केन्द्रीय संस्करण

कोभिड–१९ का कारण विदेशबाट फर्किएका महिलाका समस्या र पुनर्स्थापना

person explore access_timeअसार ३०, २०७७ chat_bubble_outline0

कोभिड–१९ को महामारीका कारण विश्व नै आक्रान्त छ । नेपालमा पनि यसको सङ्क्रमण दिनप्रति बढ्दो अवस्थामा छ । आज हरेक देशले कोरानालाई तीन भागमा बाँडेर व्यवस्थापन गरेका छन् । स्वास्थ्य सङ्कट, मानवीय सङ्कट, सामाजिक र आर्थिक सङ्कट  । तर हाम्रो तयारी त्यस अनुरूप भएको देखिँदैन । अब नेपालमा भोकमरी सङ्कट, खाद्यान्नको सङ्कट र रोजगारी सङ्कट भयाभय रूपमा आउने सम्भावना देखिँदैछ । यसको मार पुरुषको तुलनामा महिलाले बढी खेप्नुपर्ने देखिन्छ । त्यसै पनि महिलाहरु घरभित्र र बाहिर गरी दोहोरो कामको बोझमा नै थिए । आज फेरि कोरोनाको कारण आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर प्रत्यक्ष रूपमा परेको देखिन्छ ।  

नेपालमा रोजगारीका अवसर सिर्जना गर्न नसक्दा थुप्रै युवायुवती करिब ५० लाखको हाराहारीमा विदेशिन पुगेका छन् । आज कोरोनाको कारण रोजगारी गुमाएर करिब १६ लाख जति नेपालीहरु देश भित्रिने सम्भावना देखिन्छ । यसरी विदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएकाहरुको कारणले करिब ४० लाख बेरोजगार थपिने सम्भावना छ । सरकारले ढिलै गरेर भए पनि नेपाल फर्काउनेको मापदण्ड, रोजगारी गुमाएका, भिसा अवधि सकिएका,  गर्भवती, कोरोनाबाहेक अन्य बिरामी, व्यावसायिक कमका लागि गएर अलपत्र परेका, पर्यटन भिसामा गएर रोकिएका लगायतकालाई प्राथमिकताका आधारमा स्वेदश फर्काएको छ ।

यही असार २६ गतेसम्मको तथ्याङ्क हेर्दा भारतबाहेक २२ देशबाट करिब २४,३५१ जना नेपाली भित्रिएको देखिन्छ । सरकारले कोरोनाको कारण विदेशमा अलपत्र परेका नागरिकहरु स्वदेश फर्काउने कार्यक्रममा महिलाहरुलाई विशेष प्राथमिकतामा राखेको  उल्लेख गरेको छ । तर कति  महिला कति पुरुष छन् भनेर  लैङ्गिक आधारमा तथ्याङ्क राखेको छ्रैन । महिला र पुरुषमा बेग्लाबेग्लै समस्यामा छन् । त्यसैले महिलाको संवेदनशीलता र अप्ठ्यारोलाई मध्येनजर राखेर सरकारले उनीहरुको व्यवस्थापन गर्नुपर्दछ । जुन अझैसम्म हुन सकेको छ्रैन । 

संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार कोरोनाको कारण लकडाउनको अवस्थामा घरेलु हिंसा, बलात्कार र आर्थिक समस्याले महिला पिरोलिएका छन् । नेपालमा पनि हेर्ने हो भने लामो लकडाउनको अवधिमा यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरु, आर्थिक समस्या, सामाजिक समस्या, मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ । यसमा पनि विशेषगरी सुत्केरी एवं गर्भवती आमाहरुले औषधि उपचार नपाएर करिब ३५ जनाले मृत्यवरण गरिसकेका छन् । भारतको सीमाबाट होस् या विदेशबाट हाल नेपाल फर्केका गर्भवती तथा महिलाहरु मानसिक रोग, औषधि उपचारको कमी, क्वारेन्टिनमा समस्या एवं पुनस्र्थापनाको समस्याले गर्दा पिरोलिएका छन् । यी समस्या समधानका लागि तत्कालीन र दीर्घकालीन रणनीति एवं कार्यनीति आजको आवश्यकता हो ।

तत्कालीन समस्या

क.     सीमा र विमानस्थलमा समस्या: विदेशबाट नेपाल फर्किने बेला विमानस्थलमा भोगेको समस्या या भारतको सीमानाबाट नेपाल भित्रिने क्रममा महिलाले भोगेको पीडा दर्दनाक छन् । तोकिएको समयमा प्लेन नउड्ने, दिनभरी गर्भवती आमाले भोकै बस्नुपर्ने पीडा पनि सार्वजनिक छन् । 

ख.     यात्राको क्रमको समस्या : प्रथमिकताको आधारमा फर्किएका महिलामध्ये गर्भवती तथा कोरोनाबाहेक अन्य किसिमका बिरामी महिला रहेकाले उनीहरुलाई यात्राको क्रममा खाना खानुदिनुपर्ने राज्यको दायित्व हो, तर विमान स्थलबाट ओर्लेएपछि काठमाडौँ होल्डिङ सेन्टरबाट भोकै प्रदेशस्तरीय क्वारेन्टिनमा जानुपर्ने गुनासो पनि व्यक्त गरेका छन् । गाडीमा जाँदै गर्दा गर्भवती महिला माथिको आत्मसम्मान माथि चोट पुगेको सार्वजनिक भएको छ । 

ग.     अव्यवस्थित क्वारेन्टिन : स्वदेश फर्काइएका महिलाका लागि होल्डिङ सेन्टर तथा क्वारेन्टिन महिलामैत्री हुन सकेका छैनन् । क्वारेन्टिन सुरक्षित नहुँदा महिलाहरु यौन हिंसाको शिकार बन्न बाध्य बनेका घटना पनि सार्वजनिक भएका छन् । जस्तो यस अघि नै कैलालीको लम्की चुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टिनमा भारतमा मजदुरी गर्न गएर फर्किएकी एक महिला बलात्कृत भएकी थिइन् । यस्तै क्वारेन्टिनमा पीसीआर परीक्षण र नियमित स्वास्थ्य जाँच नगरिँदा त्यहाँ रहेका महिला पनि कोरोनाको उच्च जोखिममा देखिन्छन् । यस्तै विदेशबाट फर्किएका महिला, बच्चाबच्चीका लागि पौष्टिक आहारको पनि कमी देखिन्छ । 
घ.     घर, समाजको व्यवहार : विदेशबाट फर्किएका महिला तथा उनका बच्चाबच्चीलाई घर समाजले छिःछिः दुरदुर गर्ने, दुव्र्यहार गर्ने, समाजमा घुलमिल भएर बस्न नपाउने जस्ता समस्या देखिएका छन् । 

दीर्घकालीन समस्या
क.     पुनस्र्थापनाको चुनौती 
विदेशबाट फर्र्किएका महिलाहरुलाई अब कसरी पुनस्र्थापन हुने भन्ने ठूलो चुनौती देखिएको छ । घरको पाखोबारी बेचेर विदेशिँदा तीन, चार महिनासम्म बरोजगार भएर नेपाल फर्कंदा ऋणको बोझ लिएर खाली हात फर्कनुपर्दा कसरी आत्मनिर्भर हुने भनेर समस्या देखिएको छ । उनीहरुले सिकेर आएको सीप र गाउँमा गर्नुपर्ने कामको तालमेल पनि मिलेको देखिँदैन । किनभने विदेशमा उनीहरुले जे काम गरे त्यो गाउँमा छैन । जे गाउँमा काम लाग्छ, उनीहरुले गर्न जान्दैनन् । त्यसैले उनीहरुलाई नयाँ सीप, तालिम सहुलियत स्वरूप दिएर विशेषगरी कृषि र कृषिसम्बन्धी उद्योगहरुमा लगाएर आत्मनिर्भर बनाउन जरुरी छ । 

ख.     आर्थिक सङ्कट  

कोरोनाको कारण आर्थिक पहुँचमा रहेका महिलाहरु भान्सा, चुलोचौकामा मात्र सीमित भएकाले अधिकांश महिलामा मानसिक समस्या देखिन्छ । आर्थिक उपार्जनका लागि घर बाहिर निस्किएका महिला कोरोनासँगै घर फर्किएका छन् । यसले गर्दा महिलालाई आर्थिक पहुँचबाट धेरै टाढा पु¥याएको छ । उनीहरुको आत्मविश्वासमा चोट पुगी आत्मबल पनि घटाएको छ । यसरी परनिर्भरतामा बाँच्नुपर्ने अवस्था सिर्जना भएकाले युवतीहरु कुलतमा लाग्ने, पारिवारिक झगडा, कलह बढ्ने जस्ता घटना घट्न सक्ने देखिन्छन् । 

ग.     मनोवैज्ञानिक असर 

 विदेशमा बेग्लै खालको परिवेश रहनसहन, संस्कृतिका साथै खुल्ला वातावरणमा जीवन विताएका महिलाहरु एक्कासि बन्द समाज र परिवारमा आउनुपर्दा मनोवैज्ञानिक असर पर्ने देखिन्छ । उनीहरुलाई मनोपरामर्शको व्यवस्था गरिनु पर्दछ । 

महिलाको वैदेशिक रोजगारको क्रममा देखिएका समस्याका कारणहरु

अवैधानिक बाटो समातेर होस् वा वैधानिक बाटोबाट रोजगारीका लागि गएका महिलाहरुको स्थिति दयनीय देखिन्छ । यसो हुनुको मूल कारण निम्नअनुसार रहेको छ । 

(क) नीतिगत 
राज्यसँग स्पष्ट दीर्घकालीन नीति, योजना र कार्यक्रम र प्रभावकारी संयन्त्र नहुनु,
वैदेशिक रोजगारी र मानव बेचविखनलाई स्पष्ट सीमाङ्कन गर्न नसक्नु, 
महिलासम्बन्धी यस्तो संवेदनशील विषयमा महिला मन्त्रालय दृश्यमा आउन नसक्नु, 

(ख)  कानुनी

अध्यागमन कानुन, मानव बेचबिखनसम्बन्धी कानुन र वैदेशिक रोजगारसम्बन्धी कानुनमा अन्तरसम्बन्धसहितको तादात्म्यताको अभाव रहन्छ ।  पर्याप्त कागजातको अभाव हुँदा बँधुवा श्रम, अनिच्छित कार्यमा बाध्य बनाउने र मानव बेचबिखन  आधारभूत मानव अधिकारको हनन् हुने गरेको छ ।

(ग) कमजोर समन्वय संयन्त्र 
अध्यागमन, वैदेशिक रोजगारी, विदेशमा नेपालीहरुको व्यवस्थापन गर्ने निकाय र मानव बेचबिखन नियन्त्रण सम्बद्ध निकायहरुका बीच आपसी तालमेल र समन्वयको अभाव छ । खासगरी आधिकारिक रूपमा वैदेशिक रोजगारको अनुमति नलिई विदेश जाने वा वैदेशिक रोजगारीको नाममा मानव ओसार पसार गर्ने सबै पक्षलाई एकमुष्ट रूपमा वैदेशिक रोजगारीको डालोमा राखेर हेरिँदा समस्याको निकास र व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । जसमा प्रभावकारी समन्वय संयन्त्रको अभाव समेत एक प्रमुख कारण देखिन्छ ।

रोजगारीको निम्ति गएका कामदारमध्ये झण्डै आधाभन्दा बढी कामदार सरकारले निर्धारण गरेको बाटोभन्दा बाहिरबाट जाने गरेका छन् । व्यक्तिगत सम्बन्ध वा छिमेकी मुलुक भारतको बाटो हुँदै जाने गरेका छन् । तर यस्ता सीमाविन्दुमा अध्यागमनको व्यवस्थापन गर्ने जिम्मेवारी अध्यागमन कार्यालय रहेको हुन्छ । सामान्यतः सीमामा रहेका अध्यागमन कार्यालयहरुको मुख्य कार्यगत सरोकारको विषय नेपाल आउने वा नेपालबाट जाने विदेशीहरुमा नै केन्द्रित रहेको हुन्छ ।
वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगार विभागको स्वीकृति बेगर कामको निमित्त अन्य मुलुकको विमानस्थलको प्रयोग गर्न नपाइने भए पनि खुला सिमानाका कारणले नियमअनुसार श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जाने कामदारको सङ्ख्या अत्यधिक रहेको छ । 
वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी तथा सङ्घ सस्थाहरुको केन्द्रीकरण भएको र सबै क्षेत्रको समान पहुँचको कमीले राजधानी टाढाका मानिस सहज रूपमा दलालको परिबन्दमा परी वैदेशिक रोजगारीको निमित्त अनधिकृत रूपमा बहिर्गमन भइरहेको अवस्था विद्यमान छ । स्थनीय निकाय र स्थानीय प्रशासनसँग वैदेशिक रोजगार विभागको कार्यगत अन्तरसम्बन्धको विकास हुन नसक्दा यो क्रम नियन्त्रणमा आउन कठिन बनेको छ ।  

(घ) अभिमुखीकरण तालिम 
अनिवार्य अभिमुखीकरण तालिम लिई जानुपर्ने कानुनमा व्यवस्था भए पनि सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । नेपाली कामदार अधिकांशतः अदक्ष छन् । गन्तव्य मुलुकको रहनसहन, धर्म÷सस्कृति र भाषाका सम्बन्धमा न्यूनतम ज्ञान हुन नसक्दा समस्या बढिरहेको छ । 

(ङ) दक्षता र सीपको अभाव  

न्यून शैक्षिक योग्यता भएका नेपालीहरुलाई तालिम नै यस्तो अवसर हो जसमा उनीहरुलाई एक हदसम्म राम्रो तथा सुरक्षित रोजगारीको अवसर प्राप्त हुन सक्दछ तर आम नागरिकहरुमा तालिम अवसरको कमी, गुणस्तर कमजोर र गन्तव्य देशको आवश्यकताअनुसार हुन नसक्नु ज्यादै नै कमजोर पक्षको रूपमा रहेको छ । 
 काम सम्बन्धित आधारभूत तालिम र सीप दिएर पठाउन सकिएको छैन । अतः दक्ष एवं व्यावसायिक तालिम प्राप्त गरेका दक्ष जनशक्ति पठाउन नसक्दा नेपाली कामदारहरुको जोखिम बढ्नु तथा लाभ न्यून हासिल हुने गरेको छ ।  

(च) वैदेशिक रोजगार एजेन्सीहरु 
अनुभव र दक्षताहीन व्यक्तिहरुलाई म्यानपावर एजेन्सीको सञ्चालन अनुमति प्रदान हुनु एजेन्ट र शाखा कार्यालयहरुलाई सूचीकृत गरी कानुनको दायरामा ल्याउन नसक्नु मुख्य समस्या हो ।
रोजगारको स्रोतसम्म नेपाली एजेन्टहरुको पहुँच नहनु, नेपालमा बसेर कम्पनी नै नहेरी वा नबुझी दलालका भरमा मागपत्र गर्नु र मानिस पठाउनाले थप समस्या सिर्जना हुने गरेको छ ।

समाधानका उपाय
 क.     केन्द्रीय, प्रदेश र स्थानीय सरकारको दायित्व : एकपछि अर्को गरी आउने समस्या समाधानका लागि केन्द्रीय, प्रदेश र स्थानीय सरकार बीच समन्वय, सहकार्य र साझेदारी हुनु पर्छ । विदेशबाट फर्केका महिलालाई उद्यमशील कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनु पर्दछ । विदेशमा विशेषगरी खाडी मुलुकमा कार्यरत महिलाहरुको समस्या समधान गर्न राज्यले विशेष नीति अबलम्बन गर्नुपर्दछ । 

ख.     राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था : राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरुले पनि विशेष गरी विदेशबाट फर्किएका महिलालाई सचेतना, सीप विकास तालिम कार्यक्रम सञ्चालन गर्नुपर्दछ । 

ग     राजनीतिक दलको भूमिका : विभिन्न राजनीति दलले पनि विदेशबाट फर्किएका महिलाहरुको पुनस्र्थापनका लागि उचित व्यवस्थापनमा ध्यान दिनु पर्दछ । 

घ.     समाज, आफन्त र परिवार : नेपाली समाज र उनीहरुको आफन्त र परिवारले उनीहरुलाई हौसला र आत्मबल प्रदान गर्दै उनीहरुलाई माया र सद्भाव देखाउनु पर्दछ । 

ङ.    आफूले आफैलाई गर्नुपर्ने : आफूले आफूभित्र आत्मबल र आत्मविश्वास जगाएर आफ्नो खुट्टामा आफै उभिन्छु भन्ने सोचका साथ अगाडि बढ्नुपर्दछ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.