शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के रुसले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको हो त ?

सोमबार, २९ असार २०७७, १० : १९
सोमबार, २९ असार २०७७

नोभेल कोरोनाभाइरसले अहिलेसम्म विश्वमा एक करोड २८ लाख बढीलाई संक्रमित पारिसकेको छ र यो भाइरसका कारण निम्तिएको रोग कोभिड–१९ का कारण करिब पाँच लाख ५५ हजारको मृत्यु भइसकेको छ ।

यो भाइरसको करिब सात महिना लामो प्रकोपपछि रुसले आफ्ना वैज्ञानिकले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको दाबी गरेको छ ।

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेशनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोवले संसारको पहिलो कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा भएको बताएका छन् ।

उनले भने, ‘मस्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले यो ट्रायल गरेको हो र यो भ्याक्सिन मानिसमा सुरक्षित छ । जुन व्यक्तिमा भ्याक्सिन प्रयोग गरिएको छ, उनीहरुको एक समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा अस्पतालबाट छुट्टी दिइनेछ ।’

युनिभर्सिटीले १८ जूनमा रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीद्वारा निर्मित यो भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरेको थियो ।

सेचेनोफ युनिभिर्सिटीका एक अन्य वरिष्ठ अधिकारी एलेक्जेन्डर लुकाशेवका अनुसार भ्याक्सिन ट्रायलको यो चरणको उद्देश्य भ्याक्सिन मानिसहरुका लागि सुरक्षित छ, छैन भनेर सुनिश्चित गर्नु थियो । उनले ट्रायल सफलतापूर्वक पूरा भएको र सुरक्षित भएको बताएका छन् ।

लुकाशेवले भ्याक्सिनको व्यापक उत्पादनका लागि के कस्ता तयारी गर्नुपर्ने हो त्यसको रणनीति तयार भइरहेको जानकारी दिएका छन् ।

वादिम तरासोवले भने, ‘महामारीका समयमा सेचेनोफ युनिभर्सिटीले एक शैक्षिक संस्थाको रुपमा मात्रे नभई वैज्ञानिक र प्राविधिक अनुसन्धान केन्द्रको रुपमा पनि काम गरेको छ । यो युनिभर्सिटी औषधीजस्तो महत्वपूर्ण र जटिल वस्तुको उत्पादनमा पनि सक्षम भएको छ ।’

संसारभरी ७० लाख मानिसहरु कोरोनाभाइरसद्वारा संक्रमित भएपछि पूर्ण रुपमा निको भइसकेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप