बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनायता बाढी-पहिरो र डुवानमा परी ८० जनाको मृत्यु, ५१ जना बेपत्ता, ५० जना घाइते

सोमबार, २९ असार २०७७, १८ : २४
सोमबार, २९ असार २०७७

काठमाडौं । गत असारयता बाढी पहिरो र डुबानमा परी ८० जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् ।  यस्तै ५० जना घाइते भएका छन् । यो अवधिमा १ सय ३४ घरमा क्षति पुगेको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । सोमबार प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुलाई प्राकृतिक विपत्तिबाट भएको क्षतिबारे जानकारी गराइएको हो ।  

प्राधिकरणका अनुसार पर्वत जिल्लामा गत जेठ ३२ पहिरोका कारण नौ जनाको ज्यान गएको थियो भने एकजना घाइते र दुई घरमा क्षति पुगेको थियो ।असार ८ गते पाल्पामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । दुईवटा घरमा क्षति पुगेको थियो । चारवटा गाईको पनि मृत्यु भएको थियो ।

 यस्तै, असार १९ गते बझाङमा आएको पहिरोमा परेर सात जनाको मृत्यु भयो भने लएक जना घाइते भए । एक जना बेपत्ता भएका छन् ।  असार १८ गते गुल्मीमा आएको पहिरोमा चारजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । एकजना बेपत्ता भएका छन् । पाँचवटा घरमा क्षति पुगेको छ । 

यस्तै, असार २५ गते सिन्धुपाल्चोकमा आएको बाढीमा परि २० जना हराइरहेका छन् भने तीन जनाको मृत्यु भएको छ, पाँचजना घाइते भएका छन् । ठाडो खोलामा आएको बाढीका कारण भएको ठूलो क्षति भएको थियो ।  सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी ५० घरमा क्षति पुगेको छ । यस्तै असार २६ गते म्याग्दीमा आएको पहिरोमा परी २८ जनाको मृत्यु भएको छ १२ जना घाइते भएका छन् । चार जना बेपत्ता भएका छन् । ३७ घरमा पुगेको छ । 

असार २६ गते लमजुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक घर भत्केको छ । लमजुङ गएको पहिरोमा परी तीनको मृत्यु भएको छ भने एक घर भत्केको छ । सोही कास्कीमा पहिरोमा परी एउटै घरका ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घरमा जन्मदिन परेकाले धेरै मानिसहरू भेला भएका थिए । यस्तै असार २६ गते रुकुममा पहिरोमा परी दुईजनाको ज्यान गयो भने एकजना घाइते भए । 

यस्तै जाजरकोटमा असार २६ गते भएको अर्को प्राकृतिक विपत्तिमा परी ११ जनाको मृत्यु भएको थियो २ जना घाइते र ३ जना बेपत्ता भए ।  पहिरोमा परेर गुल्मीमा एकजनाको मृत्यु भएको छ । २६ गते लमजुङमा भीषण पहिरो गएको छ । तेह्रथुममा एक घरमा क्षति पुगेको छ यस्तै सर्लाहीमा आएको बाढीबाट एक जना बेपत्ता भएका छन् । 

असार २८ गते संखुवासभामा पहिरोका कारण ११ जना बेपत्ता भएका छन् । घरमा क्षति पुगेको छ । सोही दिन तनहूँमा गएको पहिरोमा परी १० जना बेपत्ता भएका छन् । पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  यसरी झन्डै १ महिनाको अवधिमा देशमा विभिन्न ठाउँमा गएको पहिरो र बाढीका कारण ८० जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् । ५० जना घाइते भएका छन् । १ सय ३४ घरमा क्षति पुगेको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख सुनिल शर्माले जानकारी दिए । 

किन भयो यति धेरै क्षति ? 
राज्य व्यवस्था तथा बैठकमा उपस्थित भएका गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष अघिल्ला वर्षको तुलनामा उच्च वर्षात भएका कारण प्राकृति विपत्ति बढेको बताएको छ ।   प्राधिकरणका कार्यकारी प्रमुख सुनील शर्माले बाढी पहिरो बढ्नुको अर्को कारणमा भद्रगोल तरिकाले सडक निर्माण पनि रहेको बताए । पहाडी क्षेत्रमा  मनपरी ढंगले डोजर चलाउने गरेका कारण धेरै बस्ती पहिरोको जोखिममा रहेको उल्लेख गरे । 

उनले सडक बनाउँदा पनि माटो परीक्षण र नक्सा पासको व्यवस्था गर्नुपर्ने बताए । बाजुरामा मनपरी ढंगले खनेको सडकका कारण पहिरो गएको, सिन्धुपाल्चोकको ठाडो खोलामा पनि अब्यवस्थित ढंगले सडक बनाउदा बाढीले क्षति पु¥याएको बताए  । 

पहाडी क्षेत्रमा सडक खन्नुको साटो दीर्घकालीन समस्या समाधानका लागि रोपवेको विकास गर्न उनले सुझाव दिए ।  डोजर इन्जिनियरका कारण अन्धाधुन्ध सडक निर्माण रोक्नुपर्नेमा उनको जोड थियो । यस्तै भूकम्पका कारण पहाडको जमिन चिरा चिरा परेको र भारी वर्षातको पानी जमिनमा छिरेर कमजोर जमिनमा पहिरो जाने समस्या रहेको शर्माले बताए । 

उनले भने– ‘यो वर्ष प्रि मनसुन भएन । मनसुन सुरु अघिदेखि नै  पानी प¥यो । जसले गर्दा जमिन भिजेको थियो । फेरि पानी परेपछि त्यसले जमिनलाई कमजोर बनाएर पहिरो जान थाल्यो ।’

विपद व्यवस्थापन कोषमा १ अर्ब ८० करोड
राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक प्रकोपका लागि केन्द्रमा १ अर्ब ८० करोड रुपैयाँ रहेको जनाएको छ । यस्तै विभिन्न जिल्लाहरुमा ८० करोड रुपैयाँ छ ।  विपद व्यवस्थापन केन्द्रले प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ४ वटा प्रदेशमा आपतकालिन राहत वितरणका लागि सामान भण्डार गरेर गोदाम घर तयार पारेको छ । यस्तै हरेक प्रदेशमा विमानस्थल नजिक मानवीय सहायता स्थल राखेको र त्यहाँ जुनसुकै संघ संस्थाले राहत भण्डारण गर्न सक्नेछन् । 

यस्तै पहिरोले क्षति पुर्याएको राजमार्ग खुलाउन हेभी इक्युप्मेन्ट सेन्टरका डोजर राजमार्ग छेउमा राखिएको छ । यस्तै उद्धारका लागि १९१ वटा मोटरबोट तयारी अवस्थामा राखिएको कार्यकारी प्रमुख शर्माले जानकारी दिए ।  उद्धारका लागि सशस्त्र प्रहरी, नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोली तयारी अवस्थामा रहेको छ । कैलालीको अत्तरिया र चितवनमा गोताखोर तयारी अवस्थामा रहेको र उद्धारका लागि सेनाको हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको उनले बताए । 

यस्तै बाढी जोखिमयुक्त क्षेत्रका सम्पूर्ण जनतालाई एसएमएसबाट अलर्ट गराउने काम भएको पनि उनले बताए ।  प्राकृतिक प्रकोपमा परेका मृतकका परिवार र विस्थापितलाई मापदण्ड बनाएर पाँच लाखदेखि एक लाखसम्म दिने व्यवस्था गरिएको र घरमा क्षति भएकाहरुलाई ५० हजार दिने गरिएको छ । यो रकम कम भएका कारण कानून संशोधन गरेर बढाउने तयारी भएको जानकारी दिए ।  अहिलेसम्म सरकारी खर्चमा राहत र उद्धारका लागि भनेर सात पटक हेलिकोप्टर उडान गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप