केन्द्रीय संस्करण

जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

person explore access_timeअसार ३०, २०७७ chat_bubble_outline0

जुम्ला । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, “बैठकमा सलहको विषयमा कृषि विज्ञसँगको राय, सल्लाह, सुझावसहित क्षति कम गर्ने तयारी भइरहेको छ ।”

कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहको परिचयसहित यसले पु¥याउने क्षतिको विषयमा कृषिविज्ञले सरोकारवालालाई जानकारी दिइने बताए । बैठकमा सलह किरा डोल्पा हुँदै जुम्ला पुगेको जानकारी दिइयो । उनले फिल्डमा समेत अनुगमन भइसकेकाले किसान आफैँले बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिए । जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पूरै सखाप पार्ने गरेको छ ।

स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखौंको नभई हजारौँको सङ्ख्यामा छ । नेपालमा यसले खासै धेरै क्षति नपु¥याएको भएपनि तयारी हुनुपर्ने बताइएको छ । उनका अनुसार रातभरी केही गर्दैन बिहान घाम लाग्ने बित्तिकै बाली खोज्दै जाने यसको विशेषता छ ।

नेपालमा आइरहेको सलह समूह छुट्टै आइरहेको र कमजोर हुँदै गएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा.तीर्थ रिजालले जुम्लामा आठदेखि १० हजार सलह आइरहेको देखिएको बताए । उनले यसको उत्तम उपाय मेकानिकल उपाय रहेको जानकारी दिए । यसका साथै यो जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकाय सचेत हुन जरुरी रहेको उनले जानकारी दिए । विज्ञले समेत बाजा बजाउने, आगोको धुवाँ बाल्ने र भगाउनु नै यसको उपाय भएको जानकारी दिएका छन् ।
जिल्ला कृषि विकास कार्यालयमा सलहको सूचना आदानप्रदान गर्न सूचना केन्द्र स्थापना गरिने भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । सलहको क्षतिबाट बच्न सञ्चारमाध्यममा सूचना प्रकाशन तथा प्रसारण गरिने, विषयगत कार्यालयले योजना बनाउने बताइएको छ ।  विशेषज्ञको सल्लाहअनुसारनै स्थानीय सुहाउँदो विधि पद्धतिअनुसार रोकथाम जनचेतनाका काम गर्नुपर्ने निर्णय गरिएको छ ।

प्रजिअ थापाले सलहबाट बाली जोगाउन एकातिर नागरिक र अर्कोतिर सरोकार निकाय समयमै सचेत हुन अनुरोध गरे । यसका साथै स्थानीय तहलाई बढी जिम्मेवारी बनाउन आवश्यक रहेको छ । अहिले जुम्लामा आएको सलहले धान, आलु, मकै, सिमी, स्याउमा क्षति पु¥याउन शुरु गरेको छ । यहाँको पातारासी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाको पूर्वी भेगतिर बालीमा क्षति पु¥याएको छ ।  

यहाँको पातारासी गाउँपालिकामा सलहले मकै, गहुँ र आलु बारीमा क्षति पु¥याउन थालेपछि गाउँपालिकाले सलह मारेर ल्याउनेलाई प्रतिकिलो रु २०० उपलब्ध गराउने निर्णय गरेको छ । बालीमा सलह किराबाट जोगाउन कृषक अहिले आफैं लागिपरेका छन् । जुम्ला अर्गानिक जिल्ला घोषित भएकोले रासायनिक विषादी प्रयोग गर्ने गरिएको छैन । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउन सक्ने विज्ञ बताउन्छन् । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह जुम्लामा पनि पसेको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.