विपन्न नागरिक सेवा प्रभावहीन : निःशुल्क पाइने औषधि चर्को मूल्यमा बिक्रि !
काठमाडौं– ८३ वर्षीया चैतदेवी श्रेष्ठले ७२ सालदेखि विपन्न नागरिक औषधि कोषबाट सेवा लिइरहेकी छन् ।
सुमेरु अस्पतालबाट विपन्न नागरिक सेवा लिइरहेकी चैतदेवीले अस्पतालमा आवश्यक औषधि र किमो नपाउँदा बाहिरबाटै किन्नु परेको छ । सरकारले तोकेका सबै औषधि उपलब्ध नराउँदा धेरैले अन्य अस्पताल र फार्मेसीबाट औषधि किन्नु परेको उनको गुनासो छ ।
यस्तै पाटनकी अनु श्रेष्ठ आफ्नी ५७ वर्षीय आमाको उपचारमा खटिरहेकी छिन् । उनले आमालाई किमोका लागि वीर अस्पताल ल्याउन थालेको ३ महिना भयो । पेटको रोगी आमालाई सरकारले प्रदान गरेको निःशुल्क सेवा लिईरहदा बेलाबेलामा औषधि लिन भने बाहिरनै जान्छिन् । भन्छिन् ‘सरकारले सेवा दिने भनेपछि सबै औषधि र सेवाहरु उपलब्ध गराउनु पर्ने हो ।’ वीरको विपन्न शाखाबाट निःशुल्क पाईने औषधि पनि वीर अस्पतालकै नीजि फार्मेसीबाट महंगोमा तिरेर किन्नु उनको बाध्यता हो ।
अस्पतालमा हुन्न औषधि
वीर अस्पतालको विपन्न शाखाले दिएको जानकारी अनुसार ३२ मध्ये १९ औषधिको अभाव छ । सहुलियत औषधि कममात्रै आएको वीर अस्पतालका विपन्न शाखाका मणि श्रेष्ठले बताए । अस्पतालमा त्यस्ता औषधी अभाव भएको श्रेष्ठ स्वयं स्वीकार्दै भन्छन् ‘औषधि अभाव हँुदा विरामीले बाहिर किन्नु पर्ने बाध्ययता छ ।’ औषधि खरिदको जिम्मा विपन्न शाखालाई नै दिएसेवा राम्रो हुने उनको भनाई छ ।
औषधि सकिएपछि अस्पताल प्रशासनलाई जानकारी गराउँदा गराउँदै ३ दिन बित्ने गरेको उनको भनाई छ ।
सरकारले खर्चिला र जटिल प्रकृतिका ८ किसिमका कडा रोगहरु मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि सहुलियत प्रदान गर्दै आएको छ । यो सेवा सुरु गरेदेखि अहिलेसम्म हजारौ नेपालीहरुले सेवा लिइसकेको सरकारी दावी छ । आर्थिक वर्ष ०७३÷०७४ मा १७ हजार ४ सय ७१ विभिन्न रोगका विरामीहरुले उपचार गरेका छन् । जसमा १२ हजार ४ सय ६७ नयाँ र ५ हजार ४ सय पुराना रोगी रहेको स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधि शाखाले जनाएको छ ।
कान्तिको निःशुल्क सेवाको पनि हालत त्यस्तै
स्वास्थ्य क्षेत्रमा सरकारले प्रदान गर्दै आईरहेको निशुल्क सेवाको अवस्था धेरेजसको उस्तै छ । कान्ति बाल अस्पतालमा पनि सरकारले विपन्न नागरिक औषधि उपचार सेवा संचालन गर्ने तयारीमा छ । कान्ति बाल अस्पतालमा अहिले २ सय बालबालीकाको उपचाररत छन् । तीमध्ये क्यान्सर रोगीहरु पनि छन् । निःशुल्क सेवा प्रदान गरिदै आएको कान्तिको अन्कोलोजि वार्डमा पनि औषधि अभाव छ । विषेशतः सामाजिक सेवा इकाईमार्फत निःशुल्क सेवा प्रदान गर्दे यो अस्पतालमा समाजिक सेवा इकाइमार्फत कतिवटा औषधि दिनुपर्ने हो भन्ने ज्ञान शाखालाई नै थाहा छैन ।
सामाजिक सेवा इकाई शाखामा अनुमानका आधारमा ४ प्रकारका औषधि नै नभएको चिकित्सकहरु बताउँछन् । उनीहरु भन्छन् ‘औषधि ल्याउन कम्तीमा पनि ७ दिन लाग्छ । ७ दिनमा बल्ल औषधि आउछ त्यो पनि माग भन्दा ५० प्रतिशत कम ।’ कान्तिको अन्कोलोजि वार्डकी प्रमुख निर्मला शाहकाअनुसार एउटा क्यान्सर रोग निको हुनका लागि कम्तीमा ६ महिना देखि ३ वर्ष अथवा त्यो भन्दा धेरै समय पनि लाग्न सक्छ । त्यो समय अवधिमा ब्लड क्यान्सरको लागि १० लाख र अन्य क्यान्सरको लागि ८ लाख खर्च हुन्छ । तर सरकारले संचालन गरेको निःशुल्क सेवाले बिरामीलाई कुनै पनि सहुलियत नभएको उनको भनाई छ ।
भुक्त भोगिहरुका अनुसार विपन्न नागरिक औषधि कोषबाट दिइने १ लाखले बढीमा डेढ महिनासम्म मात्र पुग्छ ।
स्वास्थ्य मन्त्रालयमा बजेट विनियोजनका बेला कहाँकति र कुन रोगका विरामीको उपचार भइरहेको छ भन्नेबारे जानकारी नलिई हचुवाको भरमा बजेट विनियोजन गर्दा निःशुल्क सेवाभन्दा हल्ला बढि हुने गरेको उनको भनाई छ । निःशुल्क सेवा लिएका विरामीको संख्या मन्त्रालयमा पठाउनुपर्ने र संख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने उनको भनाई छ । कान्ति अस्पतालले मृगौला,मुटु र क्यान्सर रोगीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको बताएको छ । एक महिनामा मात्रै सो शाखामा किमो र एन्टीबाइटिक औषधिका लागि २५ लाख रुपैयाँ लाग्ने उनी बताउँछिन् ।
अनविज्ञ जस्तै छन् वीर अस्पतलाका प्रमुख
अस्पतालको विपन्न शाखामा हुनुपर्ने औषधी अभावबारे वीर अस्पतालका प्रमुख भूपेन्द्र बस्नेत भने विपन्न शाखामा औषधि नभएको खण्डमा अस्पताललेनै औषधि खरिदका लागि पैसा दिदै आएको दावी गर्छन् । उनलाई हामीले विरामी आफैले पैसा तिरेर औषधि किनेकोबारे पटक÷पटक जानकारी गराएपछि बल्ल उनले यसबारे बुझ्ने बताए । बस्नेतले टेण्डरअनुसार औषधि आउने भएकाले डाक्टरले लेखेर दिएको नयाँ औषधि मात्रै अभाव भएको हुनसक्ने बताए ।
सरकारी निकायको भनाई
यो आर्थिक वर्षसम्म सरकारले विपन्न नागरिकक २ अर्ब ९५ करोड ९० लाख रकम बजेट विनियोजन गरेको छ । स्वास्थ्य विभाग विपन्न नागरिक औषधि शाखामा पनि यो समस्याको बारेमा धेरै पटक गुनासो आइसेकेको छ । विपन्न शाखाबाट औषधि नपाउने र बाहिरबाट औषधि किन्नुपर्ने बाध्ययताका बारेमा अस्पताल प्रशासनसंग पटक÷पटक कुरा भएको विभागले जनाएको छ ।
औषधि सकिएको अवस्थामा अस्पतालले नै व्यवस्था गर्नुपर्ने र विरामीले बाहिरबाट औषधि खरिद गरे रसिद अनुसार रकम दिनुपर्ने विभागको भनाई छ । विपन्न नागरिक औषधि उपचार शाखाका प्रकाश घिमिरे भन्छन् ‘विपन्न सेवा संचालन गरेको उपत्यका भित्रैको धेरै अस्पतालमा यो समस्या देखियो ।’ अहिले विपन्न शाखा सञ्चालन गरेका अस्पतालमा अनुगमन भईरहेको उनले बताए ।
यस्ता छन् सेवाहरु
मृगौला वाहेक अन्य ७ प्रकारका रोगहरुको उपचारका लागि सरकारले १ लाख सहुलियत प्रदान गर्ने गरेको छ । मृगौला रोगका विरामीको उपचारका लागि डायलाइसिस निःशुल्क, मृगौला प्रत्यारोपण गर्न ४ लाख र मृगौला प्रत्यारोपणपश्चात औषधि उपचारका लागि १ लाख र मृगौला प्रत्यारोपणपूर्व मृगौला प्रदान गर्ने तथा ग्रहण गर्नेलाई ५० हजार बरावरको परिक्षण खर्च प्रदान गर्दै आएको छ । यस्तै मृगौला रोग अन्तर्गतका एक्लुल सेन्टर फेइलर (एआरएफ)का विरामीहरुलाई १ लाख बरावरको औषधि उपचार खर्च सहुलियत समेत प्रदान गर्ने व्यवस्था गरेको छ । यो सेवाको लागि ७३÷०७४ मा १ अर्ब ३३ करोड ७ लाख ५२ हजार ५ सय ५१ रुपैंया रकम विनियोजन गरिएको थियो ।
संख्याको आधारमा क्यान्सर रोगी धेरै भएपनि खर्च भने मृगौला रोगमा बढी लागेको छ । सरकारले मृगौला रोगीको लागि ६० करोड खर्च गरेको छ । यस्तै क्यान्सरको लागि करिव ३८ करोड खर्च गरिएको छ । मुटु रोगमा ३२ करोड खर्च भएको देखिन्छ । आर्थिक वर्ष २०७२÷०७३ मा १ अर्ब २ करोड खर्च भएको थियो । विपन्न शाखाको अनुसार आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब १८ करोड ९० लाख रकम विनियोजन गरिएकोे छ ।
सेवा दिने अस्पतालहरु
सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौ, त्रि.वि शिक्षण अस्पतात काठमाडौ,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पताल र वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान क्यान्सर,मृगौला,मुटु,पार्किन्सस, अल्जाईमर,हेड ईन्जुरी र स्पाईनल ईन्जुरीको उपचार गराउने ब्यवस्था गरेको छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली र कान्ति बाल अस्पतालले क्यान्सर,शहीद गंगालाल हृदय रोग उपचार केन्द्र र मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जले मुटु अनि निजामति कर्मचारी अस्पतालले क्यान्सर,सिकलसेल एनिमियाको उपचार गर्ने व्यवस्था गरेको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र,भक्तपुरमा मृगौला,पश्चिमाञ्चल क्षेत्रिय अस्पताल,पोखरा कास्की,नारायणी उप–क्षेत्रिय अस्पताल वीरगन्ज पर्सा,कोशी अञ्चल अस्पताल विराटनगर मोरङले हेमोडाइलाइसिसको सेवा प्रदान गर्दे आईरहेको छ । राप्ती उप–क्षेत्रिय अस्पताल ,घोराही,दाङ लगायतका ६८ वटा अस्पतालबाट सेवा प्रदान गर्दै आईरहेको छ ।