बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कथित राष्ट्रवादबाट कहिले मुक्ति पाउने नेपाली राजनीतिले ?

सोमबार, २९ असार २०७७, १६ : ३९
सोमबार, २९ असार २०७७

–आरसी अधिकारी 

एडल्फ हिटलरले आफ्नो जीवनीमा लेखेका छन्, ‘शक्ति र सत्तामा टिखिराख्न काल्पनिक दुष्मन देखाऊ, देश खतरामा छ भन्ने हल्लाफिजाऊ । त्यसले जनताको मनमा डर उत्पन्न हुन्छ । जब जनता डराएका हुन्छन् उनीहरुलाई वशमा पार्न सजिलो हुन्छ ।’

हिटलर आफ्नो समयको त्यो विपत्तिको नाम हो जसको सनक र अहम्बाट केवल जर्मनीका जनताले दुःख मात्र पाए । उनी भयङ्कर मानवीय दुःख कहाली लाग्दो युद्ध र नरसंहारको कारकमध्ये एक हुन् । 

हिटलर करोडौँ सङ्ख्यामा मानवीय क्षति र अगणितीय स्रोत साधन र सम्पदाको विनाश भइरहेको युद्धको समयमा हिटलर राष्ट्रवादी पात्र नै मानिए । यद्यपि उनको क्रूर खलनायक प्रवृत्ति त थियो नै । जसले आफ्नो अमानवीय नरसंहकारी सत्ता टिकाइराख्न राष्ट्रवादलाई आधारका रूपमा प्रयोग गरे । हिटलरकालीन क्रूर समयलाई केवल जमर्नहरु मात्र होइन विश्वभरको मानव समुदायलाई आज पनि झस्काइरहन्छ । यो इतिहासको कुरा भयो । 

वर्तमान विश्व राजनीतिका कतिपय प्रमुख खेलाडीहरुलाई दोस्रो विश्वयुद्ध सकिएको झण्डै आठ दशकपछि आफ्नो सत्ता टिकाउन उही राष्ट्रवादको बर्को ओड्नुपर्ने बाध्यता छ । आधुनिक मानव समुदायका निम्ति यो विडम्बना हो । आफ्नो मुलुकका जनतामा रहेको देशभक्तिको भावनामाथि खेलेर लोकप्रिय कहलाउन अहिले पनि ट्रम्पलाई कोरोना चिनियाँ भाइरस भन्नुपरेको छ । अमेरिकामा गोराकालको राजनीति ध्रुवीकरण गर्नुपरेको छ । अस्वेतहरु विरुद्धको राज्य रवैयाको खिलापमा भएको प्रदर्शनले हल्लिएको अमेरिकी राजनीतिको जग भर्खरै शान्त हुँदैछ । 

छिमेकी भारतमा पनि राष्ट्रवादको नाटक छ । चुनावको मुखैमा दक्षिणपन्थी नरेन्द्र मोदी सत्तालाई पाकिस्तानमाथि हमलाको नौटङ्की गर्नुपरेको छ । राष्ट्रवादको नारा  यतिमै सीमित छैन । मुस्लिम समुदायमाथिको उत्पीडिन उस्तै छ । सरकारमाथि प्रश्न उठाउनेलाई पाकिस्तान वा चीन परस्तको आरोप लगाउने गरिएको छ । प्रगतिशील तप्का मोदी सत्ताको नजरमा अराष्ट्रवादी तत्त्व हुन् । भारतीय समाजमा सम्प्रदायिक दङ्गाहरु भड्काएर एकपछि अर्को सत्ताको खुड्किलो चढेका मोदीको सत्तारोहणको दोस्रो कार्यकाल मुस्लिम अल्पसङ्ख्यकहरुका लागि अझै कालो समय बनिरहेको छ । 

विश्वभर कैयाैँ ठाउँमा कथित राष्ट्रवादको मौसम छ, जसले त्यहाँ आफ्नै मुलुकभित्रका विभिन्न राष्ट्रियता र समुदायबीच विग्रह र विद्वेष छरिराख्नु परेको छ । दुनियाँमा ठूलासाना थुप्रै जनस्तरको प्रतिरोध पनि बेहोरिरहेको छ ।  

कथित राष्ट्रवादको हावाले नेपालको सत्तालाई पनि प्रभावित पारेको छ । नेपालमा भारतीय नाकाबन्दी वरपरबाट भारत विरोधी छावि निर्माणसँगै सत्ता यात्रालाई सुदृढ गरेका प्रधानमन्त्री ओलीको आजको सत्ता जोगाउने वैशाखी पनि त्यही राष्ट्रवाद नारा बनेको छ । समाजवादको नारा, समृद्धिको यात्रा वा जनप्रिय काम गर्ला भनेर सरकारको कामको अपेक्षा गरेका नेपाली समाजका निम्ति यो दुर्भाग्यपूर्ण हो । 

आजको दिनमा ओली राष्ट्रवादको साँघुरो वृत्तभित्र प्रतिप्रक्ष काँग्रेस, मधेस केन्द्रित दल मात्र होइन आफू बाहेकका आफ्नै सचिवालयका सदस्य र सिङ्गो नेकपाका बहुमत नेताहरु अटाउन छाडेका छन् । यद्यपि उनको राष्ट्रवादले देशलाई पारेको नोक्सानीको एउटा तप्काले हिसाबकितब गर्दैछ, विस्तारै आम जनताले बुझ्लान् ।

देशको सबैभन्दा ठूलो पार्टी विशाल नेकपाभित्र पूरा जिन्दगी राजनीतिक सहयात्रीका रूपमा गुजारेका एमालेका नेताहरु मात्रै छैनन् । यसमा अहिले पूर्वमाओवादी समूहका धेरै नेता छन् । त्यहाँ प्रचण्ड छन्, बादल छन्, नारायणकाजी छन् र सिङ्गो नेपाली समाजलाई जनयुद्धमार्फत तरङ्गित गरेको माओवादी आन्दोलन पनि मिसिएको छ । तर विडम्बना ओली र उनको सानो समूह हिजोकै एमाले सहयात्री नेताहरुलाई नै अराष्ट्रवादी दलाल घोषणा गरिरहेको छ । नेकपाको शक्ति सङ्घर्षमा कथति राष्ट्रवाद सत्ता बचाउने अस्त्र बनाइँदैछ । 

यस्तो शैलीबाट सुदृढ एकीकृत नेकपा निर्माण र परिचालन सम्भव छैन । यो चुनौतीलाई चिरेर पार्टीलाई नयाँ सुदृढ पार्टी रूपमा अगाडि बढाउने जिम्मा मुख्यतः प्रचण्डमा आइपुगेको छ । किनभने परम्परागत दलहरु यही राजनीतिमा रमाइरहेका बेला व्यवस्थालाई हाँक दिँदै विद्रोह गरेको पार्टी नेता प्रचण्ड हुन् ।

यसअर्थ परिवर्तित सन्दर्भमा पनि प्रगतिशील राजनीतिको मूल प्रवाहको नेतृत्व उनैले गर्नुपर्ने हुन्छ । आजको आवश्यकता आफ्नै पार्टी विभाजन गरेर होइन बरु नेकपा बाहिर समेतको शक्तिलाई साथ लिएर अघि बढ्नुपर्ने छ । 

०७५ जेठ ३ गते पार्टी एकता गरेर सधैँ जनमतमा रहेर पनि सत्ताको कुर्सी चियाउन गैर वाम शक्तिमा भर पर्नुपर्ने बाध्यतामा रहँदै आएको नेपाली कम्युनिस्ट अन्दोलनको पहिलो पटक शत्तामा शक्तिशाली उपस्थित छ । स्थिरताको नारामा चुनाव जितेको सरकारको समृद्धिको जिम्मेवारी बाँकी नै छ । यसका लागि सरकार परम्परागत र पूर्व सरकारभन्दा फरक ढङ्गले अघि बढ्नुपर्ने हुन्छ । यो भएन भने नेकपा मात्रै होइन, नेपाली कम्युनिस्ट आन्दोलनलाई लामो समय विलोपीकरणमा जान सक्छ । गणतन्त्र र संविधान निर्माणका यताका सबै संस्थागत प्रक्रियामाथि पुनरुत्थानवादी कित्ताबाट आक्रमण गर्न सुरु हुन सक्छ ।

प्रचण्ड आफैले पनि भनेका छन्, प्रचण्डले भने, ‘यो पार्टीलाई एकताबद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’ पाटीभित्र बहस हुन्छ, छलफल हुन्छ, आन्तिक विषय सडकमा ल्याउनु नैतिक राजनीतिमा पर्दैन, पार्टी एकतालाई सुदृढ  गरेर मात्र लक्ष्यमा पुग्न सम्भव होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा