अयोध्याबारे भारतमै विवाद, ओलीको अभिव्यक्तिमा कसरी आयो ठोरीको प्रसङ्ग ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दावी गरेपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी बढी आएका छन् ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठान ले भानु जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, मिचिएका छौँ, तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । तर, भारतलाई होइन, अयोध्यालाई दियौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो ।’
स्मरणीय छ, दुई वर्षअघि जनकपुरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीका साथ संयुक्त रुपमा जनकपुर–अयोध्या मैत्रीबस उद्घाटन गरेका थिए ।
त्यतिबेला दुवै नेताले ‘रामायण सर्किट’ अघि बढाउने प्रतिवद्धता पनि जनाएका थिए । प्रष्ट छ, त्यतिबेला ओलीले मोदीका साथ उद्घाटन गरेको बस पर्साको ठोरी छेउमा रहेको अयोध्या (सोमबार प्रधानमन्त्रीले भनेको)का लागि थिएन । त्यो बस जनकपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्याका लागि थियो । दुई वर्षमै ओलीले राम जन्मभूमिबारे यति फरक अभिव्यक्ति किन दिए भन्नेबारे प्रश्न उठ्नु स्वाभाविक हो ।
कसरी आयो ठोरीको प्रसङ्ग ?
पर्साको ठोरी बेलाबखत भारतसँग सीमा विवाद भइरहने क्षेत्र हो । लेखक लोकमणि पौडेलले करिब साढे तीन वर्ष अघिदेखि रामको जन्मभूमिका बारेमा भारतमा भएको विवादबारे सोधखोज गरे ।
‘म भारतको अयोध्या पनि पुगेँ,’ रातोपाटीसँग उनले भने, ‘त्यहाँका बुद्धिजिवीलगायतसँग अयोध्याको इतिहासका बारेमा बुझेँ, तर सुरुमा त्यो ठाउँको नाम अयोध्या नै होइन रहेछ ।’
रामको जन्मभूमि नै त्यही हो भने त्यो ठाउँलाई सुरुदेखि नै अयोध्या भनेर किन भनिएन भन्ने प्रश्न मनमा उठिरहेको उनले सुनाए । ‘सीता जन्मेको ठाउँलाई आजसम्म जनकपुर भनिन्छ, राम जन्मिएको वास्तविक ठाउँ नै त्यही हो भने त्यो ठाउँको नाम पहिलादेखि नै अयोध्या किन भएन ? पछिमात्र किन त्यसलाई अयोध्या भन्न थालियो भनेर जिज्ञासा जाग्यो ।’
त्यसपछि आफूले रामायणसँग जोडिएका विभिन्न ठाउँमा पुगेर अध्ययन गरेको, रामायणका प्रसंगहरुलाई नेपालका पौराणिक स्थानहरुसँग तुलना गरेको र एउटा निष्कर्ष निकालेको उनको भनाइ छ ।
‘रामायणमा भनिएको अयोध्या भारतमा नभएर हाम्रै पर्साको ठोरीमा रहेको निष्कर्षमा म पुगेँ,’ उनले भने, ‘त्यो ठाउँमा गएर पनि मैले अध्ययन, अनुसन्धान गरेँ । मेरो निष्कर्ष त्यही हो, यसमा केन्द्रित रहेर अध्ययन अनुसन्धान होस् भनेर मैले सानो लेख पनि लेखेँ ।’
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रामको जन्म भएको भनेर अभिव्यक्ति दिँदा आफ्नो लगनशीलता र मेहनतले केही हदसम्म सफलता पाएको अनुभूति भएको उनले सुनाए । ‘यही नै सत्य हो भनेर मैले दावी गरेको होइन,’ उनले भने, ‘तर अयोध्या ठोरीमा पनि हुन सक्छ, विभिन्न सन्दर्भ र रामायणका कथावस्तुले रामको जन्म भएको अयोध्या जनकपुरबाट त्यति टाढा होइन भन्ने नै देखिन्छ, यसमा थप अध्ययन हुनुपर्छ भन्ने मेरो आशय हो ।’
उनले १०–१२ दिन अघि आफूलाई राम जन्मभूमि अयोध्याबारे अध्ययन अनुसन्धान अघि बढाउन एउटा समिति बनाउन प्रस्ताव गरिएको पनि उनले बताए । ‘तर प्रधानमन्त्रीले नै रामको जन्भूमिबारे यसरी अभिव्यक्ति दिनुहुन्छ भनेर मलाई थाहा थिएन, मसँग यसबारे थप कसैले सोधखोज गरेको पनि थिएन,’ रातोपाटीसँग उनले भने ।
अयोध्याबारे भारतमै विवाद
राम जन्मभूमि अयोध्याबारे भारतमै व्यापक विरोध छ । लामो समय अयोध्याको विवादित क्षेत्रमाथि अदालतले सुनुवाई गरेको छ । मुस्लिमहरुको प्रख्यात बाबरी मस्जिद र हिन्दूहरुको राम मन्दिरबारे लामो समय विवाद चल्यो ।
अदालतले तथ्य र प्रमाणको आधारमा भन्दा पनि बहुसंख्यकवादका आधारमा विवादास्पद भूमिको स्वामित्व विवाद सुल्झाएको भारतकै विज्ञहरुले बताउँदै आएका छन् ।
गत वर्ष नोभेम्बरमा बीबीसी हिन्दीले प्रकाशित गरेको एक रिपोर्टअनुसार अयोध्या विवादमा सर्वोच्च अदालतले आफ्नो फैसलामा एक खास रिपोर्टलाई उल्लेख गरेको छ, जसमा बाबरी मस्जिदको तल कुनै हिन्दू मन्दिर थिएन भनिएको छ ।
प्रोफेसर सुरज भान, अतहर अली, आरएस शर्मार डिएन झाले ऐतिहासिक पुरातात्विक प्रमाणको अध्ययन, अनुसन्धान गरेर आफ्नो रिपोर्ट तयार पारेका थिए, जसमा बाबरी मस्जिदको तल हिन्दू मन्दिर छ भन्ने दावीलाई खारेज गरिएको थियो ।
भारतको सर्वोच्च अदालतले उक्त भूमिको विवादबारे फैसला सुनाएपछि भारतका चर्चित इतिहासकार प्रोफेसर डिएन झाले प्रतिक्रिया दिँदै ‘हिन्दूहरुको आस्थालाई महत्व दिइएको’ बताएका थिए । ‘दोषपूर्ण पुरातत्व विज्ञानलाई फैसलाको आधार बनाइएको छ,’ अदालतको फैसलाप्रति असहमति राख्दै उनले भनेका थिए ।
भारतीय पुरातत्व सर्वेक्षणले समेत सन्देहास्पद भूमिका निर्वाह गरेको प्रोफेसर झाको भनाइ थियो । ‘विध्वंस अघि हामीलाई प्राचीन वस्तुको जाँचका लागि त्यहाँ लगिएको बेला एउटा ट्रेन्चको साइट नोटबुक नै दिइएन, त्यसमा निकै महत्वपूर्ण प्रमाण थिए,’ भारतीय पुरातत्व सर्वेक्षणको भूमिकामा प्रश्न गर्दै उनले भने, ‘प्रष्ट रुपमा भन्नुपर्दा यो प्रमाणहरु दबाउने प्रयास थियो ।’
बाबरी मस्जिद विध्वंशपछि पुरातत्व सर्वेक्षणको टोलीले उत्खनन् गर्दा पनि पूर्वाग्रही मानसिकताका साथ काम गरेको उनको आरोप छ । ‘उनीहरुले ती प्रमाणलाई दबाए, जसले मन्दिरको थ्यौरीलाई काट्दथे, तर कुनै ठाउँमा उत्खनन् गर्दा वैज्ञानिक मूल्य, मान्यतालाई हेरियोस् भन्ने हुन्छ, अयोध्याको मामिलामा त्यो भएन ।’
सामाजिक सञ्जालमा आलोचना
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीका वचन र कर्मले सीमा नाघिरहेको बताएका छन् ।
ट्वीट गर्दै उनले भनेका छन्, ‘संसदमा सिंहमेव जयते र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा उहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न, संसद स्थगन गरेर अध्यादेश÷संकटकालको खड्गसमेत उहाँको हातमा छ ।’ उनले प्रधानमन्त्री ओलीलाई यसैगरी छाड्नु खतरनाक हुनेसमेत उल्लेख गरेका छ्न । ‘अब उहाँलाई छाडा छोड्न खतरनाक हुनेछ, उपचार खोजौं,’ उनले लेखेका छन् ।
अति गरे खति हुन्छ भन्छन्!प्रम@kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं! https://t.co/zcxpsGEshn
— Baburam Bhattarai (@brb1954) July 14, 2020
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको उक्त भनाइमा व्यङ्ग्य गर्दै महाभारतको कुरु क्षेत्र पनि झापाको तल्लो फाँटमा छ भन्ने घोषणा पो हुने हो कि भनेका छन् । ‘प्रधानमन्त्रीको भनाइमा अयोध्या नेपालको ठोरीमा पर्दछ,’ फेसबुकमा उनले लेखेका छन्, ‘अब महाभारतको कुरु क्षेत्र पनि नेपालको झापाको तल्लो फाँटमा छ भन्ने तथ्य प्रधानमन्त्रीले घोषणा गर्ने हो कि ?’
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका उनले प्रधानमन्त्रीका अभिव्यक्तिलाई अराजक र अनियन्त्रित संज्ञा दिएका छन् । उनले प्रश्न गरेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीको अराजक र अनियन्त्रित अभिव्यक्तिहरुको मनोविज्ञान के हो ? वास्तवमा नेपालको परराष्ट्र सम्वन्धलाई धुजाधुजा पारेर नेपाललाई संकटमा धकेल्ने काम किन भइरहेछ ?’
उनले अहिलेको परिस्थितिमा हाम्रो सीमानामा भारतीयहरुले अन्तर्राष्ट्रिय कानुनको विपरित बनाएको बाँधहरुबाट तराइ, मधेसका थुप्रै जलमग्न गाउँ–गाउँको समस्याबारे नेपाल सरकारले बोल्नु पर्ने प्रष्ट पारे । ‘तर यस्ता जनताको पीर र पीडामा प्रधानमन्त्रीलाई वास्ता छैन, यथार्थमा उहाँको वर्तमान अभिव्यक्ति अनियन्त्रित र अराजक छन्,’ उनले भनेका छन् ।
पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ।
— Bishnu Rijal (@bishnurijal1) July 13, 2020
सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य विष्णु रिजाल पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्ने बताउँछन् । ‘अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो,’ ट्वीटरमा उनले लेखेका छन्, ‘फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिनइनु दुर्भाग्यपूर्णमात्र होइन, रहस्यमय छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’