शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा विवाद ‘मिल्छ मिल्छ !’ तर कसरी ?

सोमबार, २९ असार २०७७, १२ : ५८
सोमबार, २९ असार २०७७

काठमाडौँ । फुटको सँघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले अस्थायी युद्धबिरामको अवस्थामा छ । 

‘पार्टी फुट्छ या जुट्छ यसै भन्न सक्ने अवस्था छैन’ सबैजसो नेताहरुकोे पेटबोली यस्तै हुन्छ । आन्तरिक किचलो नमिलेकै कारण आगामी साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक रोके पनि यो बीचमा द्वन्द्वरत पक्ष अर्थात् अध्यक्षद्वय ओली र प्रचण्डबीच सघन वार्ता हुन सकेको छैन । 

यसअघि असार तेस्रो साताबाट पटक पटक ओली प्रचण्डबीच भएका ‘वान टु वान’ वार्ताले सहमतिको विन्दुमा पहिल्याउन नसकेपछि असार २६ गतेका लागि बोलाइएको स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको हो । 
बैठक स्थगित गरेको भोलिपल्ट नै प्रचण्ड ओलीसँग संवाद गर्न छोडेर गृहनगर चितवन पुगे । 

पार्टीभित्र उत्तरचढाव आएका बेला कहिले सुकुटे त कहिले चितवन जाने र त्यहाँ पुगेर केही न केही नयाँ कुरा भन्ने गरेका प्रचण्डले यसपटक पनि नेकपा नेता कार्यकर्ताका लागि केही आशलाग्दो अभिव्यक्ति भने दिएका छन् । 

चितवनमा के भनेका थिए प्रचण्डले ? 
‘केही तत्त्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन् तर हामी सधैँ एक छौँ । एकतालाई जोगाउन सतर्कतापूर्वक सङ्घर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ, शनिबार चितवनका नेकपाका कार्यकर्ता साक्षी राखेर प्रचण्डले भनेका थिए, ‘प्रधानमन्त्री ओली र म पार्टीभित्र स्वच्छ प्रतिस्पर्धामा छौँ । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’ प्रचण्डले कुन तत्त्व उचाल्न सक्रिय छन् भन्ने चाहिँ खुलाएनन् । सायद प्रचण्डको भनाइ कुनै विदेशी शक्तिकेन्द्रप्रति लक्षित थियो । प्रचण्डले त्यति मात्रै भनेन्, उनले एकतालाई जोगाउन सतर्कतापूर्वक सङ्घर्ष गरिरहेको पनि बताएका छन् । तर कस्तो सङ्घर्ष भन्ने पनि प्रचण्डले खुलाएका छैनन् ।
प्रचण्डको भनाइ कसरी अयो त ? शीर्ष तहकै नेताहरु यसबारेमा अन्योल छन् । 

प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि सोमबार बिहान नेकपाका महासचिव विष्णु पौडेललाई रातोपाटीले सोध्यो– ‘के नेकपा विवाद मिलेको हो ?’ महासचिव पौडेलको जवाफ थियो– ‘मिल्छ मिल्छ, नमिलेर सुखै छैन ।’
कसरी ? भन्ने प्रश्नमा भने पौडेल खुल्न चाहेनन् । बरु उनले अहिले पार्टी विवादबारे कुनै कुरा नगर्ने बताएर पन्छिए । 

‘पछि नै कुरा गरौँला । अहिले बोल्नु उपयुक्त नहोला’, पौडेलको जवाफ थियो । 

पौडेल प्रधानमन्त्री ओली निकट मनिन्छन् । उनी लगायतका केही नेताहरु दुई अध्यक्ष ओली र प्रचण्डलाई मिलाउने प्रयासमा पनि लागिरहेका छन् । 

कहिले ओलीको सन्देश अध्यक्ष प्रचण्डलाई त कहिले माधवकुमार नेपालकोमा पुर्याउने पौडेल नेताहरु अडानबाट तलमाथि भए सहमतिको विन्दु भेटाउन कुनै गाह्रो नभएको बताउँछन् । 

पौडलपछि प्रचण्ड निकटका अर्का एक सचिवालय सदस्यलाई पनि रातोपाटीले के प्रचण्ड यू टर्न हुनुमा कुरा मिलेको हो त ? चितवनमा पुगेर प्रचण्डले दिएको अभिव्यक्तिले के सङ्केत गर्छ ? भनेर प्रश्न गर्दा उनको जवाफ थियो– ‘अझै ढुक्क हुने अवस्था छैन ।’ 

ती नेताले थपे, ‘समस्या जहाँको त्यहीँ छ । २० को १९ भएको छैन । अनि कसरी आशा गर्ने ? तर पनि पार्टी नफुटोस् भन्नेमा नै हामी सबैको प्रयास जारी छ ।’ 

उनको विश्लेषणमा अहिलेको विवाद त्यसै छाडे पार्टीमा पुनः अस्थिरता आउँछ ।

‘अहिले पनि ओली एक कदम पछि हटेनन् भने तत्काल पार्टी नफुटे पनि कुनै न कुनै दिन पुनः त्यो अवस्था नआउला भनेर ढुक्क हुने अवस्था छैन । यो एकता पनि थप अस्थिर हुँदै जान्छ’, उनको दाबी छ । 

के हुनसक्छ सहमति ? 
ओलीमाथि अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नुपर्ने दबाब छ । तर यो दबाबलाई उनले त्यति धेरै वास्ता गरेका छैनन् । स्थायी समिति बैठकमै अध्यक्ष प्रचण्डलाई उनले राजीनामा माग्दा जवाफ दिए, ‘अध्यक्ष हुन महाधिवेशन पर्खनुस्, प्रधानमन्त्री हुन अर्को चुनाव ।’ यसबाट प्रस्टै बुझिन्छ कि ओली कुनै पनि पद छोड्न तयार छैनन् । ओलीले यस्तो जवाफ दिएपछि नाजवाफ भएका अन्य नेताहरुले बरु स्थायी समिति बैठक स्थगित गरेर भए पनि सहमतिमा ल्याउनुको कुनै विकल्प नभएको भन्दै बैठक स्थगित गर्न सुझाव दिएका हुन् । 

ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अभिव्यक्ति दिँदै आएकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य पार्टीलाई विधि र पद्धतिमा चलाउन नेतृत्वले त्याग गर्नैपर्ने बताउँछिन् । साथै पार्टी सञ्चालनका क्रममा केही कुरा र विषयमा समझदारीसमेत आवश्यक पर्ने भएकाले नेताहरुले सोही बाटोलाई अवलम्बन गर्नसके सहमतिको विन्दु टाढा नभएको शाक्यको भनाइ छ ।

उनले पार्टीमा उत्पन्न किचलोबाट पार्टी विभाजन हुनै नसक्ने दाबी पार्टीमा कसैले पनि लिँडेढिपी गर्न नहुने बताइन् । उनले सबै नेता कार्यकर्ताले यो पार्टी बनाएको हो भनेर बुझ्नुपर्ने पनि बताइन् । ‘यो पार्टी हो भन्ने बुझ्नुपर्छ । परिवारमा त सहमतिबिना चलाइयो भने विभाजन हुन्छ भने साँच्चिकै पार्टी चलाउन विधि, विधान, अनुशासन चाहिएको हो’, उनले रातोपाटीसँग भनिन्, ‘यो कुरामा मूल नेतृत्वले नै ख्याल गर्नुपर्छ । कसलाई कहाँ अन्याय परेको छ भन्ने बुझ्नुपर्यो ।’

‘दुई जनाको सहमतिले मात्रै हुँदैन’ 
नेतृ शाक्यले अहिले दुई अध्यक्षबीचको सहमतिले मात्रै नहुने पनि बताइन् । ओली प्रचण्डबीचको ‘वान टु वान’ वार्तापछि हुने सहमतिको प्रस्ताव स्थायी समितिमा छलफल गरेर मात्रै निर्णय हुने उनको दाबी छ । ‘उहाँहरुले वान टु वान वार्तामार्फत केही प्रस्ताव ल्याउनुहोला भनेर हामी कुरिरहेका छौँ ।

तर उहाँहरुले ल्याएको प्रस्तावलाई अनुमोदन गर्ने काम भनेको स्थायी समितिको हो’, उनले भनिन्, ‘त्यसमा हामीले भन्दै आएको विषय हो एक पद एक जिम्मेवारी । हो यसैमा गएर सहमति जुट्नसक्छ भन्नेमा म विश्वस्त छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप