केन्द्रीय संस्करण

समकालीन सन्दर्भमा विमर्शलायक केही बिम्बहरु

आजको शहरबजारका सन्दर्भमा भन्नुपर्दा श्वानराजहरु साँच्चिकै बुद्धिजीवी प्राणी

person explore access_timeसाउन १, २०७७ chat_bubble_outline0
प्रतिकात्मक तस्विर

अगाडि स्वादिष्ट खानाका परिकार देखेपछि काम कर्तव्यका यावत् कुरा बिर्सने जनावरको नाम के हो ? आफुले जे जति काम बिराए पनि लाज नमान्ने, पश्चात्ताप नगर्नेे र आफु नाङ्गो हुँदा पनि नाङ्गो छु भन्ने चेत नराख्ने जनावरको नाम के हो ? एक जना हजुरबाले आफ्ना नातिलाई यस्तो प्रश्न गरेको मैले सुनेको छु । जवाफ सुनेको छैन । जवाफ के के हुन सक्ला ? हिजो आज बल्ल सोच्दैछु ।

आज म यहाँ जे लेख्दैछु, त्यो सर्वांशमा उल्लिखित प्रश्नहरुको प्रतिनिधि पात्र भने होइन । यहाँ म सर्वपरिचित पात्र श्वानराज र विज्ञानराजहरुका विषयमा एकाध टिप्प्णी प्रस्तुत गर्दैछु ।

कुकुरहरुको सम्मानजनक पर्यायवाची शव्द श्वानराज हो । ठीक त्यस्तैै सरकारी वुद्धिजीवीको सम्मानजनक पर्यायवाची शव्द प्रज्ञानराज पनि हो । एकथरी श्वानराजहरुले हिउँमाथि गाडा तान्छन् । हाम्रा वृषभराजहरुजस्तै गाडा तान्ने श्वानराजहरु पनि निक्खरा श्रमजीवी हुन् । प्रज्ञानराजलेजस्तै पारिश्रमिक त श्वानराजहरुले पाउँदैनन्, उर्जाप्रतिस्थापनका लागि आवश्यक दानापानी पाउँछन् ।

कुकुरहरुको सम्मानजनक पर्यायवाची शव्द श्वानराज हो । ठीक त्यस्तैै सरकारी वुद्धिजीवीको सम्मानजनक पर्यायवाची शव्द प्रज्ञानराज पनि हो । हाम्रो तराइमा वृषभयान अर्थात् गोरुगाडाजस्तै कति हिमाच्छन्न मुलुकमा श्वानयानको चलन छ । एकथरी श्वानराजहरुले हिउँमाथि गाडा तान्छन् । हाम्रा वृषभराजहरुजस्तै गाडा तान्ने श्वानराजहरु पनि निक्खरा श्रमजीवी हुन् । प्रज्ञानराजलेजस्तै पारिश्रमिक त श्वानराजहरुले पाउँदैनन्, उर्जाप्रतिस्थापनका लागि आवश्यक दानापानी पाउँछन् । गाडामा नजोतिँदाका पुराना दिनहरुमा ती श्वानराजहरुले के तानेर अस्तित्व रक्षा गर्दाहुन्् ? यस प्रश्नको सर्वाङ्गीण इतिहास खोज्न ती श्वानराजहरुको आदिम जीवनसम्म पुग्नुपर्ने हुन्छ । यसै त जङ्गलमा रहँदासम्म श्वानराजहरु हाम्रा वृषभराजहरुजस्तै शाकाहारी त अवश्य होइनन् । स्वभावतः सिकारी श्रमजीवी नै हुन् । गाउँबस्तीमा जो सिकारका तालिमप्राप्त श्वानहरु छन् । ती पनि श्रमजीवी हुन् । तथापि श्वानराजहरुले सफल सिकारी हुनका लागि प्रज्ञावान्् बन्नु पनि जरुरी छ ।

आजको शहरबजारका सन्दर्भमा भन्नुपर्दा श्वानराजहरु साँच्चिकै बुद्धिजीवी प्राणी हुन् । यिनको घ्राणशक्ति अति नै तीव्र हुन्छ । सडक गल्लीचारी हुन् कि महलनिवासी हुन् श्वानराजहरु सवै बुद्धिजीवी हुन् । प्रहरी श्वानराजहरु त अझ तीखा बुद्धिजीवी हुन् । बुद्धिकै आधारमा ससम्मान बाँचेकाछन् । सवै श्वानराजहरुको बुद्धि दानापानीका पक्षमा परिचालित रहन्छ । आफ्ना मालिकका पक्षमा परिचालित रहन्छ । मालिक चोर, डाँका, तस्कर, बेइमान, बलात्कारी, हत्यारा, मुलुकमारा जेसुकै र जस्तोसुकै होस् पाल्तू श्वानराजहरु त्यसै मालिकका पक्षमा भुक्छन् । त्यसै मालिकको सुरक्षामा दत्तचित्त रहन्छन् । श्वानराजहरु शतप्रतिशत स्वामिभक्त हुन्छन् । यिनको स्वामिभक्तिमा न्याय, विवेक, र नैतिकताका बार बन्धेजहरु रहँदैनन् । प्रायः श्वानराजहरु नाङ्गै हुन्छन् र पनि निर्धक्कसँग उफ्रँदै भुक्छन् । यस परिप्रेक्षमा यिनीहरु कथित प्रज्ञानराजहरु भन्दा पृथक् छैनन् ।

श्वानराजहरु अर्थात् कुकुरहरु सङ्गीतमय गीत गाउँदैनन् । यदा कदा, चुइँकिन्छन्, रुन्छन् । दुःखसुख तिनको पनि हुन्छ । भोकप्यास रोगराग तिनलाई पनि लाग्छ । तर पनि कुकुरहरु भाषण भट्ट्याउन सक्दैनन् । लेख लेख्न सक्दैनन् । बहस पैरवी गर्न पनि सक्दैनन् । तर पनि कुकुरहरु आफ्ना मालिकका पक्षमा डटेर भुक्न सक्छन् । सङ्केत अनुशरण गर्न सक्छन् । मालिकका विरोधीलाई झम्टन र टोक्न पनि पछि पर्दैनन् । हो, कुकुरहरु साँच्चिकै मालिकमुखी नै हुन्् । सेवाजीवी नै हुन् । सडकगल्लीका कुकुरहरु पनि आफ्ना ठाउँठहरका रक्षाका लागि अहोरात्र खटेका देखिन्छन् । आफु रहेका भेगका मालिक मालिकिनीहरुलाई गन्धले नै पहिचान्न सक्छन् । बाहिरबाट अपरिचित कोही आयो भने कस्सिएर भुक्छन् । झम्टन्छन् । शहरगल्लीका कुकुरहरु झुत्रे झ्याम्ले गरीव निमुखा मान्छे हिँडेका देखिए भने भने बढी नै  झम्टन्छन् । बढी नै भुक्छन् । आफु सर्वहारा छन् र पनि यी कुकुरहरु सर्वहाराका पक्षमा छैनन् ।

यता प्रज्ञानराजहरु श्वानराज होइनन् । यिनीहरु त निक्खरा मान्छे हुन् । मान्छेका परिधानमा रहन्छन् । दुई खुट्टा टेकेर हिँड्छन् । दगुर्छन् । गाडीमा हुइँकिन्छन् । बिमानमा उड्छन् । भान्छामा पकाइएका परिकार खान्छन् । होटल रेस्टोराँ र वारमा खान्छन् । जमेर मद्यपान पनि गर्छन् । प्रज्ञानराजहरु अर्थात् वुद्धिजीवीहरु लेखपढ गर्छन् । बहस पैरवी गर्छन् । परिआउँदा भाषण गर्छन् । वक्तव्य दिन्छन् । मौका हेरेर नारा पनि लाउँछन् ।

यता प्रज्ञानराजहरु श्वानराज होइनन् । यिनीहरु त निक्खरा मान्छे हुन् । मान्छेका परिधानमा रहन्छन् । दुई खुट्टा टेकेर हिँड्छन् । दगुर्छन् । गाडीमा हुइँकिन्छन् । बिमानमा उड्छन् । भान्छामा पकाइएका परिकार खान्छन् । होटल रेस्टोराँ र वारमा खान्छन् । जमेर मद्यपान पनि गर्छन् । प्रज्ञानराजहरु अर्थात् वुद्धिजीवीहरु लेखपढ गर्छन् । बहस पैरवी गर्छन् । परिआउँदा भाषण गर्छन् । वक्तव्य दिन्छन् । मौका हेरेर नारा पनि लाउँछन् । वुद्धिजीवीहरु बुद्धिको व्यवसाय गर्छन् । यी बुद्धिका हिँड्ने डुल्ने पसलहरु हुन् । कहाँ कसलाई चाहिन्छ त्यहाँ पुग्छन् र लिलाम बढाबढमा बुद्धि बेच्छन् । ग्राहक देवीभागवतको चाण्डाल नै किन नहोस् र बुद्धि बेच्दा पूर्वसन्चित व्यक्तित्व र भविष्यका साथ आफै बेचिन किन नपरोस् मनग्ये मोल पाए बेच्छन् । बेचिन्छन् । विपक्षको मर्म वेधन गर्न र थप मर्कामा पार्न  उत्तेजनामा आएर अपशव्द समेत् बोल्छन् तर पनि प्रज्ञानराजहरु श्वानराज होइनन् । बुद्धिजीवीहरु कुकुर होइनन् । बुद्धिजीवीहरुलाई तिनमा देखिने तीव्र लोभ एवम् ¥याले बानीबेहोरका आधारमा श्वानराज भनेर बात लाउन नियम कानुनले पनि मिल्दैन । बुद्धिजीवी त बिचरा पसले मात्र हुन् । बुद्धिव्यवशायी मात्र हुन् । बुद्धि बेचेर जीविका चलाउनेहरु हुन् । यसैले बुद्धिजीवीका नाममा जानिदै मानिदै आएकाछन् । गण्यमान्य वुद्धिजीवीका पनि आफ्ना वाध्यता र विवशताहरु छन् । देश र जनताका हित–भलाइका पक्षमा निष्ठावान् बौद्धिक व्यक्तित्व बन्दा देशी विदेशी मालदार ग्राहक नपाइनु र मालामाल हुन नसकिनुको वाध्यताले जहाँ जसका हातमा पनि बेचिन सकिने व्यावसायिक बुद्धिजीवी बनिनु भड्किएका मानसिकताको विवशता नै हो ।

हो, बुद्धिजीवीहरु पनि आफआफ्ना मालिकका पक्षमा भुक्छन् । विपक्षमाथि झम्टन्छन् । मौका परे टोक्छन् । तर बुद्धिजीवीहरु यत्तिमै मात्र सीमित छैनन् । बुद्धिजीवीहरु वहुआयामिक छन् । वहुचरित्री छन् । विलास वैभवका लागि  बुद्धिजीवीहरु सजिलैसित मालिक फेर्न पनि सक्छन् । बोली फेर्न पनि सक्छन् । विश्वासलाई जाँड बनाएर घटघटी पिइदिन पनि  सक्छन् बुद्धिजीवीहरु । कुकुरहरु सीमाबद्ध छन् । तत्काल आमूल बदलिन र विश्वासघात गर्न सक्दैनन् । यसैले कुकुरहरु साँच्चिकै बुद्धिजीवी साबित हुन सक्दैनन् । आजसम्मका जैविक सामाजिक र भाषिक मर्मज्ञहरुले कुकुरलाई मात्र सेवाजीवी विशेषण दिएकाछन् । तर पनि कुकुरहरु कम्ताका बुद्धिजीवी भने होइनन् ।

