बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिरोको उच्च जोखिममा परेका ७३ घर सुरक्षित स्थानमा

सोमबार, २९ असार २०७७, ०९ : ३४
सोमबार, २९ असार २०७७

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । 

उनीहरुलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको प्रहरी प्रमुख मल्लले जानकारी दिए । 

पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको भए पनि कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ । विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान नसकेको प्रहरी प्रमुख मल्लले बताए । 

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अविरल वर्षाले उद्धारका लागि सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन् । 

उद्धार तथा बेपत्ताको खोजीकार्यका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ भने जनपथ प्रहरी १५ जना र सशस्त्र प्रहरी १५ जना घटनास्थलतर्फ लागेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थलतर्फ लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप