शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हवाई उडान खोल्ने तयारी : पहिले आन्तरिक त्यसपछि मात्र अन्तर्राष्ट्रिय !

मङ्गलबार, ३० असार २०७७, १६ : ३९
मङ्गलबार, ३० असार २०७७

चैत ११ गते (लकडाउन) देखि हवाई उडानमा लाग्दै आएको प्रतिबन्ध चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले तयारी थालेको बताएका हुन् । त्यसपछि अगस्तको दोस्रो साता अन्तर्राष्ट्रिय नियमित उडान गर्ने तयारी भइरहेको उनले बताए ।

रातोपाटीसँग कुरा गर्दै मन्त्री भट्टराईले भने, ‘हामीले अरु देशले कसरी उडान खोलिरहेका छन् भनेर पनि अध्ययन गरिरहेका छौँ । नागरिक उड्डयन प्राधिकरणलाई त्यसको निगरानी गर्न भनेको छु  । चाँडै नै आन्तरिक उडान खोल्ने गरी पूर्वतयारी गरेका छौँ । अन्तर्राष्ट्रिय उडान भने त्यसपछि मात्र खोल्छौँ ।’

साउन ६ गतेसम्मको प्रतिबन्ध पछि खुला गर्न लागिएको हो भन्ने प्रश्नमा भट्टराईले ‘यति चाँडो त होइन तर खुल्न चाहीँ चाँडै खोल्ने तयारी रहेको’ बताए । साउन ६ गतेसम्मका लागि लगाइएको उडान प्रतिबन्ध केही समय थप भएर उडान खोल्ने देखिएको छ । यद्यपि, उडान खोल्ने वा प्रतिबन्ध लगाउने भन्ने विषयको टुङ्गो मन्त्रिपरिषदले लगाउनेछ । सम्भवतः विहीबार सार्वजनिक हुने मन्त्रिपरिषद्को निर्णयमा यस विषयको पनि सम्बोधन हुनेछ ।

अहिले आन्तरिक उडान खोल्ने पूर्वतयारी भने भइरहेको छ । अन्तर्राष्ट्रिय उडान भने अगस्तको दोस्रो साता खोल्ने सङ्केत पर्यटन मन्त्रीले दिएका छन् । कोभिड–१९ को जोखिम न्युनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी प्रोटोकल तयार गरि स्वीकृत भइसकेको छ । प्रमुख विमानस्थलमा निश्चित दुरी कायम गरी सञ्चालनको तयारीको लागि मार्किङसहितको सुरक्षा उपाय उपनाइएको छ । 

मन्त्री भट्टराईले नै पत्रकार सम्मेलनमा उडान खोलेपनि जहाजबाट झरेपछि गन्तव्यसम्म जान सवारी साधनको आवश्यक पर्ने भएकाले सार्वजनिक सवारी खुल्ने÷नखुल्ने नै निश्चित नभएकाले उडान मात्र खोलेर नहुने बताएका थिए । तर, सरकारले सार्वजनिक सवारी चलाउन खुला गरिसकेको छ । यस्तो अवस्थामा अब उडान के हुन्छ भन्ने आम मानिसको चासो छ । 

उडान सुरक्षामा कुनै पनि सम्झौता हुन नदिन नागरिक उड्डयन प्राधिकरणले १३ वटा क्विक रिफरेन्स गाइड र १० वटा एडभाइजरी सर्कुलर जारी गरेको छ । वायुसेवा विमानस्थल तथा अन्य उडान सेवाले  अपनाउनुपर्ने सुरक्षा तथा सावधानीको विषयमा एयरलाइन्सको लागि निर्देशन, कोभिड–१९ अवधिमा सञ्चालनका लागि एयरपोर्टस एण्ड ग्राउण्ड सर्भिसेज जारी गरेको मन्त्रालयले जनाएको छ । 

तयारी अवस्थामा विमान सेवा कम्पनीहरु

उडान सञ्चालनका लागि  तयारी अवस्थामा विमान सेवा कम्पनीहरु बसेका छन् । उनीहरुले सरकारको निर्देशन कुरिरहेका बताएका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जहाजमा यात्रुलाई स्वागत गर्न आतुर रहेको बताएका छन । एयरलाइन्सको वेवसाइट तथा सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै बस्नेतले उडानका लागि बुद्ध एयर तयार रहेको उल्लेख गरेका छन् । मास्क, स्यानिटाइजरसँगै शारीरिक दुरीलाई अवलम्बन गर्दै नियमित उडानको लागि तयार रहेको बुद्धले जनाएको छ । बुद्धले केही सातादेखि नियमित पूर्वअभ्यास पनि गरिरहेको छ । यस अभ्यासमा ग्राउण्ड स्टाफ, विमान परिचारिका, पाइलट, टेक्निकल टिमलगायत सहभागी छन् । कर्मचारीले प्रोटोकल अनुसारको तालिम लिएर आवश्यक पीपीई लगायत प्रयोगमा ल्याएका छन ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र भनेको पर्यटन क्षेत्र हो । पर्यटन क्षेत्रमा असार १५ सम्म ३७ अर्बको नोक्सान भएको भनिएको छ । त्यसयता साउन सात गनेसमम थप सात अर्ब नोक्सान हुने अनुमान गरिएको छ । पर्यटन तथा हवाइ क्षेत्रको नोक्सानको अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन गरेको अध्ययन समितिले यो नोक्सानको अनुमान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप