केन्द्रीय संस्करण
दर्शन र जीवन

बुद्धले दिएको सफलताको तेस्रो सूत्र : सम्यक वचन

आवश्यक परेको बेला बुद्धले पनि रुखो बोलेका छन्, तर बिरलै र विशेष परिस्थितिमा मात्र

person explore access_timeअसार ३१, २०७७ chat_bubble_outline0

वास्तविक बोलाइ

आजको व्यावसायिक युगमा सञ्चार सीप (कम्युनिकेशन स्किल) को महत्त्व कति छ भनेर भनिरहनु पर्दैन । व्यवसायको लागि त भइ नै हाल्यो,व्यक्तिगत सम्बन्धमा सुमधुरताको लागि पनि सञ्चार सीप उत्तिकै महत्त्वपूर्ण छ । हामी एक अर्कासित बोलेरै सम्बन्ध राख्छौं,चाहे ती हाम्रा ग्राहक होउन् वा साथी वा आफ्नो परिवारका सदस्य । सञ्चारबाटै हामीले हाम्रा भावनाहरू आदानप्रदान गरिरहेका हुन्छौं,चाहे ती खुशीका भावना होउन् वा असन्तुष्टिहरूका । त्यसैले आजका लीडरशिप,म्यानेजमेन्टका गुरूहरू अनि मनोविज्ञानका विद्वानहरूले प्रभावकारी सञ्चार सीपलाई विशेष महत्त्व दिएका छन् । तर बुद्धले २५०० वर्षअघि नै आफ्नो सूत्रमा सम्यक वचनमार्फत यो कुरा समावेश गरिसकेका थिए ।

बुद्धको सफलताका आठ सूत्र अर्थात अष्टांग मार्गको तेश्रो सूत्र हो सम्यक वचन । साँच्चिकै पनि,वचन सम्यक नभई कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सम्भव छैन । जतिसुकै अरू सीप जाने पनि सञ्चार सीप भएन भने प्रगतिमा बाधा पर्छ । तर प्रभावकारी सञ्चारका सीप जानेकालाई भने कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न कुनै कठिनाइ हुँदैन । यो कुरा हामीले देखिरहेकै हो ।


, वचन सम्यक नभई कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सम्भव छैन । जतिसुकै अरू सीप जाने पनि सञ्चार सीप भएन भने प्रगतिमा बाधा पर्छ । तर प्रभावकारी सञ्चारका सीप जानेकालाई भने कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न कुनै कठिनाइ हुँदैन ।


सञ्चारको विस्तृत परिधि र गहिराइ

कतिपय मानिसहरू भन्ने गर्छन् कसरी राम्ररी बोल्ने होला,मलाई त बोल्ने आत्मविश्वास नै छैन । निश्चय पनि बोलाइसञ्चार सीपको एउटा पक्ष हो,तर बोल्न जाँदैमा मात्र पनि सञ्चार सीप राम्रो भएको मान्न सकिँदैन । सञ्चार सीपका विविध आयाम छन् । सञ्चारको परिधि धेरै ठूलो छ । सम्यक वचन बुझ्नलाई सञ्चारलाई गहिराइमा बुझ्नु आवश्यक छ । सञ्चार सीपलाई राम्ररी प्रयोग गर्न जानियो भने जीवनमा प्रभावकारिता आउने मात्र होइन,यसले जीवनमा आध्यात्मिकता पनि प्रवद्र्धन गर्छ । सुन्नुबोल्नु आफैं एउटा गहिरो ध्यान विधि हुनसक्छ । त्यसैले यहाँ सञ्चार सीपकै विषयमा विस्तृत र गहिराइमा छलफल गरिन्छ ।

ध्यानपूर्ण सञ्चार गर्ने हो भने हामीले बोलाइमा मात्र ध्यान दिएर पुग्दैन । बोलाइ त सञ्चारका चार आयाममध्ये एक आयाम मात्र हो ।

सञ्चारका चार आयामहरू हुन्

१. सुनाइ (लिसनिंग)

२. बोलाइ (स्पिकिंग)

३. प्रश्न गराइ (क्वेसनिंग)

४. मौनता (साइलेन्स)

यिनैलाई सञ्चारका चार सीप पनि भनिन्छ । यी सीप किन हुन् भने तपाईंले प्रशिक्षण र अभ्यासबाट विकास गर्नुपर्ने कुरा हुन्,जन्मजात आउने होइनन् ।

अब हामी हरेक आयामलाई विस्तृतमा छलफल गर्छौं ।

१. सुनाइ सीप

हामी सञ्चारको पहिलो सीप बोलाइ भन्ठान्छौं,यो नै ठूलो भूल हो । सञ्चारको पहिलो सीप होसुनाइ । सूफी सन्त कवि रूमी भन्छन्, ‘बोल्नको लागि पहिला सुन्नुपर्छ । त्यसैले सुनेर बोल्न सिक ।हामीलाई त्यो मान्छे मनपर्छ जसले हाम्रो कुरा सुन्छ र बुझ्छ । हरेक मानिसलाई आफूलाई बुझिदिने मानिस मनपर्छ । कसैलाई बुझ्ने सजिलो तरीका हो,उसलाई सुन्नु । कति मानिसहरू बोल्न सिक्न गाह्रो छ भन्छन्,तर वास्तवमा बोल्नभन्दा सुन्न धेरै गाह्रो छ । यो कुरा सुनाइको अभ्यास गर्दा थाहा पाइन्छ ।

वास्तवमा सुनाइ भनेको सिकाइपनि हो । हामीले कसैको कुरा राम्ररी ध्यान दिएर सुन्दा धेरै कुरा सिक्ने अवसर मिल्छ । त्यसैले दलाई लामा भन्छन्, ‘बोल्दाखेरि तिमी आफूले जानेका कुरा मात्र दोहर्‍याइरहेका हुन्छौ,तर सुन्दाखेरि तिमीले नयाँ कुरा पनि सिक्नसक्छौ ।यसको लागि हामीले ध्यानपूर्वक सुन्नुपर्छ,केवल शव्दै मात्र पनि होइन,सम्पूर्ण अशाव्दिक (नन् भर्बल) क्रियाकलाप पनि ।

अँग्रेजीमा सुन्नुको लागि Listen भनिन्छ । सञ्चारको प्रशिक्षणमा म सहभागीहरूलाई सोध्ने गर्छु Listen शव्दका हिज्जेलाई प्रयोग गरी अर्को कुन शव्द बनाउनसकिन्छ ? केही प्रयासपछि सहभागीहरूले पत्तालगाउँछन्, त्यो शव्द हो Silent । यसको अर्थ हो, हामी शान्त नभईकन अरूको कुरा पूरै सुन्नसक्दैनौं । त्यो Silent  वा मौन भनेको मुखले नबोल्नु मात्र होइन, दिमाग पनि शान्त हुनु हो । यसैलाई ‘मौनता’ पनि भनिन्छ । साधारणतया हामी अरुको कुरा सुन्दा मनमा आफ्नै कुरा खेलाइरहेका हुन्छौं । कहिलेकाहीं त यसले कहिले बोल्न सक्याउँला अनि आफूले यो भनूँला त्यो भनूँला भनेर आफ्नो बोल्ने पालो मात्रै कुरिरहेका पनि हुन्छौं । यस्तो कुरा घरपरिवारमा पनि धेरै हुन्छ । त्यसैले परिवारका सदस्यहरूको एउटै गुनासो हुन्छ — मेरो कुरै सुन्दैन, मेरो कुरै बुझ्दैन । सम्बन्धहरूमा धेरैजसो समस्या अपर्याप्त वा गलत सुनाइले हुनेगर्छ । वास्तवमा कुरा सुन्नु भनेकै माया गर्नु पनि हो ।


परिवारका सदस्यहरूको एउटै गुनासो हुन्छ — मेरो कुरै सुन्दैन, मेरो कुरै बुझ्दैन । सम्बन्धहरूमा धेरैजसो समस्या अपर्याप्त वा गलत सुनाइले हुनेगर्छ । वास्तवमा कुरा सुन्नु भनेकै माया गर्नु पनि हो ।


व्यापारिक कम्पनीहरूमा पनि सुनाइकै समस्या हुनेगरेकोले सक्रिय सुनाइ’ (एक्टिभ लिस्निंग) को तालिम दिइन्छ । परम्परागत रूपमा सुन्नुलाई निष्क्रिय कार्यको रूपमा लिइन्छ । तर सक्रिय सुनाइले सुन्ने मानिस पनि सक्रिय भएर सुन्नुपर्छ भनिन्छ । यो सक्रियता भनेको ध्यान केन्द्रित गरेर सुन्ने भनेको हो । धेरैजसो व्यापारिक कम्पनीहरूका प्रशिक्षणमा सक्रिय सुनाइ मात्र समावेश गरिन्छ । तर सुनाइको गहिराइमा जाने हो भने अन्य तह पनि छन् । त्यसभन्दा गहिरो तहको सुनाइ हो भावनात्मक सुनाइ (एमप्याथेटिक लिस्निंग) । यसले तथ्य मात्रै नभएर मानिसको मनमा चलिरहेको भावनालाई बुझ्न मदत गर्छ । त्यस्तै सुनाइको अर्को तह छ सहकार्यको लागि सुनाइ (लिस्निंग फर म्यूचुअल क्रियटिभिटि) । यसमा मानिसहरूबीच उत्साहपूर्ण सम्वादमार्फत् सहकार्यको वातावरण पनि सिर्जना गर्छ । सहकार्यमा अघि बढ्न दुवै पक्षका जिम्मेवारी पनि निश्चित गर्छ । यो आपसी सहयोग र टीमवर्कको लागि नभई नहुने कुरा हो । त्यस्तै मार्शल रोजेनबर्गको अहिंसात्मक सञ्चार (नन्भ्वाइलेन्ट कम्यूनिकेशन) पनि समस्या समाधान र सम्बन्धहरूमा सुमधुरताको लागि अत्यन्त प्रभावकारी छ । (सञ्चारका यी विधिहरू एउटा लेखमै सिकाउन सम्भव छैन । यसको लागि कि त प्रशिक्षण र अभ्यास नै चाहिन्छ ।)

वास्तवमा बिना कुनै आग्रह,पूर्वाग्रह सुन्नु आफैंमा एक किसिमको ध्यान हो । ध्यानको लागि आँखा चिम्लेरै बस्नुपर्छ भन्ने होइन । जर्मन उपन्यासकार हर्मन हेसको विश्वप्रसिद्ध उपन्यास सिद्धार्थको मुख्य पात्र सिद्धार्थ नदीको आवाज सुन्दै,त्यही सुनाइमा डुब्दै मोक्ष प्राप्त गर्दछ । मोक्ष प्राप्त गर्ने बुद्धको उपाय पनि त्यही छ हेराइमा हेराइ मात्र रहोस्,सुनाइमा सुनाइ मात्र रहोस् । यो उच्च तहको विपस्सना अभ्यास हो ।

२. बोलाइ सीप

धेरै मानिसले बोलाइ भने पनि शब्द मात्र सम्झन्छन् । सञ्चारमा भएका विश्वव्यापी अनुसन्धानहरूले शव्दबाट सात प्रतिशत मात्रै सञ्चार हुने बताएका छन् । त ९३ प्रतिशत सञ्चार केबाट हुन्छ त ?

शाव्दिक सञ्चार (भर्बल कम्युनिकेशन) बाट सात प्रतिशत सञ्चार हुन्छ भने अशाव्दिक सञ्चार (नन्भर्बल कम्युनिकेशन) बाट ९३ प्रतिशत सञ्चार भइरहेको हुन्छ । त्यो अशाव्दिक सञ्चारभित्र पर्छन्

१. हाम्रो अनुहारको भाव (फेसियल एक्सप्रेशन)

२. शरीरका हाउभाउहरू (बडी ल्याङ्ग्वेज)

३. बोेलीको आवाज (टोन अफ भ्वाइस)

वास्तवमै पनि शव्दले भन्दा धेरै हाम्रो शरीरको हाउभाउ र बोलीको आवाजले बढी बोलिरहेको हुन्छ । त्यसैले प्रभावकारी सञ्चारको लागि हामीले आफू बोल्दा आफ्ना यी अशाव्दिक सञ्चार पनि ख्याल गर्नुपर्छ । साथै अरू बोलिरहँदा तिनका अशाव्दिक सञ्चार पनि ख्याल गर्नुपर्छ । अशाव्दिक सञ्चार किन पनि धेरै महत्त्वपूर्ण छ भने हामीले बोल्नअघि नै हाम्रो मुहार र शरीरका भंगिमाहरूले बोलिसकेका हुन्छन् । ती हिंसा,आक्रमण,असन्तुष्टि जस्ता नकारात्मक भाव पनि हुनसक्छन् वा प्रेम र विश्वास जस्ता सकारात्मक भाव पनि ।


वास्तवमै पनि शव्दले भन्दा धेरै हाम्रो शरीरको हाउभाउ र बोलीको आवाजले बढी बोलिरहेको हुन्छ । त्यसैले प्रभावकारी सञ्चारको लागि हामीले आफू बोल्दा आफ्ना यी अशाव्दिक सञ्चार पनि ख्याल गर्नुपर्छ । साथै अरू बोलिरहँदा तिनका अशाव्दिक सञ्चार पनि ख्याल गर्नुपर्छ । अशाव्दिक सञ्चार किन पनि धेरै महत्त्वपूर्ण छ भने हामीले बोल्नअघि नै हाम्रो मुहार र शरीरका भंगिमाहरूले बोलिसकेका हुन्छन् ।


आफ्नो र अरूका यी अशाव्दिक सञ्चारमा ध्यान दिँदा सञ्चारमा प्रभावकारिता त आउँछ नै । साथै यो ध्यान दिनु नै एक किसिमको ध्यान विधि पनि हुनजान्छ । यसले सञ्चारमा सजगता ल्याउँछ जुन अहिले  माइन्डफुलनेस शव्दबाट लोकप्रिय छ । यसलाई हामी चेतनशील सञ्चार भन्नसक्छौं वा अँग्रेजीमा  माइन्डफुल कम्युनिकेशन

बुद्धले वचनद्वारा यी चार कार्य नगर्नू भनेको छन्

*झूठो बोल्ने

*चुक्ली गर्ने

*रूखो वा कडा वचन बोल्ने

*बेकारका कुरा वा फन्टुस कुरा गर्ने

 सर्सती  विचार गर्दा यो कस्तो पुरानो खालको धार्मिक उपदेशजस्तो लाग्न सक्ला । तर हामी देख्छौं,देशका ठूला नेताहरूदेखि साना कर्मचारीसम्म पनि यी कार्यबाट बचेका छैनन् । व्यासायिक (प्रोफेशनल) बन्नुपर्ने कार्यालयहरूमा पनि बढाइचढाइ कुरा गर्ने,कुरा बङ्ग्याउने काम गरिरहेको पाउँछौं । यस्ता कामको लागि अँग्रेजीमा यी शव्दहरू प्रचलित छन् म्यानिपुलेट,जस्टिफाइ,राशनलाइज । वास्तवमा राशनलाइजको अर्थ हुन्छ राशनल + लाइज (तर्कयुक्त झूठ) । त्यसैले सञ्चार सीपका प्रशिक्षणहरूमा विशुद्ध बोलाइ (अथेन्टिक स्पीकिंग) को अभ्यास गराइन्छ । व्यावसायिक बन्ने वा नेतृत्व वहन गर्नेले बोल्ने कुरा प्रामाणिक हुनुपर्छ ।

बोलाइको बारे एउटा प्रचलित भनाइ छ,जसलाई बोलाइको मापदण्ड बनाउनसकिन्छ ।

बोल्नअघि सोच्नू

*के यो सत्य हो ?

*के यो आवश्यक छ ?

*के यसले भलो गर्छ ?

बोल्नअघि यी तीन कुरामा ध्यान दिनसके हाम्रो बोलीको वजन बढ्छ । हामीले आफ्नो बोली,अनि बोल्दाखेरिका अशाव्दिक व्यवहारमा ध्यान दियौं भने पनि मानिसको प्रवृत्ति धेरै छर्लंग हुन्छ । हाम्रो बोली धेरै नै अनावश्यक हिंसा र आक्रमणहरूले भरिएका हुन्छन् । अरूलाई व्यंग्य गर्नपाइयो,होच्याउन पाइयो,तीखो जवाफ फर्काउन पाइयो भने हामी युद्ध जितेको अनुभव गर्छौं । तर तिनै कुरा आफूमाथि गरियो भने चित्त दुखाउँछौं ।


हामीले आफ्नो बोली, अनि बोल्दाखेरिका अशाव्दिक व्यवहारमा ध्यान दियौं भने पनि मानिसको प्रवृत्ति धेरै छर्लंग हुन्छ । हाम्रो बोली धेरै नै अनावश्यक हिंसा र आक्रमणहरूले भरिएका हुन्छन् । अरूलाई व्यंग्य गर्नपाइयो, होच्याउन पाइयो, तीखो जवाफ फर्काउन पाइयो भने हामी युद्ध जितेको अनुभव गर्छौं । तर तिनै कुरा आफूमाथि गरियो भने चित्त दुखाउँछौं ।


हामीले आफ्नो बोली केलायौं भने पाउँछौं कि अधिकांश हाम्रो बोलीले आफू ठीक र अरू बेठीक प्रमाणित गर्न खोजिरहेको हुन्छ । बोली बाहिरबाट आक्रामक नदेखिँदा पनि सूक्ष्म रूपमा त्यो हिंसात्मक भइरहेको हुन्छ । दुइ मानिस बोलिरहेका त हुन्छन्,तर त्यहाँ साँच्चिकै सञ्चार भइरहेको छ भन्न अत्यन्त गाह्रो छ । जर्ज बर्नाड शा यस कुराको ख्याल गर्छन् र भन्छन्, ‘सञ्चारमा सबभन्दा ठूलो भ्रम नै यही हो कि सञ्चार भइरहेको छ ।यो कुरा वर्षैं सँगै बसेका जोडीमा पनि लागु हुन्छ ।

यहाँनेर प्रश्न उठ्छ के हामी सधैं मीठो बोलिरहनुपर्ने हो ?माथि रुखो नबोल्ने पनि भनियो । आवश्यक परेको बेला बुद्धले पनि रुखो बोलेका छन्,तर बिरलै र विशेष परिस्थितिमा मात्र । रुखो बोल्ने होस् वा गफ गर्ने,आदतकै रूपमा जहिलेसुकै नगर्नू भनिएको हो । मुख्य कुरा,हामी आफ्नो आदतअनुसार एउटै ढाँचामा व्यवहार गरिरहेका हुन्छौं । हाम्रा क्रियाप्रतिक्रियाहरू आआफ्नो बानीअनुसार सचेत रूपमा नभएर अचेत रूपमै चलिरहेका हुन्छन् । ध्यान दिने,सजग हुने भनेकै सो बानीलाई तोडेर सजगसचेत व्यवहार गर्नु हो । सुनाइजस्तै बोलाइ पनि सजग भएर सम्पादन गरियो भने त्यो पनि ध्यान नै बन्छ । यसबाट हामीले आफ्नो प्रवृत्तिको बारेमा अहिलेसम्म थाहा नपाएका धेरै कुरा थाहा पाउन सक्छौं ।

