बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘गोल्छाजी विगतको गुण नबिर्सनुस्’

मङ्गलबार, ३० असार २०७७, २० : ०९
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । मंगलबार राजधानीमा एक विशाल सभाको अयोजना भयो । कोभिड–१९ को सन्त्रासकै बीच आयोजित उक्त सभा कुनै भव्य पार्टी सेमिनार थिएन । थियो त व्यवसायी चन्द्रप्रसाद ढकालको उद्योग वाणिज्य माहासंघमा प्यान सहितको उम्मेदवारी घोषणा ।

मंगलबार ढकाल नेतृत्वको प्यानलले उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को भावी कार्यसमितको लागि वरिष्ठ उपाध्यक्षसहित वस्तुगत, एशोशियट र जिल्ला तथा नगर गरी ४ पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।  वरिष्ठ उपाध्यक्षका दाबेबार मानिएका उम्मेदवार ढकालको प्यानलबाट वस्तुगततर्फ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेद्वारी घोषणा भएको छ भने एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारीले संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेका छन् । 

प्यानलको नेतृत्वकर्ता तथा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल महासंघकै हालका उपाध्यक्ष हुन् भने उमेशलाल श्रेष्ठ वस्तुगत तर्फका उपाध्यक्ष हुन् । अर्का दुई उम्मेदवार संघाई र तिवारी भने यसअघि महासंघमै रहेपनि जिम्मेवारीमा थिएनन् ।

यी ४ जनाले ढकाल प्यानलमा उम्मेदवारी घोषणा गर्दैै गर्दा महासंघको ५४ औं साधारणसभा र आसन्न चुनाव भने निकै रोचक बन्ने देखिन्छ ।  यतातर्फ ढकाल प्यानलले उम्मेदवारी घोषणा गर्दैगर्दा उता अर्को तर्फ वरिष्ठ उपाध्यसहित तत्तत् पदकै लागि व्यवसायी किशोर प्रधानको नेतृत्वमा प्यान खडा भएको छ । 

प्रधानको नेतृत्वमा व्यवसायी अञ्जनकुमार श्रेष्ठ वस्तुगत तर्फ, सौरभ ज्योति एशोशियटतर्फ र दिनेश श्रेष्ठले जिल्ला तथा नगरमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । तर ढकाल प्यानलका नेतृत्वकर्ता चन्द्रप्रसाद ढकालले मंगलबारको सो सभामा भावी अध्यक्ष शेखर गोल्छाले दुई प्यानलमा विभक्त महासंघको अभिवाकत्व ग्रहण गर्न नसकेको आरोप लगाएका छन् । गोल्छाले प्रधान प्यानलको संरक्षण गरेर आफ्नो प्यानलाई वाइपास गर्न खोजेको ढकालको आरोप छ । 

सोही सभामार्फत ढकालले विगतमा आफ्नो गुन नविर्सन गोल्छालाई आग्रह गरेका छन् । ‘म शेखरजीलाई एउटा प्रश्न सोध्न चाहन्छु, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था केका लागि ? यस्तो व्यवस्था नभएको भए के हुन्थ्यो ?’ ढकालले भने, ‘जुन बेला म वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने महासंघको विधानको पक्षमा उभिएको हुँ । नउभिएको भए जेपनि हुन सक्थ्यो । त्यसैले म शेखरजीलाई यो भन्न चाहन्छु विगतको गुन नबिर्सनुस्’ उनले भने ।

यता, उम्मेदवारी घोषणा गर्दै ढकालले व्यवसायिक निजी क्षेत्रको आमुल परिवर्तनसँगै मुलुकको आर्थिक पक्षको सुधारका लागि आफुहरुले प्यानलसहित उम्मेदवारी घोषणा गरेको बताए ।  निजी क्षेत्र राज्यकै साझेदार क्षेत्र हो । निजी विना राज्य पूर्ण हुन सक्दैन । राज्यलेनै अंगीकार गरेको तीन खम्बे अर्थनीति अनुसार मुुलुकको अर्थतन्त्र मजबुद पार्न पनि निजी क्षेत्रको सुधार अपरिहार्य छ ।’ त्यसैले निजी क्षेत्रको उत्थानसँगै राज्यको अर्थतन्त्र सुधारका लागि हामी लागि परेका छौं ।’ 

निजी क्षेत्रको नेतृत्वसँगै राज्यको महत्वपूर्ण क्षेत्रमा उत्पादनसँग जोडिएर आर्थिक सबलीकरणका लागि योगदान दिने उद्देश्यले मैदानमा आएका छौं’ ढकालले भने ।  ‘सम्वृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’ मुल नारासहित आफ्नोसहित प्यानलको उम्मेदवारी घोषणा गरेका ढकालले एक र एक जोडेर दुई नभएर एघार बन्ने गरी काम गर्न उद्घोष गरेका छन् । 

राज्य–निजी साझेदारीमा अघि बढ्न तयार छौं
उम्मेदवारी घोषणा गर्दै ढकालले आफुहरु सरकारसँग साझेदारी गर्दै अघि बढ्न तयार रहेको बताएका छन् ।  निजी क्षेत्रको सुधार गर्दै बाँकी रहेका कार्यभार समेत पुरा गर्ने र सरकारलाई विकास निर्माणका कार्यमा सहयोग गर्ने गरी महासंघमा आफुसहितको प्यानलको उम्मेदवारी दिएको ढकालको भनाई छ । 

‘निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इञ्जिन हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजश्वमार्फत राज्यको आम्दानी वृद्धि गर्न निजी क्षेत्रको सक्रियता र सहभागिता अनिवार्य छ । औद्योग र व्यापारिक वातावरण बनाउन हामी कहाँ अझैं थुप्रै काम गर्न बाँकी छ । जस्तो उद्योग व्यापार दर्ता, नविकरण र खारेज प्रक्रियालाई सहज र शुलभ बनाउनु पर्नेछ । उद्योग,आयोजना, वेयर हाउसको निर्माण इआईए,आईईएका लागि लाग्ने लामो प्रक्रिया, समय र झन्झटलाई समेत छोट्याउनुपर्नेछ । समय प्रक्रियाका कारण बढ्ने लागतलाई समेत घटाउनु पर्नेछ ।

छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योग ग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन त्यहाँ पुग्ने सडक, विद्युत लगायतका दिगो पूर्वाधार समेत चाहिएको छ । गुणस्तरीय विद्युत त्यो पनि सर्वसुलभ दरमा उपलब्ध हुनुपर्नेछ । उद्योग र आयोजनाका लागि चाहिने जग्गा किन्न वा अधिग्रहण गर्न, ती कम्पनीहरुलाई अनावश्यक सम्पत्ति र जग्गा बिक्रि गर्ने प्रक्रिया सहज बनाउनुपर्नेछ ।

एउटा निकायबाट फर्छयोट भएका विषयलाई वन, मालपोत लगायका विभिन्न निकायले जबर्जस्ती कर नउठाई पारदर्शी ढंगबाट सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण समेत बनाउनुपर्नेछ । यी यावत समस्यासँग जुध्न समेत आफ्नो सक्रिय भूमिका रहने भन्दै ढकालले आश्वासन दिएका छन् । जसमा व्यवसायीहरुलाई आफ्नो प्यानललाई साथ दिन ढकालले आग्रह गरेका छन् ।  त्यस्तै, ढकालकै प्यानबाट उम्मेद्वार बनेका श्रेष्ठ, संघाई र तिवारीले समेत महासंघमा रहेर सरकार र निजी क्षेत्रकै हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप