केन्द्रीय संस्करण

के यसरी नै चल्छन् राजनीतिक दलहरू ?

person explore access_timeअसार ३१, २०७७ chat_bubble_outline0

लोकतान्त्रिक शासन प्रणालीमा राजनीतिक दलहरू नागरिक र समाजका सारथी हुन् । नागरिकका सबैभन्दा नजिकका मित्र अर्थात् रगतको नाता नभएका तर त्योभन्दा निकट आफन्त हुन् । नागरिकका सुखदुःखका साझेदार र जनअधिकारका पहरेदार हुन् । राजनीतिक दलहरूले समाजबाटै वैधानिकता प्राप्त गर्छन् । नागरिकका विधायक प्रतिनिधिको रूपमा सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्छन् । नागरिकका आवाजलाई मुखरित गर्छन् र राजनीतिको बागडोर समातेर आर्थिक, सामाजिक लगायतका मुद्दामा वकालत गर्छन् ।

आवश्यक पर्दा र भैपरी आउने सङ्कटमा समाजको काँध थाप्छन् । एक प्रकारले समाजको रक्षा कवचको रूपमा उभिन्छन् । बाह्रैमास नागरिक हितको रक्षाका लागि चिन्तित र समर्पित हुन्छन् । लोकतन्त्र र नागरिक चाहना विपरीत कसैसँग कदापि सम्झौता गर्दैनन् । यसैलाई वास्तविक अर्थमा लोकप्रिय प्रजातन्त्र अर्थात् आधुनिक र समुन्नत लोकतन्त्र मानिन्छ । संसारमा अभ्यासमा आएका प्रजातन्त्रहरूमध्ये कतिपय प्रजातन्त्र सार्थक, उदार र गुणस्तरीय छन् । विकसित देशहरू यस्तै लोकतन्त्रको अभ्यास गरिरहेका छन् । माहात्मा गान्धी भन्छन्, स्वराजलाई सार्थकता प्रदान गर्ने साधनका धेरै विकल्पमध्ये राजनीतिक र सामाजिक सङ्गठनहरू प्रमुख हुन सक्छन् तर हामीले अझसम्म त्यस्ता भरपर्दा संस्था बनाउने सफलता प्राप्त गरिसकेका छैनौँ । 

संसारलाई सुसभ्य एवं न्याय, समानता र समुन्नतिले परिपूर्ण बनाउन लोकतन्त्र एवं विधिको शासनको परिकल्पना गरिएको हो । त्यसैले हामी निसङ्कोच भन्न सक्छौँ, लोकतन्त्र विधिपूर्वक चल्ने या चलाइने राजनीतिक प्रणाली हो । यो त्यस्तो तन्त्र हो, जसले नागरिक चाहनाको सर्वाेपरितामा विश्वास गर्छ । सीमान्तमा उभिएको अदना नागरिकको इसारा थाहा पाउँछ र नागरिक आदेशलाई नै विधायक मार्गदर्शन मान्छ । लोकतन्त्रमा यसलाई एउटा निश्चित प्रक्रियाबाट व्यवस्थित गरिन्छ र बेलाबेलामा यसको परीक्षण भइरहन्छ । यसलाई व्यवहारमा उतार्ने काम राजनीतिक दलहरूले गर्दछन् । दलहरू आफू आफैद्वारा निर्देशित विधिबमोजिम चल्ने प्रतिबद्धता व्यक्त गर्दछन् र देशलाई विधिपूर्वक चलाउने सङ्कल्प लिन्छन् । संसारका समुन्नत लोकतान्त्रिक देशहरू आफ्नै कारणले अघि बढेका हुन्, कोही परायाले बनाइदिएको होइन । दलहरू स्वयं व्यवस्थित र अनुशासित नभईकन लोकतन्त्रले लोकप्रियता र सफलता प्राप्त गर्न सक्तैन । के नेपालमा गान्धीले भनेझैँ त्यस्ता राजनीतिक र सामाजिक संस्थाहरू तयार छन् त ?

   हामी नेपालीहरूले कम्तीमा तीन पटक नेपालमा लोकतान्त्रिक शासन प्रणालीको स्थापना गर्याैं । यसको आवश्यकता महसुस भएर र संसारमा चलेका अन्य राजनीतिक प्रणालीसँग तुलना गरेरै क्रान्तिमार्फत अर्थात् जनताको सहयोगमा यसलाई अपनाउन पुग्यौँ । हुन त यो हाम्रो मौलिक परिकल्पना थिएन तथापि राम्रो र असल पद्धतिलाई अँगाल्नुलाई बुद्धिमत्ता मानिन्छ । नागरिक अधिकारको उच्च सम्मान र रक्षा अरू राजनीतिक प्रणालीबाट भन्दा लोकतान्त्रिक शासन प्रणालीमा सुनिश्चित हुने भएकाले नै यसलाई अवलम्बन गर्याैं । यसको निरन्तरता नभए पनि झण्डै सात दशकदेखि यसको थोरबहुत अभ्यास गर्दै आएका छौँ । 

  अब प्रश्न उठ्छ, के हामीले यसबीचमा सही अभ्यास गर्दै आयौँ त ? हामीले अवलम्बन गरेको लोकतान्त्रिक शासन प्रणालीलाई सार्थक र सफल तुल्याउन मुख्य भूमिका खेल्ने राजनीतिक दलहरूले कस्तो गतिविधि र व्यवहार प्रदर्शन गरे त ? सर्वप्रथम त दलहरू आफू कसरी सञ्चालित भए या आफ्ना सङ्गठनहरू कसरी चलाए ? हामी सबैलाई थाहा छ, नेपालमा कृयाशील दलहरू मुख्य गरी दुइवटा हुन् । राणाशासनको घनघोर निरङ्कुशताको अन्त्यको सङ्कल्पका साथ स्थापित लोकतान्त्रिक दल नेपाली काँग्रेस र २००७ सालको क्रान्तिमा भूमिका नभए पनि २००६ सालमा स्थापना भएर २०१५ सालको आमचुनावदेखि नेपाल कम्युनिस्ट पाटीले अस्तित्व देखाएको हो । यी दुवै पार्टीहरू नेपालको उत्तर आधुनिक राजनीतिका अभिन्नअंग हुन् । आपसमा घृणा र सहयात्रा यिनीहरूको समानान्तर पहिचान हो । एकअर्कालाई जसरी हेरे पनि या व्यवहार गरे पनि यिनीहरू आफू भने कसरी चल्दछन् त भन्ने कुरा जग जाहेर नै छ । दुवैले गम्भीर आत्मसमीक्षा गर्न जरुरी देखिन्छ । पछिल्लो राजनीतिक परिवर्तनपछि उदाएका राजनीतिक दलहरूको त निश्चित आदर्श, सिद्धान्त र  सङ्घर्षको मौलिक धरातल नै छैन । सत्ता प्राप्तिको एकसूत्रीय आराधना र प्रयत्न नै यिनको वर्तमान पहिचान हो भन्दा फरक पर्दैन । 

  अब चर्चा गरौँ काँग्रेस र कम्युनिस्ट पार्टीले आफ्नो दलको आन्तरिक जीवनलाई निर्धारित र घोषित आदर्श अनुरूप चलाएका छन् त ? कम्युनिस्ट पार्टीको आन्तरिक जीवन र काँग्रेस पार्टीको आन्तरिक जीवनमा धेरै फरक छ । आ–आफ्ना सङ्गठनात्मक पद्धतिहरू छन्, परम्परा र स्थापित अभ्यास छन् । बेलायतमा लिखित संविधान नभए पनि त्यहाँको राज्य व्यवस्था श्रुति र परम्पराले चल्दै आएको छ । दलहरू त आआफ्नो वैधानिक बन्दोवस्तअनुसार चल्ने नै भए । अहिले यहाँ संसारमा भएका अरू राजनीतिक दलहरू कसरी चलेका छन् भन्ने विषयमा चर्चा गर्न सम्भव छैन । नेपालको सन्दर्भमा दलको सञ्चालनले राज्य सञ्चालनमा गम्भीर र नकारात्मक प्रभाव पारेको छ । बारबार लोकतान्त्रिक शासन प्रणाली माथि विभिन्न कोणबाट प्रश्न उठेको छ । 

  नेपाली काँग्रेस लोकतन्त्रको पाठशाला हो । यसले आफू राम्रोसँग चल्ने मात्र होइन, अरू दलका लागि समेत गुरुकुलको काम गर्नु पर्दछ । यस दलको सङ्गठनात्मक पद्धतिलाई अरू दलले अनुशरण गर्ने लोभ देखिनुपर्दछ । काँग्रेसले अरू दलका लागि समेत लोभ लाग्दो अनुकरणीय र कम्तीमा अनुशरणीय सञ्चालन पद्धतिलाई अङ्गीकार गर्नु पर्दछ । पार्टी सञ्चालनको मूल आधार यसको विधान नै हो । विधान अभ्यास गर्नका लागि हो, सो पिस मात्र होइन । यसका व्यवस्थाहरूलाई व्यावहारिक अभ्यासद्वारा चरितार्थ गर्ने हो । नियमित अधिवेशन, नेतृत्वको नवीकरण, नीतिगत परिमार्जन, कार्यक्रम तर्जुमा र खास उद्देश्य प्राप्तिको अठोट पार्टीका नियमित र आधारभूत काम हुन । यसका अलावा अरू भैपरी आउने कामहरू त छँदै छन् । पार्टीका सबै तहका नेता र सदस्यहरूले अनिवार्य रूपमा पुरा गर्नुपर्ने काम के हो, त्यो परिभाषित हुनुपर्छ । सीमित मानिसहरू काम गरिरहने र धेरै व्यक्ति अवसर छोप्न आइपुग्ने प्रवृत्ति ठीक होइन । विशेष परिस्थितिमा पार्टी स्थापनाको समयमा संस्थापक नेताहरूले अख्तियार गरेको आन्तरिक समझदारी अहिलेका लागि पनि जुनसुकै समस्याको समाधान हुनसक्छ । 

सदस्यताको नवीकरण र वितरण दलको नियमित प्रक्रिया हो । दलको सामथ्र्य र तागत भनेकै प्रतिबद्ध सदस्यहरू हुन् । काँग्रेसका स्थायी सदस्यको रूपमा रहेका क्रियाशील सदस्यहरूको सङ्ख्या र योग्यता नै पार्टीको पुँजी हो र सङ्गठनात्मक आधार हो । यही बलमा काँग्रेसले अरू दलसँग प्रतिस्पर्धा गर्ने हो । बेलाबेलामा सदस्यहरूलाई समयसापेक्ष नीतिगत अभिमुखीकरण र ठोस मार्गदर्शन अर्काे आवश्यकता हो । अझ नयाँ पुस्तालाई नियमित मार्गदर्शन र दलको नीति सिद्धान्तको बारेमा अवगत गराउने कार्य अपरिहार्य नै छ । दलले अङ्गीकार गरेको आदर्श र विचार नै समयक्रममा दर्शन बन्छ र दलको कार्यशैली र गतिविधि संस्कृति बन्छ । त्यसैले यसका बारेमा झनै हेक्का पुर्याउनुपर्छ । के गर्ने र नगर्ने भन्ने विषयमा दलले धेरै होस पुर्याउनु पर्छ । दलका काम कारबाही आशलाग्दा, पारदर्शी र भरपर्दा हुनुपर्छ । सबैभन्दा ठूलो कुरा त नयाँ पुस्तालाई अभिप्रेरित एवं उत्साहित पार्ने दलसँग कार्यक्रम हुनुपर्छ । उसको शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र भविष्यको प्रत्याभूति हुने किसिमको योजना हुनु पर्दछ । अनि मात्र दलले युवाहरूको साथ प्राप्त गर्दछ । अझ लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने राजनीतिक दलले झनै होस पुर्याउनुपर्छ । 

  कम्युनिस्टहरूको सङ्गठनात्मक पद्धति लोकतान्त्रिक दलहरूभन्दा भिन्न हुन्छ । हुन त नेपालका कम्युनिस्टहरू आफूहरू लोकतान्त्रिक भइसकेको दाबा गर्दछन् । तथापि दस्तावेजहरू हेर्दा त्यस्तो लाग्दैन । त्यहाँ उल्लेखित प्रतिबद्धता हेर्दा लोकतान्त्रिक शासन प्रणालीलाई माध्यम बनाएर लक्ष्यतर्फ बढेको पाइन्छ । उनीहरूको तत्कालीन कार्यनीति र दीर्घकालीन रणनीतिको अङ्गको विस्तृत रूप वर्तमान गतिविधि हो भनेर बुझ्न गाह्रो हुँदैन । सिद्धान्त र उद्देश्य जे भए पनि एउटा राजनीतिक दलको रूपमा उसले गर्नुपर्ने काम र व्यवहार अरू दल जस्तै नै हो । त्यसैले उसका कामहरू समेतमा प्रस्तुतिका शैलीगत अन्तरबाहेक ठोस भिन्नता हुनु हँुदैन । जुनसुकै सिद्धान्तमा विश्वास गर्ने राजनीतिक दल भए पनि राष्ट्रको उन्नति र नागरिकको सुख दलको मूल ध्येय हुनुपर्छ । फेरि बहुदलीय लोकतन्त्रको अभ्यासमा रहदाँसम्म नागरिकको चासो र सरोकार दलप्रति रहिरहने भएकाले अर्काे लोकतान्त्रिक दलझैँ कम्युनिस्ट पार्टीले पनि आफूलाई खुला किताबझैँ पारदर्शी राख्न सक्नुपर्दछ । 

  अब प्रश्न उठ्छ के नेपालका राजनीतिक दलहरूले दलको सैद्धान्तिक र व्यावहारिक मापदण्ड पूरा गरेका छन् त ? उत्तर सहजै दिन सकिन्छ । अहिलेसम्म नेपालका राजनीतिक दलहरूले सिद्धान्तमा बाहेक व्यावहारिक अभ्यासद्वारा आफूलाई प्रमाणित गर्न सकेका छैनन् । कम्युनिस्ट पार्टीको कुरा छाडौँ, जन्मजात लोकतन्त्रवादी दल नेपाली काँग्रेसले पनि आफ्नो आन्तरिक जीवनलाई पूर्ण प्रजातान्त्रिक बनाउन सकेको देखिँदैन । जथाभावी बोल्न पाउनु मात्र आन्तरिक लोकतन्त्र होइन । सच्चा लोकतन्त्रमा बरु मनपरी बोल्न पाइँदैन । जब दलका गतिविधिमा पूर्ण लोकतन्त्र देखिँदैन, नागरिक मूल्याङ्कन फरक भइहाल्छ । फेरि लोकतन्त्र व्यवहारले सिद्ध गर्नुपर्ने राजनीतिक प्रणाली हो । बोलेर मात्र पुग्दैन, यस प्रणालीलाई काम गरेर सिद्ध गर्नुपर्छ । कम्युनिस्ट पार्टीको त फरक कुरा भइहाल्छ । अन्ततः जनवादी केन्द्रीयताले सबै कुरालाई गौण तुल्याइदिन्छ । 

  त्यसैले नेपालका राजनीतिक दलहरूले आफूलाई पूरै सुधार गर्नुपर्छ । अहिले नागरिकहरू दलका गतिविधिसँग पटक्कै सन्तुष्ट छैनन् । यसको पर्याप्त सूचना दलहरूलाई छ, तथापि सुध्रने बाटोमा नहिँड्ने प्रवृत्ति खतरनाक छ । दललाई पार्टीका मुख्य नेताले आफ्नो निजी सम्पत्ति ठान्ने प्रवृत्ति व्याप्त छ । दलका अधिवेशनहरू समयमा हुँदैनन्् । भ्रातृ वा वर्गीय सङ्गठनहरू आफ्नो उद्देश्य छाडेर अन्तै बरालिएको पाइन्छ । आफ्नो मुख्य काममा कुनै चासो देखिँदैन । दण्ड र पुरस्कारको व्यवस्था छैन । मिहिनेत गर्ने र केही पनि काम नगर्नेका बीच कुनै भेद छैन । अझ केही काम नगर्ने व्यक्ति नेता रिझाएर अघि बढेको देखिन्छ । सरकारमा गएको बेला प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगर्ने व्यक्ति दण्डित भएको वा निरुत्साहित भएको पाइँदैन । जनप्रतिनिधिले आफूलाई सदैव मतदाताका बीचमा राख्नुपर्नेमा निहित स्वार्थमा डुबेको देखिन्छ । यस्तो हुँदा पनि दलले सचेत गराएको पाइँदैन । र त्यस्तै व्यक्तिले बारम्बार अवसर पाउने गरेका छन् । यी सबै घटनाहरूलाई नागरिकले सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको हुन्छ । त्यति मात्र होइन दलका नेताहरू देश र नागरिकप्रतिको दायित्व बिर्सिएर आफ्नो पद र प्रतिष्ठाका लागि खुलेआम कलहमा उत्रनुले दलको प्रतिष्ठा बढाउँदैन । यस्ता दलहरूप्रति नागरिकको मनमा श्रद्धा बाँकी रहँदैन । त्यसैले नेपालका ठूला र नवोदित दल समेतले आफ्नो कार्यशैलीमा आमुल सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.