ग्रीसेली दार्शनिक एरिस्टोटलको प्रख्यात वाणी छ, ‘नरिसाउनु ठूलो कुरो होइन । कुनबेला,कोसित,केको लागि कति रिसाउने भन्ने ठूलो कुरा हो ।यो सम्यक स्मृति वा माइन्डफुलनेसकै कुरा हो ।

३. प्रश्न गर्ने सीप

जापानको जेन बौद्धधर्मको एउटा प्रख्यात शव्दावली छ— ‘खालि कचौराजस्तो दिमाग’ (जेन एमप्टि कप अफ माइन्ड) ।

बौद्ध दर्शनको एउटा प्राध्यापक जेन गुरूलाई भेट्न आउँछन् । प्राध्यापकले आफू बौद्ध दर्शनको सम्बन्धमा छलफल गर्न आएको बताउँछन् । जेन गुरू भन्छन्, ‘पख्नु,पहिला चिया खाउँ। जेन गुरूले प्राध्यापकको अघि एउटा कचौरामा चियादानीबाट चिया खन्याउँछ । चियाको कचौरा भरिसक्दा पनि गुरूले अझै चिया खन्याउँदै गर्छ । चिया भुइँमा पोखिनथाल्छ ।

आँत्तिदै प्राध्यापक बोल्छ, ‘गुरूजी कचौरा भरिसक्यो । चिया पोखिँदै छ ।

गुरू हाँस्दै भन्छ, ‘कचौरा भरिएपछि पोखिँदो रहेछ हगि ?’

प्राध्यापक छक्क पर्दै भन्छ, ‘हो नि त,त्यति पनि थाहा छैन र,गुरूलाई ?’

गुरू भन्छ, ‘तपाईं बौद्ध दर्शनको प्राध्यापक । तपाईंको दिमाग यो चियाको कचौराजस्तै विद्वताले भरिएको छ । त्यसैले मैले जे जति कुरा गरे पनि त्यो तपाईंको दिमागबाट पोखिने छ । यदि नयाँ कुरा जान्नु छ भने पहिला दिमागमा केही खालि ठाउँ बनाउनुपर्छ ।

हो,हामीले कसैको कुरा सुन्दा हाम्रो दिमाग पहिलाकै ज्ञानले भरिएको छ भने त्यसले नयाँ कुरा ग्रहण गर्नसक्दैन । नयाँ कुरा जान्नबुझ्न उत्सुकता हुनुपर्छ,जिज्ञासा हुनुपर्छ । कसैले भनेको कुरा राम्ररी बुझ्नको लागि जिज्ञासु प्रश्न हुनु आवश्यक छ ।


हो, हामीले कसैको कुरा सुन्दा हाम्रो दिमाग पहिलाकै ज्ञानले भरिएको छ भने त्यसले नयाँ कुरा ग्रहण गर्नसक्दैन । नयाँ कुरा जान्न–बुझ्न उत्सुकता हुनुपर्छ, जिज्ञासा हुनुपर्छ । कसैले भनेको कुरा राम्ररी बुझ्नको लागि जिज्ञासु प्रश्न हुनु आवश्यक छ ।


नेतृत्वको स्थानमा बस्नेले त प्रश्न गर्ने सीप झनै बढी सिक्नु आवश्यक छ । उनीहरूले आफूले जानेका कुरा उपदेशको रूपमा बताउँदैनन् । राम्रो नेताले प्रश्न गर्छन् कि उनका मानिसहरूले प्रश्नको उत्तर आफैं खोज्न समर्थ होउन् । सिर्जनात्मक प्रश्न गर्ने सीप तिखार्नाले सञ्चार सीप पनि तिखारिन्छ ।

मौनता

धेरैलाई अचम्म लाग्नसक्छ,मौनता कसरी सञ्चार सीपमा पर्नसक्छ ?तर पाश्चात्य जगतमा विकसित मनोविज्ञान अनि सञ्चारका अनुसन्धानहरूले मौनतालाई सञ्चारको प्रमुख अङ्गको रूपमा स्वीकारेका छन् । पूर्वीय ज्ञानमा त मौनताले धेरै गहिरो अर्थ राख्दछ ।

निश्चय पनि, हामीलाई अटूट रूपमा बोल्ने मानिस मनपर्दैन । त्यस्तोलाई सञ्चारमा ‘टक सिक’ (Talk sick) व्यक्ति भनिन्छ । भनिन्छ, ‘टक सिक’ व्यक्ति सञ्चारको लागि टक्सिक (Toxic) हुन्छ रे । अरुलाई बोल्नै नदिई एक्लैले धेरै बोल्नुभन्दा अशोभनीय कार्य अरू हुँदैन ।

सुन्दा त हामी मौन हुनैपर्छ । बोल्दा पनि बी–बीचमा थोरै रोकिनुपर्छ, खालि ठाउँ (Pause)  दिनुपर्छ । सम्वाद भनेको दोहोरो हुन्छ । अर्कोलाई बोल्ने मौका पनि दिनुपर्छ । ब्लान्चार्ड र जोनसनको प्रसिद्ध पुस्तक वान मिनेट मेनेजरपुस्तकले भन्छ,दोहोरो सम्वादमा एक व्यक्तिले एक मिनेटभन्दा लामो बोल्नुहुँदैन । राम्ररी सोचेर बोलियो भने एक मिनेट भनेको धेरै लामो समय हो,र एक मिनेटमा थुप्रै कुरा भन्न भ्याइन्छ । बोलाइको बीचबीचमा आउने मौनता पनि अर्थपूर्ण हुन्छ । शव्दले नभनेका कुरा त्यसले भनिरहेको हुन्छ । भनिन्छ, ‘मौनता रिक्त छैन,त्यसैमा धेरै उत्तर भेटिन्छ ।


सम्वाद भनेको दोहोरो हुन्छ । अर्कोलाई बोल्ने मौका पनि दिनुपर्छ । ब्लान्चार्ड र जोनसनको प्रसिद्ध पुस्तक ‘वान मिनेट मेनेजर’ पुस्तकले भन्छ, दोहोरो सम्वादमा एक व्यक्तिले एक मिनेटभन्दा लामो बोल्नुहुँदैन । राम्ररी सोचेर बोलियो भने एक मिनेट भनेको धेरै लामो समय हो, र एक मिनेटमा थुप्रै कुरा भन्न भ्याइन्छ । बोलाइको बीचबीचमा आउने मौनता पनि अर्थपूर्ण हुन्छ ।


पूर्वीय ज्ञानले आन्तरिक मौनताको पनि कुरा गर्छ । जब हाम्रो मन शान्त हुन्छ,मनमा अनावश्यक कुरा खेल्दैन,तब प्रभावकारी रूपमा आवश्यक कुराको चिन्तन गर्नसकिन्छ । वास्तवमा के भनिन्छ भने बुद्धत्व प्राप्तिदेखि परिनिर्वाणतकै बुद्ध मौन रहे । प्रश्न उठ्नसक्छ,अनि कसरी त्यति धेरै बौद्ध शास्त्र जन्मिए त ?के ती बुद्ध वचन होइनन् र ?वास्तवमा बुद्धको चित्त अत्यन्त शान्त र मौन थियो । उनको बोली त्यही गहिरो मौनबाट उब्जेका हुन् । तब त उनले बोलेका शव्द नै शास्त्र बने । हाम्रो त मौनै पनि कोलाहलले भरिएको हुन्छ ।

(आर. मानन्धर दर्शनशास्त्रका अध्येता हुन् । बाल्यकालमा उनी पाँच वर्ष बौद्ध विद्यार्थी भई थाइल्याण्डमा अध्ययन गरेका थिए । उनले अन्तर्राष्ट्रिय संस्थाहरूमा दुई दशक बिताइसकेका छन् र हाल उनी नेतृत्वसीप,व्यवस्थापन र माइन्डफुलनेशका प्रशिक्षक हुन् ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.