पद पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने खास मानव बुद्धिजीवीहरु सेवाजीवितामा देशी विदेशी सबै किसिमका कुकुरहरुलाई उछिन्न सक्छन् । नीति नैतिकता सवै कुल्चेर मालिकका पछि लाग्न सक्छन् । मालिकका इसारामा जसकसैलाई भुक्न र टोक्न सक्छन् । भुक्नु त वुद्धिजीवी जिब्राको मामुली खेल हो । यस कोणबाट हेर्दा विचरा कुकुरहरुलाई प्रतिभाशाली बुद्धिजीवी मान्छेसँग तुलना गर्न मिल्दैन ।

कसैका घरका श्वानराजहरुलाई छिमेकका चौचाण्डालहरुले रातसाँझ सुटुक्क मासुभात खान दिने गरे भने ती श्वानहरुले फरक्क फर्केर घरकै सदस्यहरुलाई भुक्छन् ? टोक्छन् ? यस जिज्ञासामा बुढापाकाहरु भन्छन्, श्वानहरुले यतिसम्म बेइमानी गरेको घटना श्रुतिगत र लिखित कतै कुनै इतिहासमा पाइएको छैन । श्वानराजहरुबाट यस्ता विभीषण कृत्य सम्भव छैन । बरु कतिपय प्रज्ञानराजहरु अर्थात् मानव बुद्धिजीवीहरु यथेष्ट दह्रो कमाइ र विलास वैभवका लागि विभिन्न आवरणमा सजिएर देश तथा देशवासीका विरुद्ध र  विदेश तथा विदेशीका पक्षमा घुमाईफिराई बहस पैरवी गर्न सक्छन् । उदेकलाग्दा तर्कजाल प्रस्तुत गर्न सक्छन् । देश खाने उपाय विदेशीलाई सुझाइदिन सक्छन् । बाटो देखाइदिन सक्छन् । विश्वइतिहासमा र नेपालकै इतिहासमा पनि यस्ता दृष्टान्हरु  भेटिन्छन् । यस बुँदामा प्रज्ञानराजहरु अर्थात् द्रव्याकाङ्क्षी एवम् महत्ताकाङ्क्षी बुद्धिजीवीहरु सडकगल्लीका बेघर श्वानराजहरुसँग समेत तुलनीय छैनन् । सडक गल्लीका सुकुम्वासी कुकुरहरु पनि आफु जन्मेको माटो र त्यस माटोबाट आफुले खाएपाएको दानापानीका विरुद्ध पुच्छर ठड्याएर त्यसरी जाइलाग्दैनन् ।  दगुर्दैनन् ।

एक जना बुढा पण्डित छन् । ०७ सालका प्रजातान्त्रिक योद्धा हुन् । गाउँमा बस्छन् । आफ्नो अध्ययन अनुभव र पुर्खाले बनाइदिएका अनुभूति शास्त्रका आधारमा ती आजका कतिपय द्रव्यातुर, सत्ताशायी उपभोक्तावादी शहरिया बुद्धिजीवीहरुलाई बिचरा ठान्छन् । आत्मविक्रयी प्राणी ठान्छन् । उनी भन्छन्, “जव मुलुकमा राजनीतिक विवाद निस्कन्छ, समय सम्वेदनशील बन्छ, यी लेखक, प्राध्यापक, वकिल आदि इत्यादि नामधारी स्वनामधन्य बुद्धिजीवीहरु आआफ्ना अनुदानप्रदाता देशी विदेशी सङ्घ संस्था, धनपति, सहयोगपति, महोदय, महामहिम, नेताराजा, नेतारानी र राजनीतिक दलका पक्षमा उभिँदै देशहित तथा जनहितविरुद्ध क्रियाशील विनिर्माणकारी तत्वको पक्षपोषणमा जथाभावी बोल्न, लेख्न र उफ्रन थाल्छन् । यो देखेर मलाई दया लाग्छ ।  निरन्तरका भोका प्यासा र  विवेक विचारशून्य, यी लोभदग्ध विदग्ध बुद्धिजीवीलाई देख्दा कठैबरा बिचरा भन्न मन लाग्छ ।”

कति मानिसहरु यस्ता पदातुर पैसातुर सेवावृत्तिलाई कुकुरका कामकर्तव्यसित तुलना गर्छन् । तर त्यो ठीक सटीक दृष्टान्त होइन । कुकुर बरु त्यति वद्ध छैनन् । सडकगल्लीका कुकुर त स्वच्छन्दचारी नै हुन्छन् । तर यी अनुदानग्रसित बुद्धिजीवीहरु त आत्मा बेचेर कसैका पछि लाग्न वाध्य भारवाही प्राणीहरु नै हुन् । कुकुरहरु ती प्राणाीका तुलनामा धेरै मुक्त र स्वतन्त्र छन् । त्यसैलै यिनीहरुबीच तुलना हुन सक्दैन ।

“पद, प्रतिष्ठा, पैसा सबै कुम्ल्याएर उम्लेका यी बुद्धिजीवी कसरी बिचरा ?” एक पटक एक शहरिया उपबुज्रुकले प्रश्न राखेका थिए । त्यति बेला बुढा पण्डितले आफ्ना ज्ञानकोषबाट एउटा श्लोक उद्धृत गर्दै जवाफ दिएथे, “विघटनकारी राजनीतिका विरुद्ध डटेर प्रतिवाद गर्न नसक्ने, एम्सीसी जस्तो नेपाल र नेपालीको सार्वभौम अधिकार र सर्वोपरि हित विरुद्ध लक्षित सम्झौता खारेजीका लागि डटेर प्रतिरोध गर्न नसक्ने, अनि आफ्नै आँखाअगाडि छिमेकी देशले आफ्नो मातृभूमिको ६०६ वर्ग किलोमिटर जमीन मिचेर खाँदा र गोली बर्साउँदासम्म पनि विरोधमा उत्रिएर बोल्न, लेख्न नसक्ने कथित राजनयिक तथा बुद्धिजीवीहरु कमारा बुद्धिजीवीहरु हुन् । यी अनुदानदाता मालिकका सेवामा गति छाडेर लागिपर्छन् । यो कुनै पनि आत्मविक्रयी मनुष्यको वाध्यता पनि हो । यसै त लत लागेकाले एक फाँको सुर्तीका लागि जङ्घारै नहेरी महानदीमा हेलिएजस्तै आत्तुरीको वाध्यता पनि हो यिनीहरुको । कति मानिसहरु यस्ता पदातुर पैसातुर सेवावृत्तिलाई कुकुरका कामकर्तव्यसित तुलना गर्छन् । तर त्यो ठीक सटीक दृष्टान्त होइन । कुकुर बरु त्यति वद्ध छैनन् । सडकगल्लीका  कुकुर त स्वच्छन्दचारी नै हुन्छन् । तर यी अनुदानग्रसित बुद्धिजीवीहरु त आत्मा बेचेर कसैका पछि लाग्न वाध्य भारवाही प्राणीहरु नै हुन् । कुकुरहरु ती प्राणाीका तुलनामा धेरै मुक्त र स्वतन्त्र छन् । त्यसैलै यिनीहरुबीच तुलना हुन सक्दैन । आत्मविक्रयी वुद्धिजीवीहरु त साँच्चिकै बिचराहरु हुन् । यिनलाई कठैबरा नभने कसलाई भन्ने ?”

“सेवा श्ववृत्तिराख्याता न तैः सम्यगुदाहृतम् । स्वच्छन्दचारी कुत्र श्वा विक्रीताशुः क्व सेवकः । अर्थात् मालिकको सेवा चाकरीलाई श्वानवृत्तिसँग जसले तुलना गरेकाछन्, त्यो सटीक तुलना होइन । श्वानराजहरु त अपेक्षाकृत स्वतन्त्र छन्, स्वेच्छाले विचरण गर्छन् । स्वतन्त्र र स्वच्छन्दचारी श्वानराजहरुसँग आत्मै बेचेर पराधीन बनेका चाकरीबाज बुद्धिजीवीहरुको तुलना नै कसरी हुनुक्छ र ?”

—सामान्यनीति ।

Title photo:https://www.hsi.org

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.