विदेशी मास्क, सेनिटाइजरको आयात रोक्न माग गर्दै औषधि उत्पादक संघ आन्दोलनमा

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) सरकार विरुद्ध आन्दोलित भएको छ । कोभिड–१९ का बीच अत्यावश्यक मानिएको मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरु नेपालमै उत्पादन हुँदाहुँदै सरकारले विदेशी उत्पादनलाई प्राथमिकता दिएर स्वदेशी उत्पादन र उद्योगको उपेक्षा गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
मास्क, सेनिटाइजर लगायतका अत्यावश्यक मेडिकल सामाग्री उच्च क्वालिटीमा नै उत्पादन गर्ने क्षमता स्वदेशी उद्योगहरुमा हुँदाहुँदै सरकारले स्वदेशी उद्योग र उत्पादन दुबैलाई उपेक्षा गर्दै विदेशी कम्पनीहरुलाई प्राथमिकता दिएको संघको आरोप छ ।
उक्त कार्य तत्काल रोकी स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकता दिन संघले सरकारसँग माग गरेको छ ।
संघले गत २०७४ जेठ १७ गते भएको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै औषधिमा आत्मनिर्भर उन्मुख गराउने समझादारीको कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
विदेशी उत्पादनको आयात र प्रयोगको विरुद्धमा केही दिनदेखि राजधानीमा चरणवद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरुले ५ बुँदे माग राख्दै आज पनि आन्दोलन जारी राखेका छन् ।