बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘सपनै भनिरहेथें, माटोको ढिस्कोले छोपी सकेछ’

मङ्गलबार, ३० असार २०७७, २२ : ४३
मङ्गलबार, ३० असार २०७७

कास्की । ‘केही पनि था छैन । एक्कासि सास फेर्न गाह्रो भयो । मलाई माटोको ढिस्काले छोपी सकेको रहेछ, सपनै भनि रहेथें’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैयामा हल्का चल्मलाउँदै पिंकी थापा मगरले भनिन्, ‘म सँग आडमा बसेको बैनी थियो । बैनीलाई पनि अचेटेको रै छ ।’ जो गएको शुक्रबार राती पोखरा १८ सराङकोट जेठादीमा पहिरो खस्दा घाईते बनेकी थिइन् । 

बिहीबार २१ पूरा गरेर २२ वर्षमा पाइला टेक्दै गरेकी पिंकीको जन्मदिन मनाउन जम्मा भएका थिए त्यो रात उनका आफन्त, छरछिमेकी । जन्मदिनको खुसी साट्न जम्मा भएका उनका आफन्त र बुबाआमालाई त्यसैरात पहिरोले खोस्यो ।  माटोको ढिस्कोले पुरिएर बुबाआमा गुमाएकी पिंकी दुवै खुट्टामा स्टिल हाल्नुपर्ने भएको छ । हामी पुग्दा पिंकीकी सानी आमा आशा थापा पिंकीलाई पानी खुवाउँदै थिइन् ।

‘धकेल्न धेरै कोसिस गरेको थिएँ । तर, सकिनँ । त्यसको ५÷६ मिनेट पछि छिमेकीहरु आउनुभएको थियो, खुट्टा बाउडिएको थियो,’ उनले अघि सुनाइन् । पहिरोमा परि उनकी ५ वर्षे छोरीलाई कसैले निकालेको थाहा पाएकी रहिछिन् पिंकीले । त्यसपछि के भयो उनलाई थाहा छैन । पिंकीकी छोरी पिरिशालाई पनि टाउकोमा चोट लागेको छ । दायाँ हात र बायाँ खुट्टा भाँचिएको रहेछ ।  

पिरिशालाई मणिपाल अस्पतालमा उपचारपछि भोलिपल्टै आमा भएको ठाउँमा ल्याइएको रहेछ । सानै उमेरमा बिहे गरेकी पिंकी ६ महिनायता माईतीमै बस्दै आएकी रहिछन् ।  चिनजानको केटा । मन मिल्यो । विवाह केटा विवाह पनि भइहाल्यो । बिहे गरेको केही समय सम्बन्धमा राम्रै भए पनि जाँड, रक्सी खाएर हात हाल्न थालेपछि खप्नै नसकेर छोरी बोकेर माईती आएकी पिंकी माईतीमै बसेकी रहिछन् । बुबाआमाले पनि माईतीमै राख्ने भनेका रे ! 

अब त त्यही बुबाआमालाई पनि पहिरोले खोस्यो । भएको एउटा घर पनि पहिरोले बगाई हाल्यो ! के गर्ने ? कसो गर्ने ? माईतीको शरणमा आएकी पिंकीलाई कहिलेकाहीं माटोको ढिस्कोले पुरिएका खुट्टा बेस्सरी दुख्छन् ।  पहिरोमा परेको थाहा पाए कि पाएनन्, कुन्नि ? उनका श्रीमान अहिलेसम्म पनि हालखबर बुझ्न अस्पताल आएका छैनन् रे ! देवर भने बिहान भेट्न आएका रहेछन् । सासूले पनि फोनमा कुरा गरिछन् । 

‘डाक्टरले ३ ठाउँमा स्टिल हाल्नुपर्छ भन्नुभाथ्यो,’ पिंकीकी सानी आमा आशा थापाले भनिन्, ‘आइतबार हाल्ने भनेको खै अहिलेसम्म केही थाहा छैन ।’ आशाले नै पिंकीको हेरचाह गरिरहेकी छिन् ।   यस विषयमा हामीले अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यसँग बुझ्यौं । तत्काल स्टिल राख्दा थप इन्फेक्सन हुने खतरा हुनाले पनि केही समयलाई होल्ड गरिएको उनले बताए । 

जन्मदिन मनाउन आएकी पिंकीका छिमेकी रश्मी थापा र उनकी बहिनी आशा थापाको अहिले मणिपाल अस्पतालमै उपचार चलिरहेको छ । रश्मि थापाको अवस्था भने अहिलेसम्म गम्भीर छ । पहिरोमा परि घाईते भएका अन्य ३ जना निको भई सके । 

पिंकीको लागि मनकारी सहयोगी दाताहरुले आर्थिक सहयोग पनि गरेका छन् । सरोकारवाला निकायबाट भने केही सहयोग मिलेको छैन । पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा ३ दिनअघि भेट्न अस्पताल पुगेका रहेछन् । अस्पतालमा खर्च भएको बिल सुरक्षित राख्न भनेका छन् रे ! पिंकीलाई बुबाआमालाई पहिरोले खोसेको जानकारी दिइएको छैन । ‘निको भएपछि आफैंले थाहा पाओस्,’ पिंकीकी सानी आमाले भनिन्, ‘अहिले थाहा दिएर झन पीडा हुन्छ भनेर भनेका छैनौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप