शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीस बैङ्कमा प्रधानमन्त्री ओलीको साढे ५ मिलियन डलर रहेको समाचार झुटो हो : प्रेस सल्लाहकार थापा

बुधबार, ३१ असार २०७७, ०९ : २७
बुधबार, ३१ असार २०७७

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैङ्कको खातामा साढे ५ मिलियन अमेरिकी डलर रहेको रिर्पोट तथाकथित र कपोलकल्पित भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै सल्लाहाकार थापाले  ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्प्रेषणप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले स्वीस बैंकमा खाता र साढे ५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको उल्लेख गरेका छन् । उनले भनेका छन् –‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूको रवैया खेदजनक छ ।’

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गरेका बेला प्रधानमन्त्रीको बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्न अनेकन तत्त्वहरू सक्रिय रहेको उनको दावी छ ।

उनले यस्ता दुष्प्रचारको भ्रममा नपर्न आग्रह गर्दै त्यस्ता कार्यमा संलग्नको कारवाहीको माग गरेका छन् । उनले भनेका छन्–‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।’

केही दिनयता अनलाइन समाचार साइटहरुमा ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिँदै प्रधानमन्त्री ओलीको स्वीस बैंकमा साढे ५ मिलियन अमेरिकी डलर रहेको समाचार प्रकाशन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप