शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनका अस्पतालहरुबाट वार्षिक १५ लाखभन्दा बढीले लिन्छन् सेवा

बुधबार, ३१ असार २०७७, १३ : ५८
बुधबार, ३१ असार २०७७

चितवन । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनका अस्पतालहरुमा वार्षिक १५ लाखभन्दा बढीले सेवा लिने गरेको पाइएको छ । यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालहरुमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् ।

 स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार गत वर्ष अस्पतालहरुबाट आठ लाख ५३ हजार ४१० जनाले बहिरङ्ग सेवा लिएका छन् । यसका अतिरिक्त विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक लाख २५ हजार ४१ जनाले सेवा लिएका छन् । भरतपुर आँखा अस्पताल र यसका शाखाबाट गत वर्ष दुई लाख आठ हजार ६४० जनाले सेवा लिएका छन् । निजी क्लिनिकहरुमा दुई लाखभन्दा बढीले सेवा लिएको अनुमान छ ।

    जिल्लाका ३० वटा अस्पतालमा बिरामीको उपचार गरिँदै आएको छ । तीमध्ये प्रसूति सेवा दिने अस्पतालहरुबाट गत वर्ष १७ हजार चार सय २२ जनाले सेवा लिएका छन् । आकस्मिक सेवा र क्लिनिकहरुबाट सेवा लिनेहरुको यकिन तथ्याङ्क छैन । तर जिल्लाका सबै अस्पतालमा गरी आकस्मिकमा  एक लाखभन्दा बढीले सेवा लिने गरेको चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेले बताए । 

उनका अनुसार भरतपुर अस्पतालमा दैनिक एक सय, चितवन मेडिकल कलेजमा ७५, कलेज अफ मेडिकल साइन्सेसमा ५० र अन्य अस्पतालहरुमा ५० को हाराहारीले आकस्मिक सेवा लिने गरेका छन् ।

चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार सङ्घमा ३९७ सदस्य छन् । सदस्यता नलिएकासहित चिकित्सकको सङ्ख्या पाँच सयभन्दा बढी रहेको उनको भनाइ छ ।

    जिल्लामा सबैभन्दा बढी भरतपुर अस्पतालमा बिरामीले सेवा लिने गरेको तथ्याङ्क छ । अस्पतालको तथ्याङ्कअनुसार देशका १९ जिल्लाका बिरामीले यहाँबाट सेवा लिने गरेका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत वर्ष बहिरङ्ग सेवामा दुइ लाख ८० हजार २३३, आकस्मिकमा ३५ हजार ८३४ र भर्ना बिरामी ६० हजार ८५२ रहेका थिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप