शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सामाग्री खरिद प्रकरण : समाचार हेरेर तथ्यांक लिने विज्ञ सल्लाहकार, संसदीय मर्यादा नजान्ने सचिव

खरिद प्रकरणका तीन आरोपित थप विवादमा
मङ्गलबार, ३० असार २०७७, १७ : १६
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । बोल्ने शैली नपुग्दा स्वास्थ्य सामाग्री खरिद प्रकरणका तीन आरोपित झनै विवादमा परेका छन् । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा प्रचलित कानूनी प्रावधान विपरित खरिद प्रक्रिया अगाडि बढाएर विवादमा आएका तात्कालिन स्वास्थ्यसचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका तात्कालिन महानिर्देशक महेन्द्र श्रेष्ठ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार खेम कार्की थप विवादमा तानिएका हुन् ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिले सो खरिद प्रक्रियामा संलग्न तीनैजनालाई बोलाएर खरिद प्रक्रियामा भएको अनियमितताबारे सोधपुछ गरेको थियो । समितिले तीनै जनासँग छुट्टाछुट्टै रुपमा प्रश्न समेत सोधेको थियो । जसमध्ये तात्कालिन स्वास्थयसचिव कोरालासँग ८ वटा प्रश्न सोधिएको थियो । त्यस्तै, स्वास्थ्य सेवा विभागका तात्कालिन महानिर्देशक श्रेष्ठसँग १८ वटा तथा स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार कार्कीसँग ८ वटा प्रश्नको जवाफ मागेको थियो । तर समितिले सोधेका प्रश्नको जवाफ दिने क्रममा तीनैजना विवादमा परे । तर, त्यस्तो विवादको कारण भने छलफलको विषयवस्तु होइन, उनीहरुको शैली हो । 

संसदीय मर्यादा नजान्ने सचिव

संसदीय मर्यादालाई ख्याल नगरी सभापतिसँग ‘मुखमुखै लागेपछि’ तात्कालिन स्वास्थ्यसचिवको हैसियतले समितिमा उपस्थित भएका प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव यादव कोइराला विवादमा परे ।

मंगलबारको बैठकमा सचिव कोइरालाले आफूमाथि सोधिएका ८ प्रश्नको जवाफ दिँदै थिए । ‘स्वास्थ्य सामाग्री खरिदका लागि मन्त्री स्तरबाट कार्यादेश दिइएको छ, विभागले गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृति लिने काम भएको छैन किन ?’ भन्ने प्रश्नको उत्तर उनी दिँदै थिए । सो प्रश्नको जवाफमा उनले त्यस्तो खरिदका लागि मन्त्रीस्तरबाट नभएर विभागबाटै कार्यादेश भएको दाबी गरेका थिए । त्यस्तो खरिदका लागि बजेट विनियोजन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजान मात्रै मन्त्री स्तरबाट एउटा निर्णय गरिएको उनकोे भनाई थियो ।

तर, सो जवाफप्रति सभापति शाह सहमत भएनन् । कोइरालाको जवाफमा शाहले प्रतिप्रश्न गरेका थिए । तर, सभापतिको प्रश्न नसुनिकनै सचिव कोराइराला निरन्तर बोलिरहे । सांसद मिनेन्द्र रिजालले सभापतिको कुरा सुनेर उत्तर दिनुपर्ने भन्दै कोइरालालाई संसदीय मर्यादा सम्झाउन खोज्दै थिए । तर, उनले रिजालको प्रश्नलाई समेत ख्याल नगर्दै निरन्तर आफ्ना भनाइहरु राख्दै गए ।

त्यसपछि सांसद रिजालले सभापतिसँग समय माग्दै कोइरालाई झपारे । ‘उहाँले जवाफ दिँदाखेखि समितिका केही प्रक्रिया, मर्यादाहरु छन् । तपाईंले रोकेको समयमा तपाईं रोकिनुपर्छ । तपाईं संसदको समितिमा आउनुभएको छ । सभापतिले सोधेको प्रश्नको उत्तर दिने र रोक्दाखेरि रोकिने तपाईंको जिम्मेवारी हो, आफ्नो जिम्मेवारीलाई ख्याल गरेर बोल्नुस्’ आक्रोशित हुँदै रिजालले भनेका थिए । रिजालले थर्काएपछि कोइराला ‘हवस्, हवस्’ भन्दै अघि बढेका थिए । त्यसपछि भने उनले मर्यादामै रहेर प्रश्नोत्तर गरेका थिए ।

समाचारको भर पर्दा विज्ञ सल्लाहकार आलोचित

बैठकमा स्वास्थ्यमन्त्रीका सल्लाहकार खेम कार्कीको प्रस्तुतिले उनलाई झनै विवादित बनायो । अनलाइन सञ्चारमाध्यममा आएको समाचारलाई आधार बनाएर समितिमा तथ्याङ्क प्रस्तुत गरेपछि उनी विवादित बनेका हुन् ।

उनीमाथि मन्त्रिपरिषद्बाट नियुक्ति लिन नपाउँदै स्वास्थ्य सामाग्री खरिदमा सहभागी हुन किन हतारो गरेको भन्दै सांसदहरुले प्रश्न सोधेका थिए । चैत १० गतेको मन्त्रिपरिषद्बाट स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकारका रुपमा नियुक्त भएका कार्कीले भोलिपल्टै स्वास्थ्य सामाग्री खरिदको ‘नेगोसिएसन’ प्रक्रियाको संयोजन गरेका थिए ।

जवाफमा विज्ञ सल्लाहकार कार्कीले त्योबेला महामारीको भयावह अवस्था चित्रित गरे । कोरोना संक्रमण तीव्र रुपमा अघि बढिरहेको, २९ प्रतिशत संक्रमित निको नहुने कुरा बाहिर आएको, मान्छेहरु लासमाथि टेकेर हिँड्नुपर्ने अवस्था आएको भन्दै उनले त्योबेला विज्ञ सल्लाहकारको रुपमा हतारहतार काम गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

उनको भनाइमा पनि सांसद रिजालले नै आपत्ति जनाए । उनले ‘कुन तथ्यांकले कहिले २९ प्रतिशत संक्रमित निको नहुने भनेको थियो ?’ भन्दै तथ्यांंकको स्रोत खोजेका थिए । जवाफमा कार्कीले (अनलाइन सञ्चारमाध्यमको नाम लिँदै) चैत ९ गते आफूले त्यस्तो समाचार पढेको बताएका थिए । उक्त जवाफप्रति सांसदहरुले आपत्ति जनाएपछि कार्की थप आलोचित बनेका हुन् । विज्ञ सल्लाहकारजस्तो व्यक्तिले प्रमाणिक स्रोतबिना जथाभावी तथ्याङ्कका आधारमा बोलेको भन्दै उनीप्रति सांसदहरु आक्रोशित भए ।

आफूले बोलेको विषयलाई प्रष्ट्याउँदै कार्कीले बजारमा आएको समाचारलाई आधार बनाएर आफूले ‘आम धारणा’लाई मात्रै चित्रित गर्न खोजेको भने पनि उनको स्पष्टीरणलाई कसैले वास्तै गरेनन् ।

सांसदहरुलाई ऐन सम्झाएपछि...

अर्का आरोपित महेन्द्र श्रेष्ठ पनि सो बैठकमा आफ्नै बोलीका कारण विवादित बने । उपस्थितमध्येबाट सबैभन्दा पछि उत्तर दिएका स्वास्थ्य विभागका तात्कालिन महानिर्देशक श्रेष्ठ ले सांसदहरुलाई नै ऐन सम्झाएपछि विवादमा परेका हुन् ।

स्वास्थ्य सामाग्री खरिदमा संक्रामक रोग ऐनको आकर्षित प्रावधानबारे व्याख्या गर्दै श्रेष्ठले ‘तपाईं–हामी जन्मिनुभन्दा अघिको ऐनले लेखेको कुरा’ भन्दै जवाफ दिएका थिए । श्रेष्ठको जवाफको उत्तर दिँदै काँग्रेस सांसद राजन केसीले ‘हामी कसैलाई थाहा नभएको ऐनबारे सम्झाइदिनुभयो, धन्यवाद’ भन्दै व्यङ्ग्य गरेका थिए ।

मंगलबार खरिद प्रकरणसँग जोडिएका दुइजना पूर्व अधिकारीसँगै तीनजना उपस्थित भएका थिए । तीनैजनाले आफूमाथि सोधेका प्रश्नको उत्तर दिए पनि कसैले पनि चित्तबुझ्दो जवाफ दिन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप