबैसँग समन्वय गर्ने र नेतृत्व गर्ने एउटा जिम्मेवारीप्राप्त सरकारी संस्था हो । यसले फिल्म निर्माता संघ, चलचित्र संघलगायतसँग छलफल गरेर एक किसिमको पहल गर्नुपर्ने देखिन्छ ।
कोरोनाको महामारी अहिले संसारभर छ । यो कति लामो समयसम्म जान्छ भनेर अहिले भन्न सकिने अवस्था छैन । यस्तो अन्योलको अवस्थामा चलचित्र विकास बोर्डले यसक्षेत्रका सम्बन्धित संस्थासँग छलफल चलाएर निकाश निकाल्न सकिन्छ ।

अर्काेकुरो, यो लकडाउन अगाडि काम हुँदै गरेका जति पनि फिल्म रोकिएका छन्, त्यसमा धेरै थोरै लगानी पनि भैसकेका छन् । ती निर्माणाधीन फिल्महरु पुरा गर्न पहल, सहयोग दुवै गर्नु प¥यो ।
यस्तै, सीमित मानिस लिएर फिल्मका काम गर्ने वातावरण बनाउनु प¥यो । यसो गर्दा बेरोगार हुने श्रमजिवी अर्थात तल्लो स्तरका प्राविधिक कर्मचारी, जो आर्थिक रुपमा पछाडि छन्, उनीहरुका लागि बाँच्ने आधार बनाउनु प¥यो । त्यसका लागि बेग्लै कोष खडा गर्न पनि सकिन्छ ।

अहिले तुरुन्तै चलचित्र घरमा गएर फिल्म हेर्ने वातावरण बन्दैन र हुँदैन पनि । किनभने मनोरन्जन लिनका लागि कसैले पनि खतरा मोल्दैन । हल खोलिए पनि दर्शक आउने, फिल्मको लगानी उठ्ने वातावरण हुँदैन । त्यसका लागि डिजिटल प्लेटफर्म खोजिनु पर्छ । पैसा तिरेर घरमै बसेर हेर्न मिल्ने सिस्टम बनाउनु पर्छ । 
विभिन्न डिजिटल प्लेटफर्मबाट फिल्म प्रदर्शन हुन थाल्यो र निर्माता सुरक्षित हुन थाले भने फिल्म निर्माणमा समेत तिब्रता आउँछ ।

ओपन थिएटरको विकास गरौँ
करिश्मा मानन्धर (अभिनेत्री) 


कोरोनाको कहर बढ्दो छ । हाम्रो फिल्म क्षेत्र प्रत्यक्ष रुपमा धेरै मानिसहरुसँग सरोकार रहने क्षेत्र हो । कोरोना अगाडिको समयजस्तै फिल्म क्षेत्र चलायमान हुन समय लाग्छ । हामीले यो क्षेत्रलाई अहिलेको स्थितिमा राखिराख्न पनि मिल्दैन । यो क्षेत्र गतिशील बनाउनु पर्छ । त्यसका लागि अन्य माध्यमको खोजी गर्नु जरुरी छ । त्यसैले छलफल धेरै गर्नुप-यो ।
भर्खरै सार्वजनिक यातायात पनि संचालनमा आएका छन् ।  त्यसैगरि फिल्म क्षेत्र पनि सामाजिक दुरी कायम गरेर, सुरक्षा अपनाएर गतिशील बनाउनु पर्छ । तर, फिल्म बनाएर मात्र हुँदैन, हेर्न हलमा दर्शक आउनुपर्छ । यस्तो उपायले के गर्ला ? त्यसका लागि विभिन्न डिजिटल माध्यमहरुको खोजी गर्नुपर्छ । नाइट शोका लागि ओपन थियटर निर्माण गर्न सकिन्छ ।

हामी सुरक्षाको उपाय अपनाएर सकभर थोरै मानिसको सक्रियतामा काममा फर्किनुपर्छ । फिल्म निर्माणका लागि हामी कलाकारमात्र होइन, प्राविधिकलगायत सबैले थोरै पारिश्रमिक लिँदै फिल्म निर्माणको वातावरण बनाउनु पर्छ । 
यसो गर्दा फिल्मले दर्शक पाएन भने पनि निर्माताको जोखिम कम हुन्छ । हामी सबै घरमै बसेर फिल्म क्षेत्र चलायमान हुन सक्दैन । हामी काममा फर्किनु पर्छ ।

घाटा न्युनीकरणको उपाय खोज्नुपर्छ 
प्रदीपकुमार उदय (निर्माता/प्रदर्शक) 


अहिले प्रायः सबै क्षेत्र खुलिसकेका छन् । त्यसैले फिल्म क्षेत्र पनि खोल्नु पर्छ भनेर मैले केही दिनदेखि आवाज उठाउँदै आइरहेको छु । अहिलेकै अवस्थामा फिल्म क्षेत्र पहिले झै गतिशील हुन सक्दैन ।

त्यसका लागि फिल्म प्रदर्शक, निर्माता र वितरक बसेर घाटा न्युनीकरणलाई केन्द्रबिन्दु बनाएर प्रदर्शनको बाताबरण बनाउनु पर्छ । जबसम्म चलचित्र प्रदर्शनमा आउँदैन, तबसम्म फिल्म क्षेत्र गतिशील हुन सक्दैन ।

यो घाटा न्युनीकरण के ? भन्ने प्रश्न आउला । त्यो के भने, मैले हल संचालनमा नल्याउदा ६ लाख घाटा ब्यहोर्छु भने संचालनमा ल्याउँदा ३ लाखमात्र घाटा भयो भने पनि त्यो आम्दानी भएको रकम त मेरो फाइदामा गयो नि । त्यसलाई भनिन्छ घाटा न्युनीकरण ।

त्यस्तै फिल्म प्रदर्शनको अवस्था पहिलेकै गतिमा फर्किए पनि निर्माताले फिल्म पुर्ण रुपमा चल्छ भन्ने ग्यारेन्टी गर्न सक्दैन । किनभने यसअगाडि पनि यस्तै भएका छन् । विश्वास गर्ने, आस गर्ने बाहेकको विकल्प पनि छैन ।
यो अवस्थामा चलचित्र निर्माताले कतै हलवालालाई बढी  प्रतिशत दिनुपर्ने होकि, कतै हलवालाले निर्मातालाई बढी दिनुपर्ने हो । यो घाटा न्युनीकरणको सिद्धान्त अनुरुप निर्माताको लगानीको केही प्रतिशत सुरक्षित गर्दिएर फिल्म प्रदर्शन गर्ने वातावरण मिलाउन सकिन्छ । 

निर्माताले पनि मलाई शतप्रतिशत ग्यारेन्टी चाहिन्छ भनेर भन्न मिल्दैन । त्यसै पनि फिल्मको ब्यवसाय केही प्रतिशत पनि ग्यारेन्टी भएको अवस्था जो छ ।

फिल्म क्षेत्र गतिशील बनाउन फिल्म प्रदर्शन भएरमात्र हुँदैन । निर्माण पनि चाहियो । अहिले निर्माण भएन भने भोलि के प्रदर्शन गर्ने ?

निर्माणमा जानका लागि प्राविधिक, कलाकार लगायतले  आफ्नो परिश्रमिकमा केही कटौतीसमेत गर्नुपर्छ । किनभने अहिले सुटिङ भएन भने उनीहरु घरमै बस्ने हो । घरमा बस्दा केही मिल्दैन । कमसे कम सुटिङमा जाँदा केही त मिल्छ भनेर सोच्नु प-यो । 
अहिलेको अवस्थामा निर्माता जोखिम लिएर सुटिङमा जाने हो । त्यसैले केही सहुलियत सबै पक्षबाट हुनैपर्छ । यी सबै कुरा घाटा न्युनीकरणमा पर्छ । यसलाई नै केन्द्र बनाएर अगाडि बढ्न सकिन्छ । 

मिनिमम ग्यारेन्टी चाहियो 
माधव वाग्ले (निर्माता) 


नेपालमा दुई सय पर्दा छन् भनेर चलचित्र संघ र विकास बोर्डले भनिरहेको छ । आजभन्दा १० वर्ष अगाडि चलचित्र घरले निर्मातालाई एमजी (मिनिमम ग्यारेन्टी) भन्ने दिन्थ्यो । त्यो सिस्टम अनुसार प्रत्येक पर्दाले ५० हजार एमजी निर्मातालाई दियो भने एक करोड हुन्छ । डिजिटल राइटबाट २०/२५ लाख उठ्छ ।

यो भन्दा बढी आयो, फाइदा भयो भने त्यो बाडौँ, नभए कोरोनाले घाटा भयो भनेर आएको पैसाले अर्काे फिल्म बनाउन लागौँ । निर्माताले आफुसँग भएको पैसा घरजग्गा जोड्नतिर कहिल्यै पनि लगाउँदैन । फिल्म नै बनाउने हो ।
अहिले फिल्म बनाउन मिनिमम पनि डेढ करोडदेखि दुई करोड लाग्छ । यसका लागि विकास बोर्ड र चलचित्र संघ तयार हुनुपर्छ । अनिमात्र फिल्म रिलिज पनि हुन्छ । केही गरेर हलवालालाई घाटा लागेछ भने अर्काे फिल्ममा मिलाउला भनेर सम्झौता गर्न पनि सकिन्छ ।
हैन भने निर्माताले आफ्नो लगानी डुब्ने जान्दा जान्दै किन फिल्म रिलिज गर्न दिन्छ ? निर्माताले रिलिजका समय तिर्ने विभिन्न चार्जसमेत मिनाह गर्न सकिन्छ । 

म गर्छु छायाँकनको सुरुवात
रोज राणा (निर्माता, नायक, निर्देशक) 


अहिले सबै क्षेत्र खुलिसक्यो । फिल्मक्षेत्र खोल्नमात्र बाँकी हो । त्यो पनि खोलिनु पर्छ । कोरोना अन्य क्षेत्रबाट नफैलिने, फिल्म क्षेत्रबाट मात्र फैलिने पक्कै पनि होइन होला । 
म आगामी भदौबाट फिल्मको छायाँकन सुरु गर्ने तयारीमा छु । सामाजिक दुरी कायम राखेर अति आवश्यक मानिसको उपस्थितिमा मात्र फिल्मको छायाँकन गर्छु । सबैले फिल्म क्षेत्र चलायमान हुनुपर्छ मात्र भन्ने आफु अगाडि नबढ्ने हो भने कसरी चलायमान हुन सक्छ र ? 
रिलिजको लागि पनि पहिलो चरणमा हिजोका दिनमा विभिन्न चपेटामा परेका, दर्शकले हेर्न नपाएका फिल्महरु  चलाएर सुरुवात गर्नु प¥यो । अहिले जसरी सार्वजनिक यातायातामा थोरै मानिस राखेर, सामाजिक दुरी कायम गरेर चलाउने नियम बनेको छ । चलचित्र भवनले पनि त्यस्तै रुल फलो गर्दा हुन्छ । 

पारिश्रमिक कम गरेर पनि काम गर्नुपर्छ
ऋचा शर्मा (अभिनेत्री, निर्माता)


छिमेकी चलचित्र नगरी बलिउडको उदाहरण लिने हो भने पनि उनीहरु गतिविधिमा फर्किसकेका छन् । सिरियलका नयाँ भाग आउन थालिसकेका छन् । चलचित्रको पनि छायाँकन भइरहेका छन् ।

हामी पनि बिस्तारै फर्किनु पर्छ । थोरैभन्दा थोरै मानिसबाट उनीहरु काम गरिरहेका छन् । हामीले पनि त्यसै गर्न सकिन्छ । हामीलाई सबैभन्दा गाह्रो भनेकै थिएटर संचालन गर्न हो । यो खुल्ने वातावरण अहिले हुँदैन । त्यसका लागि केही महिना लाग्छ होला ।

थोरै मानिसले काम गर्न सकिने विज्ञापन चलचित्र, म्युजिक भिडियो, छोटा चलचित्रलगायतका कामहरु गर्नुपर्छ । त्यस्ता काम हुन थालेका पनि छन् । फिल्म पनि धेरै लोकेसन गएर भन्दा सीमित र नजिकको लोकेसनमा छायाँकन गर्न सकिन्छ । 
काहीँ न काहीँबाट काम सुरु गर्नुपर्छ । सरकारले तोकेको सामाजिक दुरी कायम राखेर काम थाल्नु पर्छ । प्राविधिक कलाकार लगायतले फिल्म क्षेत्र गतिशील बनाउनका लागि आफ्नो परिश्रमिक पनि कम गर्नुपरे गर्नु पर्छ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.