मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘एक महिनाभित्रै आउनसक्छ कोभिड-१९ भ्याक्सिन’

मङ्गलबार, ३० असार २०७७, १३ : ४६
मङ्गलबार, ३० असार २०७७

एजेन्सी । रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने आशा व्यक्त गरेका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकसित कोभिड–१९ भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको थियो । गामालाई सेन्टरका निर्देशक अलेजेन्दर गिन्टस्वर्गले अगष्ट १२ देखि १४ सम्ममा यो भ्याक्सिन सर्वसाधारणमा वितरण हुन थाल्ने र निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । 

सेचेनोभ विश्वविद्यालय सेन्टर फर क्लिनिकल रिसर्च एन्ड मेडिकेशनका प्रमुख अनुसन्धानकर्ता इलिना सेमलाईयार्चुकले रुसी न्युज एन्जेन्सी तासलाई दिएको जानकारीअनुसार स्वयमं्सेवकमा भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा भएको छ र अध्ययनको नतिजाले भ्याक्सिन प्रभावकारी भएको देखाउँछ । 

‘यो अनुसन्धान पूरा भएको छ र यसले भ्याक्सिन सुरक्षित छ भन्ने प्रमाणित गरेको छ,’ तासले सेमलाईयार्चुकलाई उदृत गर्दै लेखेको छ ।  यता विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को प्रोटोकलअनुसार ठूलो परिमाणमा उत्पादनका लागि स्वीकृति पाउनुअघि भ्याक्सिनले तीन चरणको क्लिनिकल ट्रायल पूरा गर्नुगर्छ । डब्ल्युएचओको सूचीमा रुसी भ्याक्सिनको अध्ययन पहिलो चरणका रुपमा सूचीकृत छ । र, अहिलेसम्म कुनै पनि भ्याक्सिनले तेस्रो चरणको परीक्षण सफल नभएसम्म ठूलो परिमाणमा प्रयोगका लागि स्वीकृति पाएका छैनन् । 

यदि, अन्तिम चरणमा भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएमात्रै यसको औद्योगिक उत्पादन सुरु हुन्छ ।  द मस्को टाइम्समा प्रकाशित रिपोर्टअनुसार यसै महिनाको सुरुवातमा सेमलाईर्याचुकले भनेकी थिइन् कि अध्ययनमा सहभागी भएका व्यक्तिमा इन्जेक्सनपछि टाउको दुख्ने, शरीरको तापक्रममा प्रभाव पार्नेलगायत लक्षण देखियो । तर यी सबै लक्षण २४ घण्टाभित्र ठिक भएको उनले बताएकी थिइन् । 

जुलाई ३ मा प्रेस विज्ञप्तिमार्फत विश्वविद्यालयले जनाएको थियो कि यस भ्याक्सिनको प्रभावकारिताबारे बायोकेमिकल परीक्षणको आधारमा रुसी सरकारले निर्णय गर्नेछ । सेचेनोभ विश्वविद्यालयले जुलाई १५ र जुलाई २० मा दुई समूहका स्वयंम्सेवकलाई डिस्चार्ज गर्दैछ, उनीहरुलई यसअघि अन्य संक्रमणबाट जोगाउनका लागि २८ दिनसम्म आइशोलेसनमा राखिएको थियो । डिस्चार्ज गरिएका १८ देखि ६५ वर्ष उमेरका स्वयम् सेवकहरुलाई ६ महिनासम्म निगरानी गरिने सेमोलाईयार्चुकले बताए । 

विश्वविद्यालयले १८ जुनमा १८ जना स्वयमंसेवकको समूहमा भ्याक्सिनको पहिलो चरणको परीक्षण गरेको थियो । त्यसैगरी २० सहभागी समावेश दोस्रो समूहलाई २३ जुनमा भ्याक्सिन दिइएको थियो । कोभिड–१९ भ्याक्सिन बनाउने दौडमा रहेका धेरै देशमध्ये रुस एक हो । यहाँ ५ लाख ६९ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण देखिइसकेको छ । विश्वभर १ करोड २९ लाखभन्दा धेरै व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप