सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

अस्पतालकै संलग्नतामा यसरी गरियो मिर्गौलाको किनबेचदेखि प्रत्यारोपणसम्मको सेटिङ

सिएमएसले पठाएको ‘क्रस चेक’को पत्र कसले बनायो गायब ?
बिहीबार, ०१ साउन २०७७, ०७ : ५३
बिहीबार, ०१ साउन २०७७

गत शनिवार अर्थात् असार २७ गते मानव बेचविखन नियन्त्रण ब्यूरोको एक टोली चितवनस्थित सिएमएस अर्थात् कलेज अफ मेडिकल साइन्सेजको हातामा पुग्यो । डिएसपीको कमाण्डमा गएको टोलीले चितवनबाट कलेजका सिइओ डाक्टर सुप्रभात श्रेष्ठ, कलेजमै कार्यरत अर्का डाक्टर बालकृष्ण कालाखेती, कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाललाई ब्यूरोको टोलीले चितवनबाट पक्राउ गर्यो ।

यता शनिवार नै काठमाडौँबाट डिएसपीकै नेतृत्वमा गएको अर्को टोलीले वरिष्ठ नेफ्रोलोजी सर्जन डाक्टर राकेश कुमार वर्मा सहित ८ जनालाई पक्राउ गरी ब्यूरोको कार्यालयमा ल्यायो ।

एकैदिन १२ जना व्यक्तिलाई पक्राउ गर्नुको कारण थियो – जालसाजी गरी मिर्गौलाको किनबेच र प्रत्यारोपण गरिएको । कलेज अफ मेडिकल साइन्सेज सिएमएसमा २०७६ साल जेठ २७ गते गरिएको मिर्गौला प्रत्यारोपणमा गडबडी पाइएपछि मानव वेचविखन नियन्त्रण ब्यूरोको टोलीले त्यसबारे छानबिन थालेको थियो । गएको कात्तिक महिनामा आएको एउटा उजुरीबाट थालिएको छानबिन ८ महिनापछि निचोडमा पुग्यो कि मिर्गौला प्रत्यारोपणमा खेलबाड भएको छ । त्यसै आधारमा प्रहरीको उक्त ब्यूरोले एकैदिन १२ जनालाई पक्राउ गर्यो ।

यसरी गरियो मिर्गौलाको किनबेचदेखि प्रत्यारोपणसम्मको सेटिङ

ललितपुरका ५४ वर्षीय (तत्कालीन समयमा) एक पुरुष लामो समयदेखि मिर्गौलाको रोगी थिए । उनले लामो समयदेखि डाइलोसिस गराइरहेका थिए । उनीसँग प्रसस्त सम्पत्ति त थियो नै तैपनि उनका लागि मिर्गौला प्रत्यारोपण गर्न दाता भने पाइरहेको थिएनन् ।

भक्तपुर घर भएकी उनकी बहिनी जमुना राज भण्डारीले दाजुका लागि मिर्गौला दिन चाहेकी थिइन् । तर उनको मिर्गौला दिन नमिल्ने भयो । दाजुको बिग्रदो अवस्था देखेर जमुना चिन्तित थिइन् र उनले मिर्गौला दिने आफन्तको खोजी गरिरहेकी थिइन् । तर पनि उनका आफन्तहरु बिरामीलाई मिर्गौला दिन तयार थिएनन् ।

दाजुलाई उपचारका लागि (डाइलोसिस) गर्न अस्पताल लैजाने क्रममा जमुनाको चिनजान निलम्वित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलियासँग हुन्छ । थपलिया आफै पनि मिर्गौलाको बिरामी थिए र डाइलोसिस गराउँथे । एएटै प्रवृत्तिको बिरामी र उपचार भएको कारण उनीहरुबीच चिनजान भयो । थपलियाले नै जमुनालाई मिर्गौला किन्न सकिनेबारे सुझाए ।

कुनै गरीब व्यक्ति खोजेर मिर्गौला किन्न सकिने र उक्त मिर्गौला प्रत्यारोपण गर्न सकिने सुनेपछि जमुना आफन्तको मिर्गौला खोज्न छाडेर मिर्गौला बेच्ने व्यक्ति खोज्न थालिन् । यसै सिलसिलामा जमुनाको भेटघाट भयो भोजपुर स्थायी घर भई भक्तपुरको जगाती बस्ने रेश्मा राईसँग ।

जमुनाले रेश्मासँग दाजुका लागि मिर्गौला चाहिएको र दिने मान्छे भएमा राम्रो पैसा दिने कुरा बताइन् । त्यसका लागि जमुनाले रेश्मालाई जिम्मेवारी दिइन् । मिर्गौला दिने मान्छे भेटेमा अप्रेसन गर्ने डाक्टर खोज्ने, कागजात मिलाउने सबै काम गर्ने जिम्मेवारी निलम्वित सई योगेन्द्रराज थपलियाले लिएका थिए ।

आफन्त बनेर मिर्गौला दिन तयार भए खोटाङका २७ वर्षीय युवक

अन्ततः ५५ वर्षीय पुरुषका लागि मिर्गौला दिन तयार भए खोटाङका २७ वर्षीय युवक । ती युवकको खोजी गर्ने काम रेश्माले नै गरेकी थिइन् ।

खोटाङका ती युवक काठमाडौँमा सवारी मजदुरी गर्थे । विवाहीत ती युवकको आर्थिक श्रोत सवारी मजदुरीबाट आएको पैसाबाहेक अरु केही थिएन । सवारी मजदुरीबाट आएको पैसाले श्रीमती तथा एक सन्तानलाई हुर्काउन, बढाउन र पढाउन नै धौधौ पर्दथ्यो । गरिबीले गाँजेका उनलाई रेश्माले राम्रो रकम आउने प्रलोभन देखाइन् । एउटा मिर्गौलाले मात्रै काम गर्न सक्ने र एउटा मिर्गौला दिँदा १० लाख रकम आउने प्रलोभन दिएपछि ती युवक आफ्नो मिर्गौला दिन तयार भए ।

रेश्माले मिर्गौला दिने व्यक्ति तयार भएको बारे जमुनालाई जानकारी गराइन् । त्यसपछि जमुनाले अन्य चाँजोपाँजो मिलाउन थालिन् । मिर्गौला दिने व्यक्ति तयार भएपनि कानुनले तोकेका आफन्त बाहेक अन्य व्यक्तिबाट अङ्गदान लिन दिन नहुने कुरा उल्लेख गरेको छ । कानुनले मानव अङ्गको किनबेचमा प्रतिबन्ध लगाएको छ भने निश्चित आफन्तबाहेक अन्य व्यक्तिको अङ्ग प्रत्यारोपण गर्न प्रतिबन्ध लगाएको छ । त्यसकारण अब मिर्गौला दिने खोटाङका २७ वर्षीय युवक र ललितपुरका ५५ वर्षीय पुरुषबीच सम्बन्ध देखाउनतिर लागियो । अनि सम्बन्ध बन्यो मामा र भाञ्जा ।

कलेज अफ मेडिकल साइन्सेज

सक्कली भाञ्जा अष्ट्रेलियामा, नक्कली भाञ्जाको मिर्गौला प्रत्यारोपण

मिर्गौला रोगी ती व्यक्तिको एक भाञ्जा अष्ट्रेलियामा थिए । मिर्गौला दिने व्यक्ति र अष्ट्रेलियामा भएका भाञ्जाको उमेर लगभग मिल्थ्यो । त्यसपछि अष्ट्रेलियामै रहेका भाञ्जाको नाम र कागजात प्रयोग गरेर खोटाङ घर भएका नक्कली भाञ्जाको नाता प्रमाणित गर्नतिर लागियो ।

नाता प्रमाणित बनाउनका लागि साक्षी बस्ने लगायतका काम जमुना राजभण्डारीले गरिन् । ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयबाट जमुनाले नाता प्रमाणित गराइन् । नाता प्रमाणित गर्दा अष्ट्रेलियामै रहेका सक्कली भाञ्जाको नाम र फोटो प्रयोग गरियो र वडा कार्यालयबाट सिफारिस बनाइयो । अनि त्यो सक्कली नाता प्रमाणितको कागजात निलम्बित सई योगेन्द्रराज थपलियाको हातमा थमाइयो ।

नक्कली कागजात बनाउने काम गर्थे सई

हाल निलम्बनमा रहेका सई योगेन्द्रराज थपलिया यसअघि पनि मिर्गौलाको तस्करी प्रकरणमै पक्राउ परेका थिए । महाराजगञ्जको एक व्यक्तिका लागि मिर्गौला दिनका लागि नक्कली नाता बनाएर भारत पठाइएका पीडितका आफन्तले प्रहरीलाई खबर गरेपछि थपलिया पक्राउ परेका थिए । अनुसन्धानका क्रममा थपलियाले नक्कली कागजात बनाउने र सेटिङ गरी भारतमा मिर्गौलाको तस्करी गराएको पाइएको थियो । थपलिया पक्राउ पर्दा प्रहरीले उनको साथबाट विभिन्न सरकारी संस्थाको छाप, कागजात आदि बरामद गरेको थियो ।

यो घटनामा पनि थपलियाले नै नक्कली कागजातको काम गरेको पाइएको थियो । मिर्गौला दिने व्यक्ति भेटिएपछि अब काम बाँकी रह्यो डाक्टर र अस्पताल । कुन अस्पतालमा कसरी अप्रेसन गर्ने र कुन डाक्टर वा सञ्चालकसँग सेटिङ गर्ने भन्ने कामको जिम्मा भने अर्का जुनियर प्रहरी अधिकृतको हातमा पुग्यो ।

रेसुङ्गा ५ स्थायी घर भएका भीमप्रसाद खनाल नेपाल प्रहरीका असई हुन् । उनी आँफै पनि मिर्गौलाका रोगी हुन् र नियमित डाइलोसिस गराइरहेका छन् ।

हाल नेपाल प्रहरी अस्पतालमा काजमा रहेका असई खनालको चिनजान तत्कालीन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका वरिष्ठ सर्जन डाक्टर राकेश कुमार वर्मासँग थियो । असई खनालले नै डाक्टर वर्मासँग अनधिकृत व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नेबारे कुरा गरे ।

तत्कालीन मानव अङ्ग प्रत्यारोपण केन्द्रका सर्जन डाक्टर राकेश कुमार वर्मा त्यतिबेला भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (सिएमएस) कलेजमा काम गर्न थालिसकेका थिए । मानव अङ्ग प्रत्यारोपण गर्नु परेमा वा अन्य जटिल अप्रेसन गर्नु परेमा डाक्टर वर्मा चितवन पुग्दथे ।

काठमाडौँमा प्रत्यारोपण गर्दा हल्लाखल्ला हुन सक्ने भएपछि तिनै डाक्टर वर्माले असई खनाललाई चितवनमा गएर प्रत्यारोपण गराउने कुरा गरे । त्यसका लागि अस्पतालमा आफूले पनि कुरा गर्ने कुरा बताए ।

सबैतिर माहोल सकारात्मक बनेपछि सक्कली नाता प्रमाणित र सिफारिसलाई निलम्बित सई योगेन्द्रराज थपलियाले रङ्गीन फोटोकपी गराए । तर रङ्गीन फोटोकपी गराउनुअघि मिर्गौला दिने भनिएका वास्तविक भाञ्जाको फोटो उप्काएर नक्कली भाञ्जा अर्थात् खोटाङका २७ वर्षीय युवकको फोटो टाँसियो । अनि रङ्गीन फोटोकपी गरेर नक्कली हस्ताक्षरसमेत गरी उक्त नाता प्रमाणित र सिफारिसको कागज सिएमएस अस्पतालमा बुझाइयो ।

कानुनले फोटोकपीलाई मान्यता नै दिँदैन

मानव अङ्ग प्रत्यारोपण सम्बन्धि कार्याविधिले कुनै व्यक्तिको अङ्ग अर्को व्यक्तिका शरीरमा प्रत्यारोपण गर्न वा गराउनका लागि नाता प्रमाणित र सिफारिस आवश्यक रहने भनेको छ । तर उक्त नाता प्रमाणित वा सिफारिस सक्कल नै प्रत्यारोपण गराउने अस्पताल र समितिमा उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिएको छ ।

मिर्गौला तस्करीमा अस्पताल प्रशासनकै यस्तो संलग्नता

मानव अङ्ग प्रत्यारोपणका लागि सक्कली नाता प्रमाणित र सिफारिस आवश्यक हुने भएपनियो प्रकरणमा भने परिवारले सक्कली नाता प्रमाणित नै अस्पतालमा बुझाएन । अस्पतालले पनि रङ्गीन फोटोकपीलाई नै स्वीकार गर्यो, जुन गैरकानुनी थियो ।

कानुनले सक्कली नाता प्रमाणितको कागजात नै पेश गर्नुपर्ने भनेको भएपनि कलेज अफ मेडिकल साइन्सेज (सिएमएस) ले फोटोकपीलाई स्वीकार गरेको छ । कारण, त्यो सबै सर्जन राकेश कुमार वर्माले सेटिङमा मिलाएका थिए । राकेशकै सेटिङमा फोटोकपीस्वीकार गरिएको थियो ।

पहिले भर्ना अनि स्वास्थ्य सोधपुछ !

मानव अङ्ग प्रत्यारोपणको प्रोटोकलअनुसार अङ्गग्रहण गर्ने र लिनेको सबै स्वास्थ्य परीक्षण सकिएपछि मात्रै अस्पतालमा भर्ना गर्न मिल्छ । त्यो भन्दा पहिले अस्पताल प्रशासनले प्राप्त कागजातको अध्ययन गर्नुपर्छ र अङ्ग प्रत्यारोपण स्वीकृति समितिसमक्ष पेश गर्दछ ।

जुन अस्पतालमा मानव अङ्ग प्रत्यारोपण गरिने हो, सो अस्पतालमा एउटा अङ्ग प्रत्यारोपण स्वीकृति समिति हुन्छ । उक्त समितिमा संस्थाका सिइओ वा प्रशासन प्रमुख, प्रत्यारोपणसँग असम्बन्धित तर सोही अस्पतालमा कार्यरत एक चिकित्सक, कानुनी सल्लाहकार र जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका प्रतिनिधि रहन्छन् । यो समतिलिे पहिले अङ्ग लिने र दिनेको कागजातको अध्ययन तथा सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ तथा जाँच पड्ताल गरिसकेपछि मात्रै स्वीकृति दिन मिल्छ ।

तर २७ जेठ, २०७६ मा सिएमएस कलेज एण्ड हस्पिटलमा भएको मिर्गौला प्रत्यारोपणको घटनामा भने प्रोटोकल नै उल्टो भएको छ । मिर्गौला लिने र दिने व्यक्तिलाई जेठ २० गते नै अस्पतालमा भर्ना गरिएको छ । तर जेठ २३ गते मात्रै सिएमएस अर्थात् अस्पतालले कागजात प्रमाणिकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर ३ मा लेखी पठाएको छ ।

अनि सोही दिन वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरले कागजात सही भएको व्यहोराको विवरण लेखी अस्पतालमा पठाएको पाइएको छ । तर जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयमा सिएमएसले पठाएको कागजातको प्रतिलिपि वा पत्र भने पाइएको छैन ।

जिल्ला प्रशासनमा कागजात नै छैन

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत दीपक न्यौपानेका अनुसार जिल्ला प्रशासन कार्यालयमा चितवनको सिएमएस अस्पतालबाट पत्र आएको रेकर्ड नै छैन । उनी भन्छन्, ‘हाम्रो अभिलेखमा हेर्दा त्यो अस्पतालबाट कुनै पत्र आएको देखिँदैन र हामीले कुनै पत्र दिएको पनि देखिएन ।’

यद्यपि प्रशासकीय अधिकृत न्यौपानेले कार्यालयका खरिदारले ‘रेकर्ड भिड्छ’ भनी लेखिदिएको र छाप लगाएको पाइएको बताएका छन् ।

यता ललितपुर महानगरपालिका वडा नम्बर ३ को कार्यालयले पनि नाता प्रमाणित सककली नै भएको भन्दै सिफारिस दिएको छ । तर वडा कार्यालयमा पनि हालसम्म सिएमएस अस्पतालले पठाएको पत्र भने पाइएको छैन ।

कसले ल्याएको थियो सिएमएसबाट पत्र ?

मानव अङ्ग प्रत्यारोपणको प्रोटोकल अनुसार अस्पताल प्रशासनले नै कागजातको प्रमाणिकरणका लागि मान्छे खटाउने वा सोध्ने गर्नुपर्छ । पछिल्लो समय इमेल वा अनलाइनबाट पनि प्रमाणिकरण गर्न थालिएको छ ।

तर एक व्यक्तिको मिर्गौला झिकेर अर्को व्यक्तिको शरीरमा राख्नेजस्तो महत्त्वपूर्ण कामका लागि कागजात प्रमाणिकरण गर्ने क्रममा पनि अस्पतालले चरम लापरवाही गरेको देखिन्छ । सक्कल कागजात नलिई फोटोकपीलाई नै मान्यता दिनु, कागजातको प्रमाणिकरण आँफै नगर्नुले यो घटनामा अस्पताल प्रशासनको मिलेमतोको आशंका गरिएको छ । मिर्गौला लिने र दिनेसँग समितिले कुनै सोधपुछ नगर्नुले पनि यो र्याकेटमा अस्पतालको पनि प्रतक्ष मिलेमतो भएको बुझ्न कठिन छैन ।

१० लाख दिन्छु भनेर २ लाख मात्रै दिएपछि पोल खुल्यो

एउटा मिर्गौला दिएबापत १० लाख रुपैयाँ पाइने भनेपनि मिर्गौला दिने पीडितले भने करिब २ लाख रुपैयाँमात्रै पाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । २०७६ कात्तिक महिनामा अख्तियार हुँदै आएको बेनामे उजुरीमा मिर्गौला दिने व्यक्तिको नामसहित सामान्य घटना विवरण आएको थियो । त्यसको थप अनुसन्धान गर्ने क्रममा पीडितले कोही आफन्तमार्फत् आफूले पाउनुपर्ने रकम नपाएको गुनासो गरेका थिए । त्यही गुनासो पछि अख्तियार र मानव वेचविखन नियन्त्रण ब्यूरोमा आएपछि घटनाको थप छानबिन हुँदा मिर्गौला तस्करीको रहस्य खुलेको हो ।

४ वर्षपछिको त्यो प्रत्यारोपण ...

त्यसो त सिएमएसमा २०७२ सालपछि कुनै प्रत्यारोपण नै भएको थिएन । २०७२ सालमा भूकम्पको समयमा एउटा मिर्गौला प्रत्यारोपण भएको थियो । त्यसपछि २०७६ जेठ अर्थात् ४ वर्षपछि मात्रै अर्को प्रत्यारोपण भयो । ४ वर्षपछि एकाएक काठमाडौँका बिरामी र डाक्टर चितवन गएर मिर्गौला प्रत्यारोपण गराउनुले पनि शंका उब्जाएको थियो । र, उक्त प्रत्यारोपण सेटिङमै गरिएको त्यसले पुष्टी गरेको छ ।

अस्पतालले लिएको थियो १४ लाख रुपैयाँ

अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराउँदा औसतमा ५ लाख रुपैयाँ मात्रै खर्च हुन्छ । उक्त रकम पनि सरकारले सोधभर्ना दिने गरेको छ । तर नक्कली काम गर्नकै लागि निजी अस्पताल गएर मिर्गौला लिने परिवारले करिब २८ लाख खर्च गरेको थियो । २८ लाख रकममध्ये १४ लाख रुपैयाँ अस्पताल, १० लाख रुपैयाँ दलाल तथा डोनरलाई दिएको बुझिएको छ । बााकी ४ लाख रुपैयाँ प्रशासनिक काम र अन्य कुरामा खर्च भएको बताएका छन् ।

सैयौँ प्रत्यारोपणमाथि ब्यूरोको छानबिन सुरु

मिर्गौला प्रत्यारोपणका क्रममा नक्कली नाता बनाएर नक्कली व्यक्तिकै मिर्गौला किनबेच गरी प्रत्यारोपण गरिएको २ वटा घटना प्रमाणित भएपछि यतिबेला नेपाल प्रहरीको मानव वेचविखन नियन्त्रण ब्यूरोले मिर्गौला प्रत्यारोपणका सैयौं घटनालाई सुक्ष्मरुपमा अध्ययन गर्न थालेको छ । समाजका धनी र उच्चपदस्थ व्यक्तिहरुले गरीबहरुको मिर्गौला किनेर प्रयोग गरेको आरोप तथा गुनासाहरु आउन थालेपछि अहिले नेपालमा प्रत्यारोपण भएका सबैजसो घटना र भारतमा भएका प्रत्यारोपणका घटनामा पनि लिने र दिने व्यक्ति सही हो वा होइन भनी छानबिन सुरु गरिएको ब्यूरोको दाबी छ । ब्यूरोका एक अधिकारी भन्छन्, ‘हामीले मिर्गौला प्रत्यारोपणका थप केशहरु पनि अध्ययन गरिरहेका छौँ । यो झन्झन् जटिल बन्दै गएको छ । मिर्गौला प्रत्यारोपणमा गडबड भएको थप घटनाहरु बाहिर आउनